Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

राष्ट्रिय सुरक्षाका लागि नागरिकमा एकताको भावना विकास आवश्यक : प्रधानमन्त्री प्रचण्ड


१४ चैत्र, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सुरक्षाका लागि आम नागरिकमा देशप्रतिको जिम्मेवारीबोध र एकताको भावना विकास गर्दै जानुपर्ने बताएका छन् ।

आज राष्ट्रिय सुरक्षा तालिमको समापन समारोहमा उनले राष्ट्रिय सुरक्षाको विषय सैनिक शक्ति मात्रै हो भन्ने परम्परागत दृष्टिकोणबाट व्यापक र फराकिलो भइसकेको बताए ।

प्रत्येक राष्ट्रले आ–आफ्नो मूल्य–मान्यता र मूल नीतिमा आधारित रहेर राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउन लागिपरेको बताउँदै उनले राष्ट्रिय सुरक्षा राजनीतिक, सामाजिक, आर्थिक एवं भौगोलिकलगायत अन्य सबै पक्षको समग्र सुरक्षा भएकोमा जोड दिए ।

“राष्ट्रिय सुरक्षाका विषयमा सार्वभौमिकता, राष्ट्रिय अखण्डता, सामाजिक, आर्थिक, सांस्कृतिक, पर्यावरणीय एवं मानवीय पक्षलगायत पक्षलाई पनि सम्बोधन गर्नु उत्तिकै आवश्यक छ”, उनले भने ।

नेपालको वर्तमान परिप्रेक्ष्यमा राष्ट्रिय सुरक्षाको विषय अत्यन्तै महत्वपूर्ण र संवेदनशील रहेको उल्लेख गरे । “विश्व परिवेशमा भइरहेका घटनाका कारण हरेक राष्ट्रको राष्ट्रिय सुरक्षामा प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । यो तथ्य नेपालजस्ता मुलुकका लागि झन् बढी महत्वपूर्ण हुने गर्दछ”,उनले भने ।

राष्ट्रिय सुरक्षाका सम्बन्धमा भएको क्रमिक विकास र परिवर्तन, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय रुपमा उदीयमान शक्ति राष्ट्रहरु, सूचना एवं प्रविधिको तीव्रतर र बहुआयमिक विकासका साथै राष्ट्रिय रुपमा राजनैतिक, सामाजिक, सांस्कृतिक एवं आर्थिक क्षेत्रमा देखिएका परिवर्तनले सुरक्षामा महत्व राख्ने उनको भनाइ छ ।

प्रधानमन्त्री दाहालले नेपालको संविधानले निर्देशित गरेको सार्वभौमिकता, स्वतन्त्रता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्दै बहुजाति, धर्म, भाषा, संस्कृति र सम्प्रदायमा पारस्परिक सद्भाव सहिष्णुता र ऐक्यबद्धता कायम गर्दै राष्ट्रिय सुरक्षा प्रणालीलाई विकास गर्नुपर्ने आवश्यकता औँल्याए ।

‘राष्ट्रिय सुरक्षा नीति–२०७३’ लाई परिवर्तित समयको मागअनुसार समसामयिक परिमार्जन गरी ‘राष्ट्रिय सुरक्षा नीति–२०७५’ कार्यान्वयनमा ल्याइसकिएको उनको भनाइ छ । उनले यसबाट नेपालका सबै सुरक्षा निकायलाई सबल, सक्षम, सुदृढ, व्यावसायिक बनाउन लागिपरेको स्पष्ट पारे ।

प्रधानमन्त्री दाहालले आन्तरिक एवं बाह्य सुरक्षा चुनौतीको समयमा नै पहिचान, विश्लेषण गरी प्रतिरक्षा नीति, आन्तरिक सुरक्षा तथा सार्वजनिक सूचना नीति, परराष्ट्र नीति तथा अर्थ नीति तर्जुमा गरी राष्ट्रिय सुरक्षा सुदृढ बनाउन टेवा पुग्ने विश्वास व्यक्त गरे ।

वर्तमान समयमा विभिन्न सुरक्षा चुनौतीको सामना गर्नु परिरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले देशको भू–राजनैतिक अवस्थिति, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय रुपमा शक्ति राष्ट्रहरुको सामरिक सामथ्र्यको बढोत्तरी, प्रतिस्पर्धा एवं प्रभाव, सीमा विवाद, जलवायु परिवर्तनका साथै आन्तरिक रुपमा विद्यमान रहेको राजनीतिक जटिलताका चुनौती देखापरेको बताए ।

उनले भने, “विश्व आर्थिक मन्दी र त्यसको प्रभाव, राष्ट्रिय एकता र सुरक्षामाथि प्रहार गर्न खोज्ने अतिवादी एवं पृथकतावादी सोच, दक्ष जनशक्तिको पलायन, खुला सीमाना र त्यसले निम्त्याउन सक्ने आपराधिक गतिविधिलगायतका चुनौती आज हामीले एकसाथ सामना गर्नुपरिरहेको छ ।”

चुनौतीको प्रतिवाद एवं समाधानका लागि राजनीतिक, अर्थतन्त्र, कूटनीति, सञ्चार तथा सैन्य शक्तिलाई उचित नीति एवं साधन स्रोतले सम्पन्न गराउँदै समन्वय र सहकार्यको माध्यमबाट राष्ट्रिय हितअनुरुप चुनौतीहरुको सामना गर्न सक्षम रहेको प्रधानमन्त्रीले विश्वास व्यक्त गरे । उनले त्यसका लागि सरकारका तर्फबाट आवश्यक सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

राष्ट्रिय सुरक्षाजस्तो अति महत्वपूर्ण विषयमा उच्चस्तरको तालिम सञ्चालन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने रक्षा मन्त्रालय, नेपाली सेना एवं सैनिक कमान्ड तथा स्टाफ कलेजलगायत सबैलाई प्रधानमन्त्रीले धन्यवाद दिए ।

सो अवसरमा नेपाली सेनाका प्रधानसेनापति, विभिन्न मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख, तालिममा सहभागी नेपाल सरकार तथा अन्य निकायका वरिष्ठ अधिकृतलगायतको सहभागिता थियो ।


प्रकाशित मिति: १४ चैत्र २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?