Trending
>>   स्काउटसम्बन्धी विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत >>   भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई दफावार छलफलका लागि संसदीय समितिमा… >>   त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब २९ वटा जहाज पार्किङ गर्न सकिने >>   काठमाण्डु गोर्खाजद्वारा नयाँ लागो सार्वजनिक >>   बेरोजगारी, अशिक्षा र गरिबीलाई सम्बोधन नगरी बेचबिखन नियन्त्रण असम्भवः सांसद गैरे >>   मानव बेचबिखनलाई नियन्त्रण गर्न सक्षम कानूनी संरचना आवश्यकः सांसद शर्मा >>   समृद्धि मुठीभर मानिसको लागि नभइ आम जनताको लागि हुनुपर्छः पूर्वराष्ट्रपति भण्डारी >>   मिसन ०८४ मा राजनीतिक दलहरुको एजेण्डा रोजगारी सिर्जना हुनुपर्छः अध्यक्ष ढकाल >>   प्रतिपक्षी बेन्चबाट उपेन्द्रको प्रश्नः भूमाफियालाई जग्गा प्रदान गरी वन फडानी गर्ने सरकारको कस्तो नीति हो… >>   वर्तमान सरकार सवैधानिक उल्लङ्घनको दुर्गन्धित नमूना होः माओवादी सांसद घर्तिमगर
Logo
८ श्रावण २०८२, बिहीबार
८ श्रावण २०८२, बिहीबार

नुवाकोटमा मनाइयो सन्दुरे जात्रा


२६ चैत्र, नुवाकोट । भैरवी वर्ष बन्धन २०७९ अन्तर्गतको सिन्दुरे जात्रा धुमधामका साथ मनाइएको छ । बिहीबार साँझ देवीघाटस्थित जालपादेवी मन्दिरमा जानुभएका धामी हरिमानसिंह डङ्गोल, धमिनी ज्ञानुमाया डङ्गोलसहित भैरवीदेवीको रथ शनिबार साँझ भैरवीदेवी मन्दिर परिसरमा पु¥याएसँगै सिन्दुर खेल्दै यस वर्षको सिन्दुरे जात्रा मनाइएको हो ।

भैरवी वर्ष बन्धन अन्तर्गतको मुख्य रौनक सिन्दुरे जात्रा मनाए पनि धार्मिक गतिविधि र पूजाविधि भने आगामी वैशाख ३ गतेसम्म कायम रहने नेपाल सरकारका प्रतिनिधि एवं द्वारे महेन्द्रकुमार शाहीले जानकारी दिए ।

उनका अनुसार सिन्दुर हालिसकेपछि भैरवीदेवी रथयात्रामा सहभागी धामी, धमिनीसहितको लावालस्करबाट पूजाविधि, भोज र भोगबलिमा सहभागी भएर आज बिहानसम्म पनि धार्मिक गतिविधि जारी छ ।

शनिबार साँझ द्वारे शाहीले धार्मिक विधिअनुसार धामी र धमिनीको माथमा सिन्दुर हालेर यस वर्षको सिन्दुरे जात्राको विशेष रौनक सकिए पनि भैरवी वर्ष बन्धन २०७९ को बाँकी प्रक्रिया र गतिविधि आगामी वैशाख ३ गतेसम्म जारी रहने बताए ।

सिन्दुरे जात्रा ‘सरकारी जात्रा’अन्तर्गत मनाइने भएकाले जिल्लाका सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिको उपस्थिति हुने गरेको छ । यो जात्रा ‘सरकारी जात्रा’ भए पनि नुवाकोटवासीले यस जात्रालाई साझा पर्व र गौरवपूर्ण इतिहासप्रतिको सम्मान व्यक्त गर्दै उल्लासपूर्णरुपमा मनाउने गरेका छन् ।

जालपादेवी मन्दिरमा पुर्‍याएर फर्काइएको भैरवीको रथसहित धामी, धमिनी, कुमार, गणेशसहितको बाह्रभाई खलकको लावालस्करलाई नेपाली सेनाले सलामी अर्पणसहित भैरवीदेवी मन्दिरको निशाना झण्डा फहराउँदै बाजागाजासहित विशेष सम्मान दिने चलन छ ।

प्रसिद्ध जालपादेवी, भैरवीदेवीसहित जीवित भगवान्का रुपमा रहेका धामीप्रतिको आस्था एवं सद्भाव राख्दै जात्राको अवलोकन गर्न यो वर्ष हजारौँको सहभागिता रहेको थियो । जात्रामा बूढापाका मात्र नभई युवा र बालबालिकाको समेत उल्लेख्य सहभागिताले जात्राको गरिमालाई उच्च बनाएको विदुर नगरपालिका–५ निवासी रामकृष्ण भट्टले बताए ।

चैत शुक्ल पूर्णिमाका दिनमा मनाइने भए पनि यस जात्रालाई ‘वैशाख शुल्क पूर्णिमाको जात्रा’, ‘धामी जात्रा’ देवीजात्रा लगायतको नामले पनि चिनिन्छ ।

भक्तजन तथा जात्रालु, तीर्थालुले दिदी जालपादेवी, बहिनी भैरवीदेवीसहित नुवाकोटका धामी, धमिनीको एकै स्थानमा दर्शन गर्न पाउने अवसरसमेत हरेक वर्ष चैत शुक्ल पूर्णिमामा जुर्ने गरेको छ ।


प्रकाशित मिति: २६ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?