Trending
>>   सुडानको राजधानीमा युद्धग्रस्त क्षेत्रका ८० हजार मानिसका लागि सहायता वितरण शुरु >>   एचएमपिभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैन : स्वास्थ्य मन्त्रालय >>   अमेरिकामा बर्ड फ्लूको कारण पहिलो मानवको मृत्यु >>   प्रधानमन्त्री कप महिला छनोट टी-२० क्रिकेट प्रतियोगिता आजदेखि >>   यस्तो छ आज देशभरको मौसम >>   प्रेस काउन्सिललाई नियमनका लागि बाटो खुला >>   साइड नदिएको भन्दै काभ्रेको पात्लेखेतमा गाडी तोडफोड >>   अत्यधिक चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द >>   मध्यपहाडी लोकमार्गको कास्की-बागलुङखण्डमा १९३ किमि कालोपत्र >>   यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Logo
२५ पुष २०८१, बिहीबार
२५ पुष २०८१, बिहीबार

राप्तीमा ४१ गोही छोडियो


काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोही प्रजनन केन्द्रमा हुर्काइएका ४१ वटा गोही राप्ती नदीमा छोडेका छन् । गत साउनयता तीन पटक गरेर एक भालेसहित ४१ वटा गोही नदीमा छोडिएको हो ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार यो वर्ष थप ६० वटा गोही प्राकृतिक बासस्थानमा छोड्ने योजना रहेका छन् । गत आवमा एक सय पाँच गोही नदीमा छोडिएको भन्दै नदी किनारबाट गोहीका अण्डा सङ्कलन गरेर प्रजनन केन्द्रमा कोरल्ने र त्यहाँ हुर्किएका बच्चालाई नदीमा छोड्ने गरिएको उनले जानकारी दिएका छन् ।

हालसम्म राप्ती, नारायणीसहित देशका विभिन्न नदीमा एक हजार नौ सय ९८ गोही छोडिसकिएको निकुञ्जका सूचना अधिकारी थापामगर उल्लेख गरे । ती गोही बच्चे दररेट निकै न्यून छ ।

थापामगरले गत वर्ष गरिएको सर्वेक्षणमा राप्तीमा एक सय ५२ र नारायणी एक सय तीन गोही भेटिएका जानकारी दिए । हाल प्रजनन केन्द्रमा सात सय ५९ वटा गोही छन् । तीमध्ये एक सय ९५ भुरा, चार सय ३२ किशोर अवस्थाका, एक सय अर्धवयस्क र ३२ वटा वयस्क रहेका छन् ।

घडियाल गोही सङ्कटापन्न अवस्थामा पुगेको सरीसृप प्राणी हो । विगतमा पाकिस्तान, बङ्गलादेश, भुटान, म्यानमारलगायत देशमा पाइने घडियाल अहिले नेपाल र भारतमा मात्रै पाइन्छन् । सन् १९४० को दशकमा यसको सङ्ख्या विश्वमा १० हजार जति थियो भने सन् १९७० मा त्यसको दुई प्रतिशतमात्र सङ्ख्या अस्तित्वमा रहेको पाइएपछि संरक्षणमा चासो बढेको संरक्षणकर्मी बताउँछन् ।

चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएपछि सन् १९७५ मा कसरामा घडियाल प्रजनन केन्द्र स्थापना गरिएका थिए । त्यतिखेर देशभरमा एक सयभन्दा कम सङ्ख्यामा घडियाल गोही रहेको अनुमान गरिएका थिए ।

नदीमा बढ्दो मानवीय चहलपहल, नदीजन्य पदार्थ उत्खनन, प्रदूषण, मानिसले माछा मार्नेलगायत गतिविधिका कारण गोही प्राकृतिक बासस्थानमा असुरक्षित बनिरहेको थापामगरले बताएका छन् ।

नदीमा बाढी आउँदा गोहीहरू बगेर सीमापारि पुग्ने समस्या रहेको उनको भनाइ छ ।


प्रकाशित मिति: २४ पुष २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?