Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

भूमिगत पानीको सतह घट्दै


बढ्दो सहरीकरणसँगै जमिनमुनिको पानीको सतह घट्दै गएको जनाउँदै संरक्षणकर्मीहरूले भूमिगत पानी संरक्षणमा जुट्नुपर्ने जोड दिएका छन् । सिँचाइका लागि डिपबोरिङको साटो कुलो तथा नहरको प्रयोग गर्न सरोकारवालाले सुझाव दिएका हुन् । खानेपानी तथा सिँचाइका लागि डिपबोरिङ खन्ने, सहरी ढल व्यवस्थापनका लागि ड्रेन निर्माण गर्नेलगायतका कारण जमिनमुनि पानीको पानी रिचार्ज हुन नपाएको सरोकारवालाको भनाइ छ ।

कार्यक्रममा जैविक विविधता संरक्षण केन्द्र (एनटिएनसी)का प्रमुख डा बाबुराम लामिछानेले निकुञ्ज तथा संरक्षित क्षेत्रमा समेत ताल तथा पोखरी सुक्दै गएको बताउनुभयो । “प्लाष्टिकजन्य फोहरलगायत विभिन्न कारण पानीको सतह घट्दै गएको छ”, लामिछानेले भन्नुभयो, “यसबारे हामी समयमा नै सचेत बन्नु आवश्यक छ ।” संरक्षणकर्मी विकास पाठकले बढ्दो सहरीकरणसँगै नदी किनारमा फोहर फाल्ने, खाल्डो खनेर फोहर पुर्नेलगायत कारण जमिनमुनिको पानी प्रदूषित हुँदै गएको बताउनुभयो । तटबन्धका कारण साना खोला सुक्ने समस्या देखिएकाले खोलाहरू संरक्षण गर्दै तटबन्ध गर्नुपर्नेमा पाठकले जोड दिनुभयो ।

बढ्दो सहरीकरणसँगै बढेको अव्यवस्थित प्लटिङका कारणसमेत जमिनमुनि पानीको सतह घट्दै गएको उहाँको भनाइ थियो । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका इञ्जीनियर विकास भुर्तेलले डिपबोरिङका कारण जमिनमुनिको पानीको सतह घट्दै गएकाले भविष्यमा खानेपानीकै समस्या हुनसक्नेतर्फ सचेत गराउनुभयो । “बर्सेनि जमिनमुनिको पानीको सतह विभिन्न ठाउँमा मापन भइरहेको छ”, उहाँले भन्नुभयो, “प्राविधिकहरूले गरेको मापनको निष्कर्षले जमिनमुनि पानीको सतह निरन्तर घट्दै गइरहेको देखाएको छ ।”

सहमति संस्थाको आयोजनामा भएको ‘सिमसार क्षेत्र पुनःस्थापना र नारायणी तटीय सामूहिक प्रयास तथा कार्ययोजना’ कार्यक्रममा परियोजना संयोजक दिनेश बास्ताकोटीले नदी संरक्षणमा काम गरिरहेका जिल्लाका सरकारी तथा गैरसरकारी संस्थाहरू मिलेर कार्ययोजना बनाउने र संरक्षणमा सघाउ पु¥याउने बताउनुभयो । नवलपुर, चितवन तथा मकवानपुरका विभिन्न सरोकारवालासँग छलफल तथा अन्तक्र्रिया गरी निर्माण भएको मस्यौदाबारे छलफल गर्दै संरक्षणका कार्यक्रम अघि बढाइने उहाँको भनाइ छ । नारायणी तथा राप्ती जलाधार संरक्षणका लागि संयुक्त कार्ययोजना तयार पार्न तीनवटै जिल्लामा व्यापक छलफल गरिएको उहाँको भनाइ छ ।

सोमबार आयोजित कार्यक्रममा ग्रिन पिक्सेलका परामर्शकर्ता वासुदेव न्यौपानेले तीन जिल्लाका ११ लाख जनसङ्ख्या पानीको स्रोतमा निर्भर रहेको बताउनुभयो । “पानीको सतह घट्दै जाँदा पानीको स्रोतमा आश्रित रहेका जनसङ्ख्या तथा जलचरको अस्तित्व नै खतरामा पर्नसक्छ”, उहाँले भन्नुभयो, “समय छदै यसबारे सचेत हुनुपर्ने समय आएको छ ।” जमिनमुनिको पानी रिचार्ज गर्नका लागि स्थानीय सरकारले घरको नक्सापास गर्ने बेलामा घरको छतबाट झर्ने पानीलाई जमिनमुनि जानका लागि व्यवस्था गर्नुपर्ने गरी नियम बनाउनुपर्ने उहाँको भनाइ छ ।


प्रकाशित मिति: २६ पुष २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?