Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

चन्द्रनिगाहपुर अस्पताललाई विभिन्न उपकरण हस्तान्तरण


काठमाडौँ। जिल्लाको चन्द्रपुर नगरपालिकास्थित चन्द्रनिगाहपुर नगर अस्पतालमा ट्रमा सेन्टर सञ्चालन गर्न आवश्यक उपकरण हस्तान्तरण गरिएको छ । लायन्स अन्तर्राष्ट्रिय क्लब र चन्द्रपुर नगरपालिकाको साझेदारीमा अस्पताललाई रू एक करोड ६० लाख मूल्य बराबरको विभिन्न उपकरण हस्तान्तरण गरेका हुन् ।

पूर्वपश्चिम महेन्द्र राजमार्ग नजिक रहेको चन्द्रनिगाहपुर अस्पतालमा ट्रमा सेन्टर सञ्चालनको लागि लायन्स अन्तर्राष्ट्रिय क्लब र चन्द्रपुर नगरपालिकाको साझेदारीमा चन्द्रनिगाहपुर अस्पताललाई ट्रमा सेन्टर सञ्चालनको लागि अतिआवश्यक सामग्री हस्तान्तरण गरेका थिए ।

‘एनेस्थेसिया’, ‘भेन्टिलेटर’, ‘ओटी टेबल सेट’, ‘ओटी लाइट सेट’, ‘आइसियु बेड’सहित ‘सेटअफ’ लगायत ट्रमाका लागि आवश्यक पर्ने दुई सयभन्दा बढी उपकरण अस्पतालमा सहयोग स्वरूप प्राप्त भएको अस्पतालका प्रमुख डा अभिनन्दन श्रीवास्तवले जानकारी दिए ।

पूर्वपश्चिम राजमार्गसँग जोडिएको जिल्लाको चन्द्रनिगाहपुरमा ट्रमा सेन्टर सञ्चालनमा आएपछि प्राकृतिक प्रकोप, दुर्घटनामा परेका बिरामीलाई उपचारमा सहज हुने चन्द्रपुरका नगरप्रमुख सञ्जयकुमार काफ्लेले बताए । लायन्स अन्तर्राष्ट्रिय क्लबले करिब रू एक करोड ६० लाख मूल्यका सामग्री हस्तान्तरण गरेपछि अस्पतालले कार्यविधि बनाएर सञ्चालनमा ल्याउने उनले उल्लेख गरे ।

सडक दुर्घटना, प्राकृतिक विपद्ले मानवको अकालमा ज्यान नजाओस् भन्ने उद्देश्यले अस्पतालमा ट्रमा सेन्टर सञ्चालनमा ल्याउन लागिएको नगरप्रमुख काफ्लेले बताएका छन् ।

लायन्स अन्तर्राष्ट्रियका प्रमुख बालकृष्ण बुर्लाकोटीले चन्द्रपुर राजमार्गसँग जोडिएकाले दुर्घटनाको जोखिम उच्च रहने भन्दै यहाँ ट्रमा सेन्टर सञ्चालन भएसँगै घाइतेले तत्काल उपचार पाउने विश्वास व्यक्त गरे । लायन्सले विभिन्न परियोजनामार्फत शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा सहयोग गर्दै आइरहेको उनले जानकारी दिएका छन् ।

उपचारका लागि आवश्यक उपकरण पर्याप्त मात्रामा मौज्दात हुन थालेपछि बिरामीको चाप बढेको अस्पताल प्रशासनले जनाएका छन् । निजी अस्पतालमा पाउने सुविधा सरकारी अस्पतालमा निःशुल्क पाउन थालेपछि उपचारमा सहज भएको स्थानीय अर्जुन मैनालीले बताएका छन् ।

दक्ष स्वास्थ्यकर्मी, बिमा, सहज र सुलभ उपचार स्थानीयस्तरमा पाउन थालेपछि अस्पतालमा स्थानीयको घुइँचो हुन थालेका छन् । स्वास्थ्य बिमा गराएकालाई सम्पूर्ण किसिमको औषधि समयमा उपलब्ध गराउनुपर्नेमा स्थानीय टङ्क देवकोटाले सुझाव दिए ।

सम्पूर्ण किसिमका बिरामीको प्रभावकारी, सहज र सुलभ उपचार गर्ने उद्देश्यले सरोकार भएका निकाय तथा संस्थाले विभिन्न उपकरण सहयोग गरिरहेका अस्पतालका प्रमुख डा श्रीवास्तवले बताए । मङ्गलबार स्वास्थ्य मन्त्रालयको सहयोगमा एक थान ‘फोटो थेरापी’ र ‘इसिजी’ उपकरण सहयोग प्राप्त भएको उनले जानकारी दिए ।

एक महिनासम्मका बच्चाहरूको उपचार गर्न फोटो थेरापी उपकरण आवश्यक रहेकामा स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको डा श्रीवास्तवले बताए । यसअघि उपकरण नहुँदा बच्चाहरूको उपचार गर्न निजी अस्पतालमा पठाउनु परेकामा अब यो समस्या अन्त्य हुने उनले उल्लेख गरे । उक्त उपकरण यथाशीघ्र सञ्चालन गरिने छ ।

अस्पतालले आकस्मिक सेवा, प्रसूति सेवा, बरिङ्ग (ओपिडी), प्रयोगशाला, एक्सरे, खोप, क्षयरोग, निःशुल्क फार्मेसी, बिमा सेवा सञ्चालन गर्दै आएका छन् । यसअघि दैनिक तीन सयसम्म बिरामी आउने गरेकामा अस्पतालमा सम्पूर्ण किसिमका उपकरणको व्यवस्था भएपछि अहिले दैनिक तीन सय ५० देखि चार सयसम्म बिरामी आउने गरेका छन् । सर्पदंशको उपचार गर्न जिल्लाभरिका बिरामी चन्द्रनिगाहपुर अस्पतालमा आउने गर्दछन् ।


प्रकाशित मिति: ३ पुष २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?