
काठमाडौँ। नेपाल सरकारका पूर्वसचिव किशोर थापाले नेपाल विदेशी एयरलाइन्सहरुको लागि आकर्षक गन्तव्य भइरहेको बताएका छन् ।
आईतवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका छन् । उनले अहिले पनि धेरै विदेशी एयरलाइन्सहरुले नेपालमा उडान भर्ने चाहना राखिरहेको र आइरहेको पनि उल्लेख गरेका छन् । विदेशी एयरलाइन्सहरुले उडानको संख्या बढाउन चाहिरकोे सन्दर्भमा नेपालले उनीहरुलाई अझै सहुलियतहरुको व्यवस्था गरी थप उडानका लागि प्रोत्साहित गर्नुपर्ने बताए । नेपालको सिभिल एभिइशनको वल्र्डबाइड मार्केट छिमेकी देशहरु नै रहेको बताउँदै युरोपमा ब्ल्याक लिस्टमा परेर कुनै असर नहुने बताएका छन् ।
उनले भने, ‘अहिले नेपाल विदेशी एयरलाइन्सहरुको लागि आकर्षक गन्तव्य भइरहेकै छ । धेरै विदेशी एयरलाइन्सहरु नेपालमा उडान भर्न चाहन्छन् । आइरहेका पनि छन् । उडानको संख्या बढाउन चाहन्छन् । त्यसले त हामीलाई केही फरक परेको छैन । अर्को कुरा हामी सिभिल एभिइशनको वल्र्डबाइड मार्केट हेर्दा पनि के देखिन्छ भने ज्यादा एभिएशनको मार्केट एशिया प्यासिफिक क्षेत्रमा नै छ । नेपाली एयरलाइन्सहरुलाई यो क्षेत्रमा अपरेट गर्न कुनै रोकतोक छैन । हाम्रो धेरै मार्केट भनेको ६ देखि सात घण्टाको डिस्टेन्समा छ । युरोपियन युनियनको ब्ल्याक लिस्टमा परेपनि कुनै समस्या छैन । क्यानको सेफ्टी अडिट र फंगसनमा सुधार गर्दा पनि ब्ल्याक लिस्टबाट हट्न सक्ने अवस्था छ ।’
उनले गैरसैनिक हवाई उडान ऐन, २०१५ रहेको तर अहिलेका विधेयकमा कतै उल्लेख भएको नपाइएको बताए ।
प्रकाशित मिति: १५ असार २०८२, आईतवार