
काठमाडौँ। चैत्र १५ गतेको तीनकुले प्रदर्शनका क्रममा भएका घटनाको सत्यतथ्य छानविन गरी दोषीमाथि कारबाही गर्न माग सांसदहरुले गरेका छन् ।
आईतवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसदहरुले दोषीमाथि कारबाही गर्न माग गरेका हुन् । सांसदहरुले चैत्र १५ गतेको घटनामा सुरक्षाका हिसावले सरकारले कमजोरी गरेको औंल्याएका छन् । संविधानप्रदत्त हक अधिकारलाई प्रयोग गरेर शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकार विपरित गइ जनधनको क्षति भएकोप्रति सरकार ग्म्भीर बन्नुपर्ने धारणा राखेका छन् । समितिको बैठकमा बोल्दै नेकपा एमाले सांसद छविलाल विश्वकर्माले तीनकुनेको घटना क्षम्य नभएको बताए । उनले घटनाको जतिसुकै निन्दा र भत्र्सना गरेपनि कम हुने बताएका छन् । सरकार र प्रहरी प्रशासनले आफ्ना संयन्त्रहरुको आधारमा आवश्यक जानकारी लिन नसक्दा क्षति व्यहोर्नुपरेको भन्दै आगामी दिनमा यसबाट शिक्षा लिएर सचेत हुनुपर्ने बताए । सरकारले विमानस्थल जस्तो संवेदनशील क्षेत्र वरपर आन्दोलन गर्न स्थान दिनु नहुनेमा सरकार चुकेको बताएका छन्।
उनले भने, ‘गत चैत्र १५ गते जे भयो, जस्तो भयो, यो विषयमा यो समितिको पनि ध्यान आकर्षित हुनुपर्छ । जुन खालको अराजकता, उदण्डता, यसको पनि पराकाष्ठा त्यो हदसम्मको गतिविधि भयो । दुई जनाको ज्यान गयो । अनेकन व्यवसायिक प्रतिष्ठान, कार्यालय, निजी घरहरु तोडफोड भए । लुट मच्चियो । यसले सिंगै नेपाली समाजलाई लज्जित बनाएको छ । संविधानप्रदत्त हक अधिकारलाई प्रयोग गरेर शान्तिपूर्ण तरिकाले प्रदर्शन गर्न पाउने, आफ्ना कुरा राख्न पाउने कुराहरु छँदैछन्, भइरहेको छ । त्यही दिन अर्को ठाउँमा भएको कार्यक्रममा त त्यस्तो केही भएन । शान्तिपूर्ण आफ्ना विचार प्रश्तुत भए । तीनकुनेमा भएको त्यस्तो घटना क्षम्य हुने खालको भएन । त्यो अराजकता, उदण्डता, कानून, संविधान विपरितका कामले दुई जना होनहार नागरिकको ज्यान गएको छ । घटनाको जतिसुकै निन्दा र भत्र्सना गरेपनि कम हुन्छ । सरकारले, प्रहरी, प्रशासनले आफ्ना संयन्त्रहरुको आधारमा पनि के हुँदैछ भन्ने अनुमान गर्नु पर्दैन । त्यसमा त्रुटी भयो । सरकारका तर्फबाट पनि यस चिजमा जति ध्यान दिनुपर्ने थियो, त्यो भएन । यस किसिमको घटनाको आँकलन गरेर त्यो क्षेत्र दिनु हुँदैन थियो । यसलाई सरकारले शिक्षाका रुपमा लिनुपर्छ ।’
समितिको बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) की सांसद ज्ञानु बस्नेत सुवेदीले चैत्र १५ गते तीनकुनेमा भएको घटनाप्रति खेद प्रकट गरेकी छिन् । उनले घटनामा संलग्नलाई कानूनी कारबाहीको दायरामा ल्याउन आग्रह गरेकी छिन् ।
उनले भनिन्, ‘चैत्र १५ गते तीनकुनेमा जुन खालको दुखद् घटना भएको छ, त्यसप्रति खेद प्रकट गर्न चाहन्छु । पत्रकारलाई जिउँदै जलाउने काम भएको छ । सँगै कीर्तिपुरका एक युवाको निधन भएको छ । उहाँहरुप्रति भावपूर्ण श्रद्धाञ्जली दिन चाहन्छु । परिवारजनमा समवेदन प्रकट गर्दछु । जुन खालको उदण्ड घटना भएको छ । त्यसमा संलग्नलाई कडा भन्दा कडा कानूनी कारबाहीको दायरामा ल्याइयोस् ।’
समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोषिमा कार्कीले चैत्र १५ गतेको घटनाप्रति दुःख व्यक्त गर्दै उक्त घटनाले शिक्षा र स्वास्थ्यको वातावरण बिथोलिनुका साथै युवाहरुको देशमा बस्ने वातावरण समेत बिथोलिएको बताएकी छिन् । उनले जीवन नै सकिने गरी भएका घटनाको बिरोध गर्दै आगामी दिनमा त्यसो हुन नदिन सचेत रहनुपर्ने बताइन् ।
उनले भनिन्, ‘चैत्र १५ गते जुन घटना भयो । यसमा समितिको पनि गम्भीर ध्यानाकर्षण हुनुपर्छ । समितिमार्फत संसदको ध्यानाकर्षण गराउनुपर्छ । दुई पक्षीय जुन आन्दोलन भएको थियो, गणतन्त्रवादी र गणतन्त्रको व्यवस्थाकाबिरुद्धमा भनेर, व्यवस्था नै उल्ट्याउँछौँ भनेर आन्दोलन भइरहेकोमा एउटा व्यक्तिको जीवन नै जल्नेगरी घटना भएको छ । मान्छे नै जिउँदै जलाउने गरी घटना घटेको छ, यसबाट शिक्षा र स्वास्थ्यको वातावरण बिथोलिएको छ । युवाहरुले देशमा बस्ने वातावरण बिथोलिएको छ । सरकारको नेतृत्व असफल भएको हो की ? झक्झक्याउनुपर्ने भएको हो की ? दुर्घटनामा संलग्नलाई कडा कारबाही गर्नुपर्छ ।’
सांसद कार्कीले सरकारको नेतृत्व असफल भएको आशंका व्यक्त गर्दै सरकारलाई झक्झक्याउन जरुरी रहेको बताउंदै घटनामा संलग्नलाई कारबाही गर्न माग गरेकी छिन् ।
प्रकाशित मिति: १७ चैत्र २०८१, आईतवार