
काठमाडौँ। उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले उद्योगधन्दाहरुमा पर्याप्त विद्युत दिएको दाबी गरेका छन् ।
बुधवारको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री खड्काले यो हिउँदमा पर्याप्त विद्युत दिन नसकेको र मंगलवार रातिबाट उद्योगधन्दालाई पुग्नेगरी विद्युत दिइएको बताएका छन् । उनले त्यसबाट बाँकी रहेको करिव डेढ सय मेगावाट विद्युत निर्यात शुरु गरिएको जानकारी दिंदै सांसदहरुलाई यथार्थमा रहेको सूचना प्रचार प्रसार गर्न पनि आग्रह गरेका छन् । सत्य सूचनाले मात्रै जनता लाभान्वित हुने उनको भनाइ छ । उनले सामाजिक सञ्जालको दुरुपयोग गर्न नहुनेतर्फ पनि सचेत गराएका छन् ।
उनले भने, ‘हामीले उद्योगधन्दामा यो हिउँदमा पर्याप्त विद्युत दिन सकिरहेको थिएन । आज रातिबाट उहाँहरुलाई पुग्नेगरी दिएर त्यसबाट पनि उब्रिएको भन्डै डेढ सय मेगावाट अहिले पनि निर्यात भइरहेको छ । यो अवस्था छ । यथार्थपरक रहेर संप्रेषण गर्न सकियो भने जनता लाभान्वित हुन्छन् । सोसल मिडियाको दुरुपयोग पनि भइरहेको छ ।’
मन्त्री खड्काले विद्युतको बजार सुनिश्चित भएको जिकिर गर्दै आन्तरिक खपत पनि अबका १० वर्षमा साढे १३ हजार मेगावाट हुने अनुमान रहेको बताएका छन् ।
प्रकाशित मिति: ७ जेष्ठ २०८२, बुधबार