काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै इतिहासको रछ्यानमा मिल्क्याइएका तत्वहरु सल्बलाएको टिप्पणी गरेका छन्।
अध्यक्ष दाहालले अहिले देशमा राजनीतिक परिस्थिति चुनौतिपूर्ण रहेको दाबी गर्दै सरकारको उपलब्धि दिनप्रतिदिन नराम्रो हुँदै गएको र जनतामा सरकारप्रति आक्रोश र असन्तुष्टि पोखिँदै गएको बताए । उनले सरकारप्रतिको आक्रोश र असन्तुष्टिलाई लिएर पूर्वराजा शाहले पुनरागमन गर्न भन्दै दिवा स्वप्ना देख्ने गरेको बताए । उनले सरकारप्रतिको आक्रोशलाई विभिन्न राजनीतिक प्रवृत्तिहरुले आफ्नो आफ्नो हिसावले प्रयोग गर्ने कोशिस गरिरहेको बताएका छन् ।
उनले भने, ‘अहिले देशमा राजनीतिक परिस्थिति अलि चुनौतिपूर्ण नै छ । आजै पनि तपाईंले मिडियामा हेर्नुभयो होला सरकारको पर्फमेन्स दिनप्रतिदिन नराम्रो हुँदै गएको छ, जनतामा दिनप्रतिदिन सरकारप्रति असन्तुष्टि र आक्रोश बढ्दै गएको छ । सरकारप्रतिको यो आक्रोशलाई विभिन्न राजनीतिक प्रवृत्तिहरुले आफ्नो आफ्नो हिसावले प्रयोग गर्ने कोशिस पनि गरिरहेका छन् । मलाई लाग्छ तपाईंहरु सबैले यो कुरालाई महशुस गरिरहनुभएकै छ । अझ त्यसमा पनि इतिहासमा इतिहासको एउटा रछ्यानमा मिल्क्याइएका तत्वहरु पनि फेरि एकचोटी पुनरागमन हुने हो की भन्ने दिवा स्वप्नामा छन् र त्यस खालका प्रचारबाजीहरु पनि भइरहेका छन् ।
प्रकाशित मिति: १० फाल्गुन २०८१, शनिबार