Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

‘जानकी जन्मोत्सव’लाई ‘राष्ट्रिय पर्व’ घोषणा गरी देशभर सार्वजनिक बिदा दिन माग


जनकपुरधाम । श्री रामानन्दीय श्री वैष्णव संघ, जनकपुरधामले जानकी जन्मोत्सवलाई राष्ट्रिय पर्व घोषणा गरी सार्वजनिक विदा दिन माग गर्दै प्रमुख जिल्ला अधिकारीको कार्यालय धनुषामा ज्ञापनपत्र बुझाएको छ ।

आईतवार जानकी मन्दिर जनकपुरधामका महन्त रामरोशन दास वैष्णवसहितको टोलीले जानकी जन्मोत्सवलाई राष्ट्रिय पर्व घोषणा गरी देशभर सार्वजनिक बिदा दिन माग गर्दै ज्ञापन पत्र बुझाएको हो । महन्त वेष्णवले विश्व सम्पदाको सूचीमा रहेको जनकपुरधाममा सीताको जन्मोत्सव मनाइने भएकाले विश्व स्तरमा अलग पहिचान भएको बताए ।

उनले विश्व समुदायमा नेपालको पहिचान गराउने पर्व सीताको जन्मोत्सव भएको बताएका छन्। विश्वका सनातनीले मनाउने पर्व भएकाले सीता जन्मोत्सवलाई राष्ट्रिय पर्वको रुपमा स्थापित गर्नुपर्ने उनको भनाइ छ । उनले यस पटक वैशाख २३ गते परेको पर्वलाई राष्ट्रिय पर्व घोषणा गरी देशभर सार्वजनिक बिदा दिन प्रधानमन्त्री, गृहमन्त्री तथा संस्कृति तथा पर्यटन मन्त्रीसमक्ष ज्ञापनपत्रमार्फत आग्रह गरेका छन् ।

उनले भने, ‘हामीहरु नेपाल सरकारलाई यहाँको जिल्ला प्रशासन कार्यालय धनुषामा गएर एउटा ज्ञापन पत्र चढाएर प्रधानमन्त्रीज्यूलाई, गृहमन्त्रीज्युलाई, विदेशमन्त्रीज्युलाई, पर्यटन तथा संस्कृति मन्त्रीज्युलाई संघीय सरकारमा ज्ञापनपत्रमार्फत निवेदन चढाउँछु । र जनकपुरधामबासी जतिपनि हाम्रो सनातनीलगायतलाई के आग्रह गर्दछु भने हाम्रो देशलाई परिचित गराउने विश्व सम्पदाको पर्व सीताको जन्मस्थल जनकपुरधामबाट यो पर्व मनाउँदै आएको हुनाले यो राष्ट्रिय पर्वमा स्थापित हुनलाई तपाईं हामी सम्पूर्ण मिलेर जोडदार माग गर्दै राष्ट्रिय पर्व होस् र त्यो दिन संघीय सरकारमा बिदा होस् भन्नलाई म यो सम्पूर्ण साधु समाज र जनकपुरधामको तर्फबाट संघीय सरकारमा हामी जोडदार माग गर्दछु ।’

महन्त वैष्णवले जानकी जन्मोत्सवलाई राष्ट्रिय पर्व घोषणा गर्नु मातृशक्तिको सम्मानमा ऐतिहासिक निर्णय हुने बताए । राष्ट्रिय पर्वमा सार्वजनिक बिदा दिने परम्परा भएकाले जानकी जन्मोत्सवमा बिदा दिनु न्यायोचित हुने उनको भनाइ छ । उनले जानकी जन्मोत्सवले राष्ट्रिय एकता तथा देशको पहिचान झल्काएको बताएका छन् ।

उनले भने, ‘यस दिन बिदा तथा पर्व घोषणा गर्नु केवल एक सांस्कृतिक कर्तव्य नभइ यो राष्ट्रप्रति मातृशक्तिको सम्मान गर्ने ऐतिहासिक निर्णय पनि हुनेछ । नेपाल सरकारले विगतमा राष्ट्रिय एकता र पहिचान झल्काउने पर्वहरुमा बिदा दिँदै आएको सन्दर्भमा जानकी जन्मोत्सव जस्तो सद्भाव, समानता र समर्पणको प्रतीकको पर्वमा बिदा दिनु न्यायोचित हुनेछ ।’

महन्त वैष्णवले जनकपुरधाम जनकपुत्री सीता मिथिलाको सभ्यता मात्रै नभइ विश्वभरका सम्पूर्ण हिन्दु सभ्यताको केन्द्रिय श्रद्धास्थल भएको बताएका छन् ।


प्रकाशित मिति: ८ बैशाख २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?