Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

सर्लाहीका दुई चिनी उद्योगले दिएनन् किसानको भुक्तानी


२१ चैत्र, सर्लाही । सर्लाहीका दुईवटा चिनी उद्योगले किसानहरुको भुक्तानी दिन आलटाल गरेका छन् । उखु क्रसिङ सकेर बन्द भएका जिल्लाका दुईवटा चिनी उद्योगले किसानहरुको भुक्तानी दिन आलटाल गरेका हुन् ।

अन्नपूर्ण चिनी उद्योग धनकौल र महालक्ष्मी चिनी उद्योग बगदहलाई उखु दिएका किसानहरुले मिल बन्द भएको एक महिनासम्म पनि भुक्तानी नपाएको गुनासो गरेका छन् । यी दुवै चिनी उद्योगबाट महिनौँसम्म भुक्तानी नपाउँदा किसानहरुले बर्सेनि आन्दोलन गर्दै आइरहेका गोडैता नगरपालिका–९, का किसान सीताराम यादवले बताए । उनका अनुसार सुरुमा केही किसानलाई भुक्तानी दिएर यी दुवै चिनी उद्योगका सञ्चालक अहिले आफूहरुसँग सम्पर्कभन्दा बाहिर रहेका हुन् ।

“सुरुमा केही किसानहरुलाई भुक्तानी दिइयो, त्यसपछि बाँकी किसानहरुको पैसा दिन चिनी उद्योगहरुले वास्तै गरेनन्”, गोडैताका अर्का किसान रामकिरण यादवले भने । चिनी उद्योग बन्द भएको एक महिनासम्म पनि उद्योगी सम्पर्कमा नआउँदा आफूहरुलाई व्यवहार धान्न गाह्रो परिसकेको किसान यादवले बताए ।

उद्योगले उखु बेचेको पैसा नदिँदा बालबालिकाको विद्यालयमा शुल्क बुझाउन मात्र नभई आफ्नो घरखर्चसमेत धान्न नसक्ने अवस्था आएको अर्का उखु उत्पादक किसान राजकरण यादवले बताए । “उखु खेतीबाटै व्यवहार चलाउने आफू जस्ता दर्जनौँ उखु उत्पादक किसानहरु उद्योगबाट पैसा नपाउँदा साहुमहाजनबाट ऋण लिन बाध्य भएका छन्”, राजकरणले गुनासो गरे ।

उखुको पैसा नपाउँदा उखु काट्ने, ढुवानी गर्ने ट्र्याक्टरको पैसा तिर्न नपाएको धनकौल गाउँपालिका–३, का उखु किसान रामस्वार्थ साहले गुनासो गरे । “उखु फलाउँदादेखि उद्योगसम्म लगेर बुझाउँदासम्मको उधारो छ तर उद्योगले कहिले पैसा दिन्छ भन्ने अयौल छ”, उखु किसान साहले भने ।

बेलैमा भुक्तानी नदिने समस्याका कारण पछिल्ला वर्षमा जिल्लाका किसानहरुले अन्यत्र ठाउँका चिनी उद्योग र सख्खर बनाउने उद्योगलाई उखु बेच्न थालेका उखु उत्पादक किसान राजकुमार उप्रेतीले बताए । उनका अनुसार पछिल्लो समय जिल्लाका उखु उत्पादक किसानहरु उखुभन्दा अन्य खेतीतर्फ समेत आकर्षित हुन थालेका छन् ।

जिल्लाका तीनवटा चिनी उद्योगमध्ये इन्दुशङ्कर चिनी उद्योग हरिवनबाट भने उखु किसानले भुक्तानी पाइरहेका भएपनि अन्नपूर्ण चिनी उद्योग धनकौल र महालक्ष्मी चिनी उद्योग बगदहले हरेक वर्ष उखु उत्पादक किसानलाई पैसा दिन आलटाल गरेको उत्पादक किसान महासङ्घ नेपालका अध्यक्ष कपिलमुनि मैनालीले बताए ।

जिल्लाका अन्य उद्योगले किसानको भुक्तानी समयमै नगर्दा उखु खेती घटेको र त्यसको प्रत्यक्ष प्रभाव इन्दुशङ्कर चिनी उद्योगलाई परेको उद्योगका प्रबन्धक योगनारायण रजकले बताए ।


प्रकाशित मिति: २१ चैत्र २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?