काठमाडौं । महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भूकम्प प्रतिरोधात्मक संरचना निर्माणमा जोड दिनुपर्ने बताएकी छिन्।
बुधवार काठमाडौंमा काठमाडौं महानगरपालिकाले आयोजना गरेको २७ औं भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले निर्माण गरिरहेका संरचनाहरु भूकम्प प्रतिरोधी छन् की छैनन् र पूर्वतयारी कस्तो छ भनेर अहिले मूल्यांकन गर्ने समय भएको बताइन् । उनले भूकम्प प्रतिरोधी संरचना नभए आगामी दिनमा ठूलो क्षति व्यहोर्नुपर्ने भन्दै विशेष ध्यान दिन जरुरी रहेको र आफूले गरेका कामहरुको मूल्यांकन गरेर भूकम्प प्रतिरोधी संरचना निर्माण गर्नुपर्नेमा उनको जोड छ ।
उनले भनिन, ‘हामीले बनाइरहेको संरचनाहरु भूकम्प प्रतिरोधात्मक छन् की छैनन् ? हामीले पूर्वतयारीमा कति ध्यान पुर्याइरहेका छौँ र पूर्वतयारीमा हामीले अघि पनि महत्वपूर्ण कुरा गरिसक्नुभएको छ । कम्युनिटी सबैभन्दा पहिला रेस्पोण्डर हुनुपर्छ । हामीले गरिरहेका कामहरुको मूल्यांकन गर्ने समय पनि हो यो ।’
विसं १९९० माघ २ गतेका दिउँसो २ः२४ बजेको भूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष आजको दिनलाई भूकम्प सुरक्षा दिवसका रुपमा मनाइँदै आइएको छ ।
प्रकाशित मिति: २ माघ २०८१, बुधबार