
काठमाडौँ। राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद युवराज शर्माले शिक्षा विधेयकलाई शिक्षक विधेयक नबनाउन सरकारसँग आग्रह गरेका छन् ।
राष्ट्रिय सभाको मंगलवारको बैठकमा बोल्दै उनले विद्यालय शिक्षा विधेयकलाई शिक्षक विधेयक नबनाउन आग्रह गरेका हुन् । उनले शिक्षकसँग थप सल्लाह गर्नु छ भनि सरकारद्वारा विद्यालय शिक्षा विधेयकलाई रोक्नु वा फिर्ता लिनु कदापि उचित नभएको बताए । विद्यालय शिक्षा विधेयक शिक्षकको लागि मात्र हो भने शिक्षकका संघ र संगठनलाई नै लेख्न दिए हुने उनको भनाइ छ ।
उनले भने, ‘शिक्षकसँग थप सल्लाह गर्नु छ भनि सरकारद्वारा विद्यालय शिक्षा विधेयकलाई रोक्नु वा फिर्ता लिनु कदापि उचित होइन । विद्यालय शिक्षा विधेयक शिक्षकको लागि मात्र हो भने शिक्षकका संघ र संगठनलाई नै लेख्न दिए त भइहाल्थ्यो । सल्लाह नै गर्नु थियो भने शिक्षकमात्रै किन ? विद्यार्थी, अभिभावक, संघसंगठन, अभिभभावक, स्थानीय पालिकासँग व्यापक छलफल गर्न उचित हुन्थ्यो । निजामति सेवा विधेयक जस्तै विद्यालय शिक्षा विधेयकमा पनि वितण्डा नमच्चियोस् । यो शिक्षा विधेयक हो, शिक्षक विधेयक मात्रै होइन भनेर सबैले बुझ्दा हुन्छ ।’
सांसद शर्माले निजामति सेवा विधेयक जस्तै विद्यालय शिक्षा विधेयकमा पनि वितण्डा नमच्चाउन आग्रह गरे । सरकारले शिक्षकहरुसँग सहमति गर्ने भन्दै शिक्षा, सूचना प्रविधि समितिमा रहेको विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन समय माग गरेको छ । समितिले ५ दिनको समय दिएको छ ।
प्रकाशित मिति: २४ असार २०८२, मंगलवार