Trending
>>   वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण गर्ने संस्था श्रम मन्त्रालय मातहत राख्नुपर्छः मन्त्री भण्डारी >>   चन्द्रनिगाहपुर अस्पताललाई विभिन्न उपकरण हस्तान्तरण >>   निजी लगानी वृद्धिलाई प्रोत्साहन: अर्थमन्त्री पौडेल >>   राष्ट्रपतिद्वारा भारतका लागि नेपाली राजदूतमा डा.शंकर प्रसाद शर्मा नियुक्त >>   कुशलले कप्तानी जिम्मेवारीमा आफूलाई धेरै विकास गरेको छ: शरद भेषावकर >>   मलेसियाका लागि नेपाली राजदूतमा डा.तिम्सिना नियुक्त >>   सामाजिक अपराधजन्य घटनामा वृद्धि >>   निजामती कर्मचारीको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने प्रस्ताव >>   बझाङमा फेरी गयो ४.१ म्याग्निच्युडको भूकम्प >>   नयाँ प्रतियोगिताका रूपमा सोचेर खेल्यौं– सोमपाल कामी
Logo
३ पुष २०८१, बुधबार
३ पुष २०८१, बुधबार

चन्द्रनिगाहपुर अस्पताललाई विभिन्न उपकरण हस्तान्तरण


काठमाडौँ। जिल्लाको चन्द्रपुर नगरपालिकास्थित चन्द्रनिगाहपुर नगर अस्पतालमा ट्रमा सेन्टर सञ्चालन गर्न आवश्यक उपकरण हस्तान्तरण गरिएको छ । लायन्स अन्तर्राष्ट्रिय क्लब र चन्द्रपुर नगरपालिकाको साझेदारीमा अस्पताललाई रू एक करोड ६० लाख मूल्य बराबरको विभिन्न उपकरण हस्तान्तरण गरेका हुन् ।

पूर्वपश्चिम महेन्द्र राजमार्ग नजिक रहेको चन्द्रनिगाहपुर अस्पतालमा ट्रमा सेन्टर सञ्चालनको लागि लायन्स अन्तर्राष्ट्रिय क्लब र चन्द्रपुर नगरपालिकाको साझेदारीमा चन्द्रनिगाहपुर अस्पताललाई ट्रमा सेन्टर सञ्चालनको लागि अतिआवश्यक सामग्री हस्तान्तरण गरेका थिए ।

‘एनेस्थेसिया’, ‘भेन्टिलेटर’, ‘ओटी टेबल सेट’, ‘ओटी लाइट सेट’, ‘आइसियु बेड’सहित ‘सेटअफ’ लगायत ट्रमाका लागि आवश्यक पर्ने दुई सयभन्दा बढी उपकरण अस्पतालमा सहयोग स्वरूप प्राप्त भएको अस्पतालका प्रमुख डा अभिनन्दन श्रीवास्तवले जानकारी दिए ।

पूर्वपश्चिम राजमार्गसँग जोडिएको जिल्लाको चन्द्रनिगाहपुरमा ट्रमा सेन्टर सञ्चालनमा आएपछि प्राकृतिक प्रकोप, दुर्घटनामा परेका बिरामीलाई उपचारमा सहज हुने चन्द्रपुरका नगरप्रमुख सञ्जयकुमार काफ्लेले बताए । लायन्स अन्तर्राष्ट्रिय क्लबले करिब रू एक करोड ६० लाख मूल्यका सामग्री हस्तान्तरण गरेपछि अस्पतालले कार्यविधि बनाएर सञ्चालनमा ल्याउने उनले उल्लेख गरे ।

सडक दुर्घटना, प्राकृतिक विपद्ले मानवको अकालमा ज्यान नजाओस् भन्ने उद्देश्यले अस्पतालमा ट्रमा सेन्टर सञ्चालनमा ल्याउन लागिएको नगरप्रमुख काफ्लेले बताएका छन् ।

लायन्स अन्तर्राष्ट्रियका प्रमुख बालकृष्ण बुर्लाकोटीले चन्द्रपुर राजमार्गसँग जोडिएकाले दुर्घटनाको जोखिम उच्च रहने भन्दै यहाँ ट्रमा सेन्टर सञ्चालन भएसँगै घाइतेले तत्काल उपचार पाउने विश्वास व्यक्त गरे । लायन्सले विभिन्न परियोजनामार्फत शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा सहयोग गर्दै आइरहेको उनले जानकारी दिएका छन् ।

उपचारका लागि आवश्यक उपकरण पर्याप्त मात्रामा मौज्दात हुन थालेपछि बिरामीको चाप बढेको अस्पताल प्रशासनले जनाएका छन् । निजी अस्पतालमा पाउने सुविधा सरकारी अस्पतालमा निःशुल्क पाउन थालेपछि उपचारमा सहज भएको स्थानीय अर्जुन मैनालीले बताएका छन् ।

दक्ष स्वास्थ्यकर्मी, बिमा, सहज र सुलभ उपचार स्थानीयस्तरमा पाउन थालेपछि अस्पतालमा स्थानीयको घुइँचो हुन थालेका छन् । स्वास्थ्य बिमा गराएकालाई सम्पूर्ण किसिमको औषधि समयमा उपलब्ध गराउनुपर्नेमा स्थानीय टङ्क देवकोटाले सुझाव दिए ।

सम्पूर्ण किसिमका बिरामीको प्रभावकारी, सहज र सुलभ उपचार गर्ने उद्देश्यले सरोकार भएका निकाय तथा संस्थाले विभिन्न उपकरण सहयोग गरिरहेका अस्पतालका प्रमुख डा श्रीवास्तवले बताए । मङ्गलबार स्वास्थ्य मन्त्रालयको सहयोगमा एक थान ‘फोटो थेरापी’ र ‘इसिजी’ उपकरण सहयोग प्राप्त भएको उनले जानकारी दिए ।

एक महिनासम्मका बच्चाहरूको उपचार गर्न फोटो थेरापी उपकरण आवश्यक रहेकामा स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको डा श्रीवास्तवले बताए । यसअघि उपकरण नहुँदा बच्चाहरूको उपचार गर्न निजी अस्पतालमा पठाउनु परेकामा अब यो समस्या अन्त्य हुने उनले उल्लेख गरे । उक्त उपकरण यथाशीघ्र सञ्चालन गरिने छ ।

अस्पतालले आकस्मिक सेवा, प्रसूति सेवा, बरिङ्ग (ओपिडी), प्रयोगशाला, एक्सरे, खोप, क्षयरोग, निःशुल्क फार्मेसी, बिमा सेवा सञ्चालन गर्दै आएका छन् । यसअघि दैनिक तीन सयसम्म बिरामी आउने गरेकामा अस्पतालमा सम्पूर्ण किसिमका उपकरणको व्यवस्था भएपछि अहिले दैनिक तीन सय ५० देखि चार सयसम्म बिरामी आउने गरेका छन् । सर्पदंशको उपचार गर्न जिल्लाभरिका बिरामी चन्द्रनिगाहपुर अस्पतालमा आउने गर्दछन् ।


प्रकाशित मिति: ३ पुष २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?