काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधनका लागि केही दिनभित्र संयन्त्र बनाउने बताएका छन् ।
सरकारमा सहभागी दुई ठूला राजनीतिक दलहरु नेपाली काँग्रेस र नेकपा एमालेले संविधान संशोधनका लागि केही दिनभित्र नै संयन्त्र बनाएर काम शुरु गर्ने बताएका हुन्। उनले संयन्त्र बनाउँदा सुझबुझपूर्ण बनाइने र सम्हालिएर संविधान संशोधन गर्ने बताए ।
उनले सबै राजनीतिक दलहरुसँग छलफल गरेर संविधान संशोधन गर्नैपर्ने न्युनतम कुराहरुको संशोधन हुने बताए । उनले संयन्त्रले शुरुमा काँग्रेस र एमालेबीच समझदारी बनाउने र पछि अन्य राजनीतिक दलहरुसँग छलफल गरेर मात्रै सबैको सहमतिअनुसार संविधान संशोधन हुने उल्लेख गरेका छन् ।
उनले एमाले र काँग्रेसले चाहेर मात्रै संविधान संशोधन नहुने भन्दै माओवादी, मधसवादी राजनीतिक दलहरुसँगको समझदारीबाट संशोधन गर्ने बताए । संसदलाई अझैँ समावेशी बनाउने, मन्त्रीपरिषद्लाई समावेशी बनाउने र एउटा कार्यकाल एउटै राजनीतिक दलले देशको नेतृत्व गर्नसक्ने गरीकन संविधान संशोधन गर्ने बताएका छन् ।
उनले भने , ‘अहिले संविधान संशोधनको बहस प्रारम्भ भएको छ । केही दिनभित्रमा नेपाली काँग्रेस र नेकपा एमालेले एउटा संयन्त्र बनाउँछ । यसलाई पनि सम्हाल्छौँ । धेरै एड्भेन्चर गर्ने ठाउँ छैन । यसलाई सम्हालेर काँग्रेस र एमालेले अहिले आफ्नो बीचमा न्युनतम संविधानमा चलाउनुपर्ने, चलाउनसक्ने विषयमा समझदारी कायम गर्छौं, त्यसपछि अरु राजनीतिक दलहरुसँग संवाद गर्छौं । किनभने यो संविधान भनेको काँग्रेस एमालेले चाहेर मात्रै संशोधन हुनेकुरा होइन । माओवादी, मधेसका अरु दलहरुसँग संवाद गर्छौं । दलहरुको बीचमा समझदारी बनाउँछौँ । न्युनतम कुराहरु संशोधन गर्छौं । संसद समावेशी छ, अझैँ यो भन्दा बढी समावेशी बनाउने हो । क्याबिनेट समावेशी छैन, समावेशी बनाउने हो । सँगै एउटा राजनीतिक दलले एउटा निर्वाचनमा जाँदै गर्दा एकदमै लोकप्रिय समर्थन गरेको बेलामा पनि अर्को एउटा सानो दलसँग टाँसिनै पर्ने जुन अहिलेको बाध्यता छ, त्यो बाध्यताबाट हाम्रो संविधानलाई बाहिर निकाल्नुपर्नेछ । एउटा अवधि एउटा राजनीतिक दलले सरकार चलाउन पाउने अवस्था बनाउनुपर्नेछ । यस्ता केही विषयहरु छन्, जुन कुरामा हामी संविधान संशोधन गर्नेकुरामा प्रवेश गर्दछौँ । छलफल गर्छौं तर सम्हालेर गर्छौं ।’
महामन्त्री थापाले ०८४ को निर्वाचनमा जाँदै गर्दा ०८१/०८२/०८३ को जिम्मेवारीबाट भाग्न नहुने बताए। उनले यो अवधिमा आफूले गरेका कामहरुको फेहरिस्त बोकेर जनतासँग जानसक्ने हैसियत बनाउनुपर्ने बताए ।
उनले अहिलेसम्म निर्वाचन भन्दा अगाडिको अवधिको जिम्मा लिने कुनैपनि राजनीतिक दल, शक्ति व्यक्ति नरहेको भन्दै अब जिम्मेवारी लिनेगरी मात्रै जनतामाझ जानुपर्ने अवस्थाको शुरुवात गर्न आवश्यक भएको बताउएका छन् ।
नेपाली काँग्रेस र नेकपा एमालेको अहिलेको सरकारलाई अवसरका रुपमा लिएर आगामी निर्वाचनमा काँग्रेसले आफूले गरेका कामहरुबाट जनतालाई प्रभावित बनाइ निर्वाचनमा एक्लै प्रतिष्पर्धा गर्ने बताए ।
उनले भने , ‘२०८४ को चुनाव छ । सबै राजनीतिक पार्टीहरुले ०८४ को चुनाव गरिरहेका छन् । ०८४ को कुरा गर्नु नै पर्छ । सोच्नु पनि पर्छ, पार्टी संगठनको हिसावले । तर २०८४ को कुरा गर्दैगर्दा के कुरा गर्न पाइन्न भने ०८/०८२/०८३ को जिम्मेवारीबाट भाग्न पाइँदैन । सरकारमा बसेको मानिसले सरकारमा बसेर काम गर्छ । मैले यो यो गरेँ भनेर अर्को चुनावमा भन्न जान्छ । सरकार भन्दा बाहिर बसेको पार्टीले म भएको भए तिमी भन्दा राम्रो गर्थें भन्छ वा म आउँदै गर्दा अब विकल्पमा यो गर्छु भन्छ । नेपालमा त पछिल्ला तीन चार वटा चुनावमा हेर्यौँ भने प्रत्येक निर्वाचनमा जाँदै गर्दा त्यो निर्वाचन भन्दा अगाडिको अवधिको जिम्मा लिने कुनैपनि राजनीतिक दल, शक्ति व्यक्ति कोही पनि छैन । किनभने हामी सबै गठबन्धनमा छौ । मिसमास छ । सरकार यति धेरै परिवर्तन भएको छ, भत्किएको छ । २०७९ सालको चुनावमा नेकपा एमाले पनि गयो, काँग्रेस पनि गयो, माओवादी गयो । मिलेर चुनाव लड्यो । यि सबै कुराको बीचमा हामी सबै चुनावमा जाँदै गर्दा कसैले पनि जिम्मा लिएनौँ । सबैले ५ वर्ष बर्बाद भयो, अब म राम्रो गर्छु भन्यौँ, ५ वर्षको जिम्मा लिने कोही भएन । तर ०८४ को चुनावमा त्यस्तो गर्न पाइँदैन । जिम्मा लिनुपर्छ । कसले लिने भन्दा हाम्रो पार्टीले जिम्मा लिएर जानुपर्छ । यो तीन वर्षमा ०८४ मा योयो गर्यौँ भन्ने हैसियत बनाएर जानुपर्छ । अब हामीले जिम्मा लिएर जानुपर्छ । यो सरकारको धेरै फेरबदल, यत्ता उत्ता एड्भेन्चर गर्ने, यो धेरै चकचक गर्ने, यो च्याप्टर बन्द गर्नुपर्छ । काँग्रेस एमाले मिलेर जानेकुरा त्यति युजियल कुरा होइन, एउटा परिस्थितिले सिर्जना ग¥यो तर यसलाई हामीले अब अवसरको रुपमा लिनुपर्छ । २०८४ सालसम्म सरकार जम्मा एक पटक बदलिन्छ, त्यो सरकार बदलिँदै गर्दा प्रधानमन्त्री बदलिनुहुन्छ, अहिलेको समझदारीअनुसार । त्यसपछि यो ०८४ सालसम्म स्मोथली जान्छ । हामी सरकार चलाउँछौँ । २०८४ को चुनावमा नेपाली काँग्रेस पार्टी देशभरी १६५ निर्वाचन क्षेत्रमा, प्रदेशमा ३३० स्थानमा, सबै नगरपालिका, वडामा एक्लै चुनाव लड्छ, चुनावको परिणाम जेसुकै आउँछ ।’
महामन्त्री थापाले काँग्रेसले विधिको शासन स्थापित गर्नुपर्ने बताए। उनले सबै नागरिकसँग राज्यले बराबर व्यवहार गर्ने स्थिति सिर्जना गर्नुपर्ने बताए । सरकारले केही समयभित्रै परिवर्तनका केही संकेतहरु देखिने गरी काम गर्ने दाबी गरेका छन्।
प्रकाशित मिति: ७ पुष २०८१, आईतवार