Trending
>>   सामाजिक अपराधजन्य घटनामा वृद्धि >>   निजामती कर्मचारीको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने प्रस्ताव >>   बझाङमा फेरी गयो ४.१ म्याग्निच्युडको भूकम्प >>   नयाँ प्रतियोगिताका रूपमा सोचेर खेल्यौं– सोमपाल कामी >>   सिस्नेरी–दक्षिणकाली सडक आजदेखि ११ गतेसम्म बन्द >>   कर्णाली याक्स दोस्रो क्वालिफायरमा >>   वर्ष उत्कृष्ट न्यायाधीशबाट दुई न्यायाधीश सम्मानित >>   विश्वविद्यालय टपरलाई सिधै निजामती सेवामा प्रवेशको प्रस्ताव >>   आफ्नै छोराको हत्या गरेको अभियोगमा एकजना पक्राउ >>   दक्षिण कोरियाका राष्ट्रपतिद्वारा भ्रष्टाचार नियन्त्रण निकायसमक्ष उपस्थित हुन अस्वीकार
Logo
३ पुष २०८१, बुधबार
३ पुष २०८१, बुधबार

रवि लामिछानेमाथि मानव अधिकार हनन भएको छैन, मान्छेको अनुहार हेरेर कारबाही हुँदैनः गृहमन्त्री


काठमाडौँ । गृहमन्त्री रमेश लेखकले जिबी राईलाई नेपाल ल्याउने प्रयत्न जारी रहेको र  मान्छेको अनुहार हेरेर अनुसन्धान नहुने बताएका छन् ।

बुधवार बिहान रुपन्देहीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले आपराधिक अनुसन्धान विधिसम्मत, कानूनसम्मत रुपले गर्ने बताए । उनले अनुसन्धानमा राजनीतिक हस्तक्षेप हुनु नहुने बताउदै  शान्ति सुरक्षासँग जोडिने प्रहरी संगठनलाई दुरुपयोग गर्न नहुने बताएका छन्  ।

प्रहरी संगठनलाई कसैको पनि हित वा अहितमा अनावश्यक रुपले प्रयोग गर्न नहुने बताए । अपराधमा सबैमाथि अनुसन्धान हुने र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि पनि सहकारीको रकम अपचलनमा अनुसन्धान भइरहेको बताए । पछिल्लो समयमा सहकारी ठगी गर्ने, अपचलन, हिनामिना गर्ने सयौँ मान्छेमाथि अनुसन्धान भइ कारागार पठाइएको बताए ।

उनले भने , ‘अनुसन्धानमा राजनीतिक हस्तक्षेप हुनु हुँदैन । आपराधिक अनुसन्धान विधिसम्मत, कानूनसम्मत रुपले गर्नुपर्ने निकायले गर्ने हो । त्यसका लागि प्रहरी छ अनुसन्धान गर्नका लागि । त्यो अनुसन्धानलाई आवश्यक निर्देशन दिनका लागि, सहजीकरण गर्नका लागि, सहयोग गर्नका लागि महान्यायाधिवक्तासहितको सरकारी वकीलको त्यत्रो ठूलो संगठन छ । त्यसपछि अभियोजन गरिसकेपछि न्यायिक प्रक्रियामा जान्छ र अदालतले त्यसमा छिनोफानो गर्छ । त्यसकारण कुनैपनि खालको अनुसन्धानलाई फलानो गृहमन्त्री हुँदा अनुसन्धान एक ढंगले हुने, फलाने गृहमन्त्री हुँदा अनुसन्धान अर्का ढंगले हुने किसिमले जानु हुँदैन । यो भन्दा पहिला के भयो अब ति कुराहरुका बारेमा म चर्चा गर्न चाहँदिन । प्रहरी जस्तो संगठनलाई शान्ति सुरक्षा जस्तो जोडिएको महत्वपूर्ण संगठनलाई दुरुपयोग गर्नु हुँदैन । कसैका पनि हित वा अहितमा अनावश्यक रुपले प्रयोग गर्न हुँदैन । उसलाई व्यवसायिक ढंगले काम गर्न दिनुपर्छ । म त्यो कुरामा प्रतिवद्ध छु । अनुसन्धान गर्दा कसैलाई ग¥यो, कसैलाई गरेन भन्नेकुरा होइन । सबैका माथि अनुसन्धान हुन्छ । मान्छेको अनुहार हेरेर अनुसन्धान हुने होइन । कसैलाई कसैसँग रिस उठेको कारणले अनुसन्धान हुने होइन । प्रमाणले जहाँजहाँ भेट्छ, प्रमाण जहाँजहाँ जान्छ, त्यहाँ अनुसन्धान अघि बढ्छ । एक जना मानिसका माथि मात्रै अनुसन्धान भएको होइन । पछिल्लो समयमा सहकारी ठगी गर्ने, अपचलन, हिनामिना गर्ने सयौँ मान्छेमाथि अनुसन्धान भएको छ । सयौँ मान्छेहरु थुनामा परेका छन् । विदेशबाट समेत मान्छेहरुलाई ल्याइएको छ ।’

गृहमन्त्री लेखकले अभियुक्त लामिछानेलाई चितवनबाट पोखरा लैजाँदा कुनैपनि मानव अधिकारको उल्लंघन नभएको बताए । उनले उनिमाथि कुनै ज्यादतीपूर्ण काम नगरेको र शान्ति सुरक्षाको विषयलाई दृष्टिगत गरेर राति लगिएको बताए ।

उनले काठमाडौंबाट राति नजाऔँ भन्दा गाडीमै जाने र राति नै जाने भन्ने तर चितवनबाट पोखरा शान्ति सुरक्षालाई दृष्टिगत गरेर लैजाँदा मानव अधिकार उल्लंघन भयो भन्नेकुरा बाहिरका मान्छेहरुले भनिरहेको बताए ।

लाखौँ मानिसको करोडौँ रकम खानेमाथि मानवअधिकार उल्लंघन हुने तर लाखौँ मानिसको रकम गुमेकोप्रति मानव अधिकार उल्लंघन नहुने हो भन्दै प्रश्न गरे । अनुसन्धान गर्दा कहिले प्रहरी कार्यालय, सरकारी वकील कार्यालय, अदालत घेराउ गर्ने गरेको भन्दै भीडले न्याय दिन नसक्ने जिकिर गरे ।

उनले भने , ‘रविजीलाई चितवनबाट पोखरा लैजाने क्रममा मानव अधिकारको उल्लंघन भयो भनेर केही साथीहरु बोल्नुभयो । प्रमुख प्रतिपक्ष दलको नेता पनि बोल्नुभयो । हाम्रै पार्टीका नेताहरु पनि बोल्नुभयो । उहाँको कुनै मानव अधिकारको उल्लंघन भएको छैन । उहाँमाथि कुनै ज्यादतीपूर्ण काम गरेको छैन । कुनै अवाञ्छित, गैरकानूनी, अमर्यादित काम, व्यवहार गरेको छैन । शान्ति सुरक्षाको विषयलाई दृष्टिगत गरेर उहाँलाई लगिएको हो । त्यो शान्ति सुरक्षा भनेको सबैका लागि हो, उहाँका लागि पनि हो । अनुसन्धान त हुन्छ त । आपराधिक कार्यमा अनुसन्धान हुँदैन ? लाखाँै मानिसको अर्बौं रुपैयाँ सहकारीमा राखेको रकम अपचलन भएको छ, दुरुपयोग भएको छ, ठगी भएको छ, हिनामिना भएको छ, कसको पैसा, सहकारीमा पैसा राख्ने मान्छे सबै धनीमानी छन् । फुटपाथमा मकै पोलेर मकै बेच्ने र त्यसबाट आएको आर्जनले आफ्ना सन्तानको छाक काटेर बचाएर राखेको पैसा लुटिएको छ, तिनको मानव अधिकार छैन । तिनको मानव अधिकारको चिन्ता छैन । अनुसन्धान हुन्छ, मानव अधिकारको कुनै हनन भएको छैन । अनुसन्धान गर्दा कहिले प्रहरी कार्यालय घेरेको छ, कहिले सरकारी वकीलको कार्यालय घेरेको छ, कहिले अदालत घेर्न कोशिस गरेको छ । अनि भीडले न्याय गर्दछ ? अनि हामीले यत्रो पद्धति बनाएका छौँ, यत्रो लोकतन्त्र, यत्रो संविधान, अनि समाजलाई मर्यादिन, सभ्य, राम्रो, बनाउँदै लैजाने होइन, यदी भीडले नै न्याय गर्ने हो, भीडले नै न्याय गर्ने हो भने पुलिस किन चाहियो, सरकारी वकील किन चाहियो । प्रक्रियामा त सबै जानुप¥यो नि । सडकबाट न्याय प्रभावित गर्ने कोशिसहरु भएको हुनाले शान्ति सुरक्षा कायम गर्नका लागि उहाँलाई लैजानुपर्यो । उहाँ काठमाडौंबाट पोखरा राति जाँदा मानव अधिकार हनन हुँदैन, चितवनबाट पोखरा जाँदा हनन हुन्छ ? दूरी छोटो भएर हनन भएको हो ?’

गृहमन्त्री लेखकले गितेन्द्रबाबु राई (जिबी राई) लाई नेपाल ल्याउने प्रयत्न भइरहेको पनि बताए । उनले संलग्नमाथि कारबाहीका लागि सरकार अघि बढिरहेको बताए ।

उनले भने , ‘जहाँसम्म जीवि राईको कुरा यहाँले गर्नुभयो । उहाँलाई पनि फर्काउने बारेमा प्रयत्न भइरहेको छ । हामीले गर्नेकुरा गरिरहेका छौँ । त्यसकाबारेमा अगाडि के हुन्छ हेरौँ । हाम्रो कोशिस जारी छ, उहाँलाई पनि ल्याउने कुरामा । जो संलग्न छ, अनुसन्धान भइरहेको छ ।’

गृहमन्त्री लेखकले प्रधानमन्त्रीको चीन भ्रमण सफलतापूर्वक सम्पन्न भएको बताए । चीन भ्रमणका क्रममा बिआआईअन्तर्गत कुनैपनि ऋण सम्झौता नभएको बताए ।

उनले संघ प्रहरीको कानून नयाँ बनाउने काम भइरहेको बताए । सशस्त्र प्रहरी ऐन पनि नयाँ बनाउने गरी सरकार अघि बढेको बताए । संघको प्रहरीलाई थप व्यवस्थित, प्रभावकारी बनाउने गरी सरकार अघि बढेको बताए । प्रहरी समायोजनको काम पनि अब चाँडै हुने प्रतिवद्धता जनाए ।


प्रकाशित मिति: ३ पुष २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?