Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

बाइसधारा मेलामा स्नान गर्नेको घुँइचो


२३ चैत्र, काठमाडाैँ । काठमाडौँको बालाजुमा बाइसधारा मेलामा स्नान गर्नेको घुँइचो लागेको छ । हरेक वर्षको चैत शुक्ल पूर्णिमाका दिनमा लाग्ने उक्त मेला आजदेखि सुरु भएको हो । काठमाडौँ महानगरपालिका–१६ बालाजुमा बाइसधारा मेला सुरु भएसँगै हिन्दू तथा बौद्ध धर्माबलम्बीहरु स्नान गर्न आज बिहानैदेखि बालाजु बाइसधारा पुगेका छन् ।

बाइसधारा मेला सुरु भएकै दिनदेखि वैशाख स्नान प्रारम्भ हुने गर्दछ । काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालले बिहानैदेखि बाइसधारामा स्नान गर्ने भक्तजनको सङ्ख्या बढेको बताए ।

बाइसधारा मेलामा स्नान गर्नका लागि उपत्यकाभित्र र उपत्यकाबाहिरका धर्माबलम्बी बाइसधारा आएको उनको भनाइ छ । बालाजुको बाइसधारामा स्नान गरे मुक्तिनाथ तथा गोसाइँकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । साथै लुतो, खटिरा जस्ता रोग हराउने जनविश्वास रहेकाले बालबालिकादेखि वृद्धवृद्धासम्म बाइसधारा स्नानका लागि आएका छन् ।

चैत शुक्लपूर्णिमाको अघिल्लो दिन बौद्ध धर्मावलम्बीहरुले बौद्ध गुम्बामा पूजापाठ गर्ने र पूर्णिमाको दिन बालाजु बाइसधारामा स्नान गर्ने गर्दछन् । स्नानपछि स्वयम्भू महाचैत्यमा पुगेर पूजापाठ पनि गरिन्छ ।

यस्तै आजै साँझदेखि बालाजुमा पुरानो गुह्येश्वरी, बालाजु बाइपास, गोलढुङ्गा र कालदेवी गरी चार स्थानबाट रथ तान्ने काम गरिन्छ । उक्त रथजात्रा चार दिनसम्म चल्ने वडाअध्यक्ष रिजालले बताए । मेलाका दिन बाइसधारामा स्नान गरी मृत आफन्तका नाममा बत्ती बाल्ने परम्परा छ । यसै दिन नुवाकोटको कडल्चोक भगवतीलाई पनि बालाजुमा ल्याएर त्यहाँ रहेको हालको सेतो पाटीमा राखी हवन तथा राँगाको बलि दिइन्छ ।

मनमैजु देवीको जात्रासँग पनि बालाजु बाइसधाराको प्रसङ्ग जोडिएको छ । नेवार समुदायले मनाउने ल्हुती पूर्णिमाको मेलासँगै मनमैजु जात्रा पनि सुरु हुने परम्परा रहेको छ । यस दिन बालाजुको बाइसधारामा नुहाएर मनमैजु देवीको दर्शन गरेमा आफ्नो मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।


प्रकाशित मिति: २३ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?