Trending
>>   ११ जिल्ला न्यायाधीशको सरुवा, को पुगे कहाँ ?(सूचीसहित) >>   अर्थमन्त्री विष्णु पाैडेलकाे कमालः आर्थिक वर्षको चार महिनामा १७ प्रतशितले राजस्व वृद्धि ! >>   राष्ट्रपति पौडेलबाट भारतीय सेनापति द्विेदीलाई नेपाली सेनाको मानार्थ महारथी पद प्रदान( फाेटाे फिचर) >>   नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग >>   ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाल पक्राउ >>   सडक र खोला मापदण्ड खारेजको माग गर्दै र्‍याली >>   बाढीबाट भएको क्षतिको विवरण सङ्कलन गर्दै कृषि मन्त्रालय >>   नेपाल–भारत सैन्य सहकार्य वार्ता आज >>   भारतको उत्तरप्रदेशमा बस र ट्रक ठोक्किंदा ५ जनाको मृत्यु >>   आज मन्त्रिपरिषद् बैठक बस्दै
Logo
६ मंसिर २०८१, बिहीबार
६ मंसिर २०८१, बिहीबार

वीरगञ्ज झिलीमिली उज्यालो सहर बन्दै


२४ चैत्र, वीरगञ्ज । वीरगञ्ज महानगरका सडक झिलीमिली र उज्यालो देखिन थालेका छन् । महानगरपालिकाले उज्यालो वीरगञ्ज बनाउने योजनाका साथ मुख्य सडक र गल्लीका पोल–पोलमा हाइमास तथा सेन्सर लाइट बत्ती जडान गरेपछि झिलीमिली उज्यालो बनेको हो ।

“केही महिनाअघिसम्म साँझ पर्नेबित्तिकै सडक अँध्यारो हुने र हिँड्डुल गर्नै नसक्ने स्थिति थियो”, वीरगञ्ज महानगरपालिका–६ मीनाबजारका विजय साहले भने, “तर अहिले रातिको समय जतिबेला पनि नगर क्षेत्रका सडक उज्यालो हुन्छ, यसका कारण हामी सुरक्षित महसुस गरिरहेका छौँ ।” महानगरपालिकाले पोल–पोलमा जडान गरेको बत्तीले आफूहरूको बस्ती नै उज्यालो बनेको उनको भनाइ थियो ।

‘‘पहिला–पहिला सडक छेउका अधिकांश पोलमा बत्ती थिएनन्”, वीरगञ्ज महानगरपालिका–११ का सन्तोष साहले भने, “जडान भएका बत्ती पनि कतिपय बल्ने स्थितिमा थिएन, जसले गर्दा यस क्षेत्रका सडकमा साँझ हिँडडुल गर्न समस्या भइरहेको थियो ।” अहिले निर्धक्क भएर २४सैँ घण्टा हिँड्दा पनि कुनै समस्या छैन, उनको कथन थियो ।

“विगतका वर्षहरूमा साँझ र रातिको समयमा सडक अँध्यारो हुँदा चोरी, लुटपाटजस्ता आपराधिक घटना हुने गरेको थियो”, साहले अगाडि थप्दै भने, “अहिले नगर क्षेत्रमा त्यस्ता आपराधिक घटनामा समेत ह्वात्तै कमी आएको छ, जसले गर्दा हामी सुरक्षित महसुस गरिरहेका छौँ ।” यसबाहेक पोल–पोलको बत्तीले नगर क्षेत्र नै झिलीमिली बनेको उनको भनाइ थियो ।

महानगरपालिकाले एकपछि अर्को लोकप्रिय योजना ल्याएर कार्यान्वयन गर्ने गरेकाले छोटो समयमै वीरगञ्ज महानगरपालिकाले मुहार फेर्न लागेको स्थानीयहरू बताउँछन् । महानगरपालिकाले गत आर्थिक वर्ष २०७९/८० देखि उज्यालो वीरगञ्ज अभियानअन्तर्गत सडक तथा गल्लीका पोल–पोलमा बत्ती जडानलाई तीव्रता दिएको वीरगञ्ज महानगरपालिकाका विद्युत् शाखाका प्रमुख इञ्जीनियर राजीवकुमार उपाध्यायले जानकारी दिए ।

त्यही योजनाअनुसार महानगरपालिकाको वडा नं १ देखि ३२ वटै वडाका सडक र गल्लीमा १३ हजार तीन सय २२ स्ट्रिटलाइट जडान गरिसकेको र बाँकीमा जडानकार्य भइरहेको इञ्जीनियर उपाध्यायले बताए ।

“महानगर क्षेत्रमा उज्यालो वीरगञ्ज अभियान सुरु गरेका छौँ”, उनले भने, “त्यसै अभियानअन्तर्गत हामीले अहिलेसम्म मुख्य सडक तथा गल्लीमा ठूला–ठूला स्ट्रिटलाइट जडान गरेका छौँ, बाँकी सडकमा पनि बत्ती जडानको काम जारी छ, छिट्टै जडान सकिनेछ”, उनको भनाइ थियो ।

यसका साथै महानगरका मुख्य सडक तथा गल्लीमा सोलार बत्तीसमेत जडान गरिएको छ । विभिन्न निकाय तथा सङ्घसंस्थाको सहयोगमा महानगर क्षेत्रभित्र करिब सात सय सोलार बत्ती जडा नगरिएको महानगरपालिकाको विद्युत् शाखाका इञ्जीनियर अवधेशकुमार यादवले जानकारी दिए ।

विगतमा फोहर र कुरुप सहरको पहिचान बनाएको वीरगञ्ज महानगर क्षेत्रमा पछिल्लो समय भएको लोभलाग्दो विकासले यहाँका जनप्रतिनिधि मात्र होइन, स्थानीयसमेत उत्साहित बनेका छन् । जनप्रतिनिधि र कर्मचारीबीचको तालमेलका कारण छोटो समयमै नगर क्षेत्रमा थुप्रै परिवर्तन ल्याउन सफल भएको वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताए ।

“आफू निर्वाचित भएदेखि महानगरपालिकालाई सफा, सन्दर र हरियाली नमूना महानगर बनाउने लक्ष्यका साथ अघि बढाएको छु”, नगरप्रमुख सिंहले भने, “सडकका फोहर व्यवस्थापन, ट्राफिक व्यवस्थापन, मन्दिरको सौन्दर्यीकरण, अतिक्रमित जग्गा फिर्ता, फराकिलो बाटो निर्माणको कामलाई तीव्रता दिएका छौँ ।”

आर्थिक राजधानीकै रूपमा परिचिति वीरगञ्ज महानगरलाई पर्यटकीय नगरीका रूपमा समेत विकास गर्न यहाँका धार्मिक पर्यटकीय क्षेत्रहरूको जीर्णेद्धार तथा रङरोगनका कार्यलाई समेत प्राथमिकता दिएको महानगर प्रमुख सिंहको कथन छ । केही वर्षअघिसम्म अतिक्रमित र जीर्ण रहेको महानगरपालिका क्षेत्रको अधिकांश सडक यतिबेला कालोपत्र भएका छन् ।


प्रकाशित मिति: २४ चैत्र २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?