काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पुँजीबजारमा देखिएका अवाञ्छित गतिविधिलाई नियमन र नियन्त्रण गरिने बताएका छन् ।
बुधवार नेपाल आर्थिक पत्रकार (नाफिज) को नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै अध्यक्ष श्रेष्ठले यस्तो बताएका छन् । उनले पछिल्लो समय पुँजीबजारमा अवाञ्छित गतिविधि भइरहेको गुनासो आएकाले बोर्ड त्यस्ता कार्यलाई नियमन र नियन्त्रण गर्ने योजनामा रहेको बताएका छन् ।
उनले धितोपत्र बजार प्रणालीमा बढी सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले नेपाली पुँजीबजारमा ७० लाख लगानीकर्ता रहेको भन्दै पुँजीबजारलाई थप व्यवस्थित बनाइने बताएका छन् । उनले पुँजीबजारमा अवाञ्छित गतिविधि रोक्नको लागि बोर्डले पुँजीबजारलाई अटोमेसन प्रणालीमा लैजाने बताए ।
उनले बोर्डले पुँजीबजारमा अवाञ्छित गतिविधि नियन्त्रण गर्दै बजारलाई नयाँ उचाईमा पुर्याउने बताए । उनले पाइपलाइनमा रहेका आइपीओ निष्कासन एक दुई दिनभित्रै शुरु हुने बताएका छन् । अध्यक्ष श्रेष्ठले बोर्डले अब आईपीओ निष्कासनको लागि एक दुई दिनभित्रै स्वीकृत दिनेगरी काम अघि बढाएको जानकारी दिएका छन् ।
उनले भने ,‘ नेपाल धितोपत्र बोर्डको जिम्मेवारी धेरै छ तर मुख्यतया क्षमता अभिवृद्धि गर्न आवश्यक छ । मैले देखेको यो हो । संस्थागत सुदृढीकरण गर्न जरुरी छ । संस्था बलियो नभएसम्म प्रभावकारी रुपमा काम गर्न सकिँदैन । त्यो विषयमा धेरै काम गर्नुपर्ने देखिएको छ । सेबन भाडाँको घरमा बसी रहेको छ त्यसैले पूर्वाधार निर्माण गर्नु आवश्यक छ । आफ्नै भवन नहुँदा लगानीकर्तालाई समेत प्रभावकारी रुपमा काम दिन सकेका छैनौं । धितोपत्र बजार प्रणालीमा सुधार गर्नुपर्ने छ । ७० लाख लगानीकर्ता पुगिसकेका छन् । त्यो बाहेक एशोसिएटेड सेवा दिने स्टेक होल्डरहरु दुई सयमाथि पुगिसकेका छन् । मार्केटको निरीक्षणदेखि बजारमा हुने अवाञ्छित गतिविधिहरु छन् । त्यसलाई नियन्त्रण गर्नको लागि अटोमेसनमा जानुपर्ने अवस्था छ । विगतमा पनि यसमा काम भएको थियो । अब हामीलाई अवाञ्छित गतिविधिहरुलाई हेरेर बस्ने छुट छैन । बजारलाई नयाँ उचाईमा पुर्याउने र अवाञ्छित गतिविधिहरुलाई नियन्त्रण गर्नेतर्फ जानुपर्ने हुन्छ । अध्यक्ष आएको एक महिना हुँदा पनि प्रक्रियामा रहेका आईपीओहरु अगाडि नबढेको भन्ने प्रश्नहरु आइरहेका छन् । त्यो स्वाभिक पनि हो । अगाडि बढिसकेको छ । अनुमति नपाएको अवस्था मात्रै हो । कम्पनीहरुको अध्यावधिक गर्नको लागि समय लागेको हो । कम्पनीहरुका विभिन्न डकुमेण्ट तथा अडिट रिपोर्टहरु हेर्नुपर्ने लगायतको कारणले ढिला भएको हो । अबको एक दुई दिनभित्रै आईपीओ निष्कासनको प्रक्रिया शुरु हुन्छ । लोमा समयमा रोकिएको आईपीओ एकै पटक आउँदा ओभर सप्लाई भएर बजारलाई असर गर्छ भन्ने पनि छ । त्यसैले बजारमा हुनसक्ने नकारात्मक असरलाई पनि कम गर्ने विषयमा बोर्ड सचेत छ । त्यहीअनुसार अगाडि बढ्छौं । सबै क्षेत्रलाई मिश्रित रुपमा अगाडि ल्याउँछौं । धितोपत्र बजारमा रियल क्षेत्र आउनुपर्छ भन्ने मेरो सोच हो । यसले मुलुकको अर्थतन्त्रलाई टेवा दिन्छ भन्ने बुझेको छु । शेयर लगानीकर्ताहरुको हितलाई प्राथमिकता दिएर नै बोर्डले काम गर्छ ।’
अध्यक्ष श्रेष्ठले पुँजीबजारमा देखिएका अनियमितताको नियमन तथा नियन्त्रणको विषयमा पनि कामहरु गरिरहेको बताए । उनले लगानीकर्ताको हितलाई मध्यनजर गरेर अघि बढ्ने प्रतिवद्धता जनाए । नेतृत्वमा आइसकेपछि लगानीकर्ताको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको धारणा राखेका छन् ।
उनले क्यापिटल मार्केट देशको अर्थतन्त्र चलायमान बनाउने ठूलो क्षेत्र भएकाले चलायमान बनाउन आवश्यक रहेको बताएका छन् । उनले बोर्डले ७० लाख लगानीकर्तालाई सहजता दिनेगरी काम गर्न पूर्वाधार निर्माणलाई पनि प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् ।
अध्यक्ष श्रेष्ठले बोर्डको कार्य क्षमतालाई अभिवृद्धि गरी प्रभावकारी रुपमा काम गर्ने तयारी रहेको पनि बताएका छन् ।
प्रकाशित मिति: २४ पुष २०८१, बुधबार