Trending
>>   सरकार र यातायात व्यवसायीबीच वार्ता कमिटी गठनको सहमति, आन्दोलन कायम >>   इराकमा तेल, ग्यास प्रविधि प्रदर्शनी आयोजना >>   नेपालमा हिन्दुराष्ट्रसहित राजसंस्था स्थापनाका लागि अन्तर्राष्ट्रिय दबाब शुरु >>   इटाली र चीनबीच सांस्कृतिक आदानप्रदान >>   रूसमा रेल पटरीबाट खस्दा ७ जनाको मृत्यु >>   रुसी हवाई क्षेत्रमा युक्रेनको ड्रोन आक्रमण >>   इजरायली आक्रमणबाट ३१ जनाको मृत्यु >>   सार्वजनिक यातायात बन्दसँगै नागरिकको दैनिक जनजीवन प्रभावित >>   रसको प्रशिक्षणमा अभ्यस्त हुन थाल्यौं किरण चेम्जोङ >>   आज मिति २०८२ साल जेठ १९ गते सोमबार,हेर्नूहोस् आजको राशिफल
Logo
१९ जेष्ठ २०८२, सोमबार
१९ जेष्ठ २०८२, सोमबार

चन्द्रनिगाहपुर अस्पताललाई विभिन्न उपकरण हस्तान्तरण


काठमाडौँ। जिल्लाको चन्द्रपुर नगरपालिकास्थित चन्द्रनिगाहपुर नगर अस्पतालमा ट्रमा सेन्टर सञ्चालन गर्न आवश्यक उपकरण हस्तान्तरण गरिएको छ । लायन्स अन्तर्राष्ट्रिय क्लब र चन्द्रपुर नगरपालिकाको साझेदारीमा अस्पताललाई रू एक करोड ६० लाख मूल्य बराबरको विभिन्न उपकरण हस्तान्तरण गरेका हुन् ।

पूर्वपश्चिम महेन्द्र राजमार्ग नजिक रहेको चन्द्रनिगाहपुर अस्पतालमा ट्रमा सेन्टर सञ्चालनको लागि लायन्स अन्तर्राष्ट्रिय क्लब र चन्द्रपुर नगरपालिकाको साझेदारीमा चन्द्रनिगाहपुर अस्पताललाई ट्रमा सेन्टर सञ्चालनको लागि अतिआवश्यक सामग्री हस्तान्तरण गरेका थिए ।

‘एनेस्थेसिया’, ‘भेन्टिलेटर’, ‘ओटी टेबल सेट’, ‘ओटी लाइट सेट’, ‘आइसियु बेड’सहित ‘सेटअफ’ लगायत ट्रमाका लागि आवश्यक पर्ने दुई सयभन्दा बढी उपकरण अस्पतालमा सहयोग स्वरूप प्राप्त भएको अस्पतालका प्रमुख डा अभिनन्दन श्रीवास्तवले जानकारी दिए ।

पूर्वपश्चिम राजमार्गसँग जोडिएको जिल्लाको चन्द्रनिगाहपुरमा ट्रमा सेन्टर सञ्चालनमा आएपछि प्राकृतिक प्रकोप, दुर्घटनामा परेका बिरामीलाई उपचारमा सहज हुने चन्द्रपुरका नगरप्रमुख सञ्जयकुमार काफ्लेले बताए । लायन्स अन्तर्राष्ट्रिय क्लबले करिब रू एक करोड ६० लाख मूल्यका सामग्री हस्तान्तरण गरेपछि अस्पतालले कार्यविधि बनाएर सञ्चालनमा ल्याउने उनले उल्लेख गरे ।

सडक दुर्घटना, प्राकृतिक विपद्ले मानवको अकालमा ज्यान नजाओस् भन्ने उद्देश्यले अस्पतालमा ट्रमा सेन्टर सञ्चालनमा ल्याउन लागिएको नगरप्रमुख काफ्लेले बताएका छन् ।

लायन्स अन्तर्राष्ट्रियका प्रमुख बालकृष्ण बुर्लाकोटीले चन्द्रपुर राजमार्गसँग जोडिएकाले दुर्घटनाको जोखिम उच्च रहने भन्दै यहाँ ट्रमा सेन्टर सञ्चालन भएसँगै घाइतेले तत्काल उपचार पाउने विश्वास व्यक्त गरे । लायन्सले विभिन्न परियोजनामार्फत शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा सहयोग गर्दै आइरहेको उनले जानकारी दिएका छन् ।

उपचारका लागि आवश्यक उपकरण पर्याप्त मात्रामा मौज्दात हुन थालेपछि बिरामीको चाप बढेको अस्पताल प्रशासनले जनाएका छन् । निजी अस्पतालमा पाउने सुविधा सरकारी अस्पतालमा निःशुल्क पाउन थालेपछि उपचारमा सहज भएको स्थानीय अर्जुन मैनालीले बताएका छन् ।

दक्ष स्वास्थ्यकर्मी, बिमा, सहज र सुलभ उपचार स्थानीयस्तरमा पाउन थालेपछि अस्पतालमा स्थानीयको घुइँचो हुन थालेका छन् । स्वास्थ्य बिमा गराएकालाई सम्पूर्ण किसिमको औषधि समयमा उपलब्ध गराउनुपर्नेमा स्थानीय टङ्क देवकोटाले सुझाव दिए ।

सम्पूर्ण किसिमका बिरामीको प्रभावकारी, सहज र सुलभ उपचार गर्ने उद्देश्यले सरोकार भएका निकाय तथा संस्थाले विभिन्न उपकरण सहयोग गरिरहेका अस्पतालका प्रमुख डा श्रीवास्तवले बताए । मङ्गलबार स्वास्थ्य मन्त्रालयको सहयोगमा एक थान ‘फोटो थेरापी’ र ‘इसिजी’ उपकरण सहयोग प्राप्त भएको उनले जानकारी दिए ।

एक महिनासम्मका बच्चाहरूको उपचार गर्न फोटो थेरापी उपकरण आवश्यक रहेकामा स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको डा श्रीवास्तवले बताए । यसअघि उपकरण नहुँदा बच्चाहरूको उपचार गर्न निजी अस्पतालमा पठाउनु परेकामा अब यो समस्या अन्त्य हुने उनले उल्लेख गरे । उक्त उपकरण यथाशीघ्र सञ्चालन गरिने छ ।

अस्पतालले आकस्मिक सेवा, प्रसूति सेवा, बरिङ्ग (ओपिडी), प्रयोगशाला, एक्सरे, खोप, क्षयरोग, निःशुल्क फार्मेसी, बिमा सेवा सञ्चालन गर्दै आएका छन् । यसअघि दैनिक तीन सयसम्म बिरामी आउने गरेकामा अस्पतालमा सम्पूर्ण किसिमका उपकरणको व्यवस्था भएपछि अहिले दैनिक तीन सय ५० देखि चार सयसम्म बिरामी आउने गरेका छन् । सर्पदंशको उपचार गर्न जिल्लाभरिका बिरामी चन्द्रनिगाहपुर अस्पतालमा आउने गर्दछन् ।


प्रकाशित मिति: ३ पुष २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?