Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

पन्चैबाजा संरक्षणमा आमा समूह


बागलुङ । परियार समुदायको पुर्ख्यौली पेसाका रूपमा पन्चैबाजा हिजोआज अन्य समुदायले पनि बजाउन थालेका छन् । गाउँ तथा सहरमा बिस्तारै पन्चैबाजा बचाउने प्रचलन हराउन थालेपछि बागलुङमा महिला र मगर समुदायका युवाले संरक्षणमा चासो दिएका हुन् ।

युवा शक्ति विदेश पलायन भएपछि सङ्कटमा पर्न थालेको पन्चैबाजा बजाउने प्रचलन पछिल्लो समय संरक्षण भइरहेको छ । अहिले यहाँका महिला समूहले समेत बाजा बजाउन थालेका छन् ।

पन्चैबाजा बजाउने चलन लोप हुन थालेपछि महिलाहरू यसको संरक्षणमा लागेको बागलुङ नगरपालिका–३ देउरालीचोक आमा समूहकी अध्यक्ष सरिता थापा मगरले बताइन् । विवाह, व्रतबन्ध र अन्य सार्वजनिक कार्यक्रममा बाजा बजाउने कोही नहुँदा आफूहरूले बजाउन थालेको उनको भनाइ छ । पहिले गाउँमा धेरै समूहले बाजा बजाए पनि अहिले कोही नभएको उनले उल्लेख गरिन्।

थापाले भनिन्, “अहिले बाजा बजाउने जनशक्ति पाउनै मुस्किल छ, नयाँ पुस्ता विद्यालय सकाएपछि विदेश नै जान हतारिन्छन्, बुढापाकाले बजाउन सक्दैनन्, टोल छिमेकमा कसैको बिहे, व्रतबन्ध, पास्नी हुँदा बाजा बजाउनै छोडेको हुँदा दिदीबहिनीहरु मिलेर पन्चैबाजा बजाउन थालेका हौँ, सुरुमा सिक्न केही समय लाग्यो अहिले सबैले सिकेपछि ठाउँ–ठाउँमा बजाउन जाने गरेका छौँ ।”

दुई वर्ष अगाडिदेखि बाजा बजाउन सिकेका महिलाहरुले अहिले यसैबाट आम्दानीसमेत गर्न थालेका छन् । सुरुमा गाउँका पन्चैबाजा समूहबाट सिकेका उनीहरुले रु एक लाख ५० हजारमा बाजा सेट खरिद गरेर व्यावसायिक रूपमा बजाउन थालेका हुन् । एउटा विवाहबाट रु ३० हजारदेखि ५० हजारसम्म लिने गरेको पन्चैबाजा समूहकी सदस्य कला श्रीसले जानकारी दिइन् । विवाहको याममा बागलुङका ग्रामीण क्षेत्रदेखि ठुला–ठुला सहरसम्म बाजा बजाउन जाने गरेको उनको भनाइ छ ।

“सुरुमा बाजाको ताल सिक्न केही समय लाग्यो, अहिले ५० जनाभन्दा बढी दिदीबहिनीहरुले पन्चैबाजा बजाउने गर्छौँ”, उनले भनिन्, “अब सिक्न चाहनेलाई पनि सिकाउन सकिन्छ, हामीलाई मङ्सिर र माघमा भ्याइनभ्याइ हुन्छ, यसबाट हाम्रो आम्दानी पनि राम्रो भएको छ ।”


प्रकाशित मिति: १७ पुष २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?