Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

‘सार्वजनिक यातायात निजी क्षेत्रले धानेको भए पनि सिन्डिकेट खडा गर्नु हुन्न’


काठमाडौँ। सरकार र व्यवसायीबीच सहमति भइसकेको अवस्थामा पनि सार्वजनिक यातायात नचल्नु दुर्भाग्यपूर्ण भएको सांसदहरुले बताएका छन् ।

मंगलवार संघीय संसद परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनीहरुले यस्तो धारणा राखेका हुन् । नेपाली काँग्रेसका सांसद जीवन परियारले सहमति कार्यान्वयन नभएको अवस्थामा पुनः आन्दोलन गर्न सकिने भएपनि यातायात व्यवसायीले सर्वसाधारणलाई दुःख दिने काम गरेको बताए । उनले समझदारी भइसक्दा समेत कार्यान्वयन नगरेर यातायात व्यवसायीले ठूलो गल्ती गरेको बताए । उनले सरकार र यातायात व्यवसायीबीच भएका सहमतिहरु कार्यान्वयन गर्न समेत आग्रह गरे । सांसद परियारले सार्वजनिक यातायातको क्षेत्रमा रहेका समस्याहरुको वार्ता र छलफलको माध्यमबाट समाधान गर्नुपर्ने उल्लेख गर्दै यातायात नै बन्द गर्नु गलत रहेको टिप्पणी गरे ।

उनले भने, ‘सरकार र यातायात व्यवसायीका बीचमा समझदारी बनेको छ । समझदारी भइसकेपछि पनि यातायात नचल्नु दुर्भाग्यपूर्ण हो । यदि समझदारी कार्यान्वयन भएन भने पुनः आन्दोलन गर्दा भइहाल्छ नि । तर यत्रो जनतालाई दुःख दिने काम जुन गरिरहनुभएको छ यो आफैंमा अत्यन्त गलत छ । त्यसकारण यातायात व्यवसायीहरुलाई सरकारसँग भएका समझदारी कार्यान्वयन गर्न आग्रह गर्न चाहान्छु । सार्वजनिक यातायातमा भएका कमजोरीहरुलाई छलफल र वार्तामो माध्यमाट समाधान गर्नुपर्छ । यातायात नै बन्द गर्नु एकदमै गलत कुरा हो ।’

नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले गण्डकी प्रदेश सरकारले जारी गरेको नियमावलीले सर्वसाधारणलाई फाइदा नै पुग्ने बताए । यद्यपि सरकारले नयाँ नीति जारी गर्दा आफैँले लाइसेन्स दिएका व्यवसायीहरुसँग सल्लाह गर्न आवश्यक रहेको बताए । उनले तीन तहको सरकाबीच आवश्यक समन्वय र सहकार्यको अभावका कारण यातायात व्यवसायी आन्दोलित हुनु परेको पनि बताएका छन् । उनले सार्वजनिक यातायातसँग छलफल गरेर मात्रै नीति जारी गर्न आवश्यक रहेको बताए ।

उनले भने, ‘मुख्य कुरा के हो भने अहिले गण्डकी प्रदेश सरकारले सुरु गरेको कुराले पनि सर्वसाधारणलाई फाइदा नै हुन्छ । किनभने सर्वसाधारणले जुनसुकै साधनबाट पनि सुविधा लिन सक्ने भयो । तर सरकार आफैँले लाइसेन्स दिएर करोडौँ रुपैयाँ ऋण लिने ठाउँमा पुर्र्याएर स्वीकृति लिएर चलाएका संस्थाहरुसँग बसेर सरसल्लाह गरेर मात्रै नयाँ नीति लिनुपर्छ । किनभने सरकार भनेको त धेरै ठाउँमा रहेछ नि हैन ? सार्वजनिक यातायात चलाउने कम्पनीहरुसँग पनि एउटा खालको समझदारी बनाएर मात्रै सरकारले नयाँ नीति जारी गर्नुपर्छ । अहिले कुनै क्रान्तिकारी नीति जारी गरेको जस्तो देखिँदैन ।’

प्रदेश र स्थानीय सरकारले नयाँ ऐन जारी गर्दा संघीय सरकारसँग सल्लाह गर्ने नगरेका कारण समस्या आउन थालेको उनको भनाइ छ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारकै कमजोरीका कारण व्यवसायीहरु सडकमा आउनुपरेको बताए । उनले राजनीतिक दलहरुले आफ्ना कार्यकर्ताहरुलाई अनुशासनमा राख्न नसक्दा यस्तो अवस्था आएको उनको भनाइ छ । उनले सार्वजनिक यातायातको क्षेत्रमा समस्या आउनुपूर्व नै सरकारले काम गर्नुपर्नेमा त्यस्तो हुन नसकेको बताएका छन् ।

उनले भने, ‘यातायात व्यवसायीहरुले देश र जनताकै सेवा गर्नुपर्ने हो । यसमा सरकार पनि दोषि छ । यातायात व्यवासीहरु पनि पार्टीकै कार्यकर्ता हुन् । पार्टीहरुले आफ्ना कार्यकर्तालाई अनुशासनमा राख्न सकेनन् । सरकारले यस्तो अवस्था नआउन अगाडि नै काम गर्नुपर्ने हो । त्यस्तो हुन सकेन । चुनाव हुँदाखेरी चाहीँ यातयात व्यवासयीका संघसंस्थाहरुमा गएर यसलाई हराउने र यसलाई जिताउने भन्ने हुन्छ । त्यसकारण सरकारले स्पष्टसँग भन्नुपर्यो नि । यसबारे स्पष्ट नभन्दा जनताले दुःख पाए नि । अब जनतालाई स्पष्ट भन्नुपर्छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपाली सरकारले नयाँ कानून जारी गर्दा सम्बन्धित पक्षलाई राजी हुनेगरी बनाउनुपर्नेमा जोड दिए । उनले सार्वजनिक यातायातको क्षेत्रमा राज्यको लगानी नभएको कारण यस्तो समस्या आएको बताए । उनले सार्वजनिक यातायात समग्र रुपमा निजी क्षेत्रले धानेको उल्लेख गर्दै सिन्डिकेट लाद्न नहुनेमा उनको जोड छ ।

उनले भने, ‘राइड सेयरिङसम्बन्धी कानून बनाउँदा सम्बन्धीत पक्षहरु पनि राजी हुनुपर्ने हुन्छ । राइड सेयरिङलाई पनि कानूनी मान्यता दिने भनेर सरकारले भनेको हो । अब सम्भवतः यो समस्याको समाधान केही समयमै आउनेवाला छ । अहिले सरकारी पक्षबाट सार्वजनिक यातायातको साझा बसमा मात्र लगानी रहेको छ । समग्र रुपमा निजी क्षेत्रले धानेको हुनाले सिन्डिकेट पनि लाद्नु हुदैन भन्छु । राज्य र व्यवसायीलाई घाटा नहुने र आम जनताले सेवा पाउनेगरी अगाडि बढ्न जरुरी छ ।’

सरकार र व्यवसायीबीच समझदारी भइसकेको अवस्था व्यवसायीहरुले उक्त समझदारीको कार्यान्वयन गर्नुपर्नेमा सांसदहरुको जोड रहेको छ ।


प्रकाशित मिति: २० जेष्ठ २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?