
काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार अहिले पनि महाकाली परियोजनासम्बन्धी सम्झौता कार्यान्वयन गर्ने पक्षमा रहेको बताएका छन् ।
शनिवार काठमाडौंमा जननेता मदनकुमार भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा आयोजित जबजका तीन दशक विषयक राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले महकाली सन्धीको पक्षमा तत्कालीन समयमा धेरै विरोध भएपनि अहिले सबै राजनीतिक दलहरु महकाली सन्धी कार्यान्वयनको पक्षमा रहेको बताए । निकट भविष्यमै महकाली सन्धी सम्झौता कार्यान्वयन गर्दै पञ्चेश्वर परियोजना कार्यान्वयन गर्ने पक्षमा सरकार रहेको बताए । चाँदनी दोधारामा १० क्युमेक्स पानी ल्याउने कुरामा सरकारले फेरि अघि बढाउने बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘महाकाली इस्यु भनेको त्यसबेला राष्ट्रवादको झण्डा देखाएर महाकाली, महाकाली भन्दै कुद्ने स्थिति भयो । नक्कली, आडम्बरी, पाखण्डी कुरा थियो । त्यसमा कुनै दम थिएन । कुनै सहीपना थिएन । अब अहिले पनि म भन्न चाहन्छु, महाकाली परियोजनासम्बन्धी सम्झौता कार्यान्वयन गर्ने पक्षमा अहिले पनि सरकार छ । अहिले कार्यान्वयनको पक्षमा सबै छन् । म पनि छु । सम्भवतः सम्भव भएसम्म हामी निकट भविष्यमा महकाली सन्धी सम्झौता कार्यान्वयन गर्दै पञ्चेश्वर परियोजना कार्यान्वयन गर्दछौँ । यो गर्नपर्ने चिज छ । त्यस सम्झौताअन्तर्गत हामी बिजुलीको पैसा लिइरहेका छौँ । त्यससम्झौताअन्तर्ग पैसा लिन्छौँ, त्यस सम्झौताअन्तर्गत चाँदनी दोधारामा १० क्युमेक्स पानी पहिला म प्रधानमन्त्री हुँदा कुरा गरेको थिएँ, अब फेरि कुरा अघि बढाउँछु र त्यहाँ पानी हामी लिन्छौँ, चाँदनी दोधारामा । त्यो सन्धी ठिक छ । तर त्यसबेला देश बेचे, मासे, खाए, नदी बेचे भने । कुनै नदी खोला बेचेका थिएनन् । नेकपा एमाले राष्ट्रको सार्वभौमिक सत्ता, प्रभुत्व, भौगोलिक अखण्डता, देशको हित, स्वाधिनता, स्वाभिमान केहीलाई पनि बेच्ने त कल्पनै छोडौँ, अलिकति पनि तलमाथि हुन दिँदैन ।’
प्रधानमन्त्री ओलीले नेकपा एमालेले राष्ट्रको सार्वभौमिक सत्ता, प्रभुत्व, भौगोलिक अखण्डता, देशको हित, स्वाधिनता, स्वाभिमानलाई तलमाथि हुन नदिने बताए ।
प्रकाशित मिति: १४ असार २०८२, शनिबार