Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
११ माघ २०८२, आईतवार
११ माघ २०८२, आईतवार

पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा जनशक्ति र पूर्वाधार अभाव


कास्की । बिरामीको चाप भइरहने पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र पूर्वाधार र जनशक्ति अभावमा अस्तव्यस्त बनेको छ । दैनिक सरदर तीन सय बिरामीले सेवा लिने उक्त केन्द्र साघुँरो र अव्यवस्थित भवनबाट सञ्चालन भइरहेको छ । पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाअन्तर्गत विसं २०७५ पुसमा स्थापना भएको उक्त केन्द्रमा स्वास्थ्य उपकरणकोसमेत अपुगता छ ।

भवन अभावमा प्रयोगशाला र भान्छा एउटै कोठाबाट सञ्चालन भइरहेको छ । प्रयोगशाला बातानुकूलित हुनुपर्नेमा पङ्खाबाट काम चलाइएको केन्द्रका चिकित्सक जनक खड्काले बताए । बहिरङ्ग सेवा, मनोसामाजिक परामर्शलगायत सेवाका लागि उपयुक्त कोठा नभएको उनको भनाइ छ । महानगरअन्तर्गतका स्वास्थ्य संस्थामध्ये सबैभन्दा बढी बिरामी आउने उक्त केन्द्रलाई सुविधायुक्त बनाउनेतिर महानगरले चासो नदिएको स्थानीवासीको गुनासो छ ।

पोखरा महानगरपालिका–८ नयाँबजारमा रहेको उक्त केन्द्र पहिले दमकलको कार्यालय रहेको पुरानो भवनबाट सञ्चालन भइरहेको केन्द्रका प्रमुख कुश्मराज सुवेदीले बताए । उनले केन्द्रमा पूर्वाधार व्यवस्थापनदेखि सेवाको गुणस्तर सुधारको काम सुरु गरिएको बताए ।

उनले गत असोज १३ गतेदेखि केन्द्र प्रमुखको जिम्मेवारी सम्हालेका थिए । “म आउनुपूर्व केन्द्र झनै लथालिङ्ग अवस्थामा थियो, खानेपानी, शौचालयसमेतको राम्रो सुविधा थिएन”, उनले भने, “अहिले भवन मर्मत, रङ्गरोगनलगायत आन्तरिक व्यवस्थापनको काम भइरहेको छ, केन्द्रको परिसरमा पर्खाल लगाउने काम भइरहेको छ ।”

प्रमुख सुवेदीले स्वास्थ्य उपकरण र जनशक्ति थपका लागि महानगर र प्रदेश सरकारसँग पहल भइरहेको बताए । खुला ठाउँमा भएकाले केन्द्रको सुरक्षामा पनि चुनौती रहेको उनको भनाइ छ । यसअघि सामान्य घेराबारसमेत नहुँदा केन्द्रको भवन परिसरमा सवारीसाधनको पार्किङ गर्ने, दुर्व्यसनमा फसेका युवाहरु सुत्ने आदि गर्दै आएका थिए । बिरामीको चापअनुसार चिकित्सक र स्वास्थ्यकर्मी अपुग रहेको प्रमुख सुवेदीले बताए ।

अस्पतालमा १५ जनाको दरबन्दी रहेको उक्त केन्द्रमा दुई जना मेडिकल अधिकृतसहित स्वास्थ्यकर्मी र प्राविधिक सेवारत छन् । दरबन्दी अनुसार एक जना जनस्वास्थ्य अधिकृत, फर्मासिस्ट र कविराजको अझै पदपूर्ती हुन सकेको छैन । केन्द्रमा इसिजी, थाइराइडलगायतको जाँच गर्ने उपकरणसमेत नरहेको प्रमुख सुवेदीले बताए । “उपकरण नहुँदा कतिपय बिरामीलाई अन्यत्रका अस्पतालमा रिफर गर्नुपर्ने बाध्यता छ”, उनले भने । केन्द्रमा सबैभन्दा बढी नसर्ने रोगका बिरामीहरु आउने गरेका छन् ।

बीमासँगै निःशुल्क स्वास्थ्य कार्यक्रम सञ्चालन भइरहेकाले केन्द्रमा सेवा लिन आउने बिरामीको जाप बढी हुने गरेको चिकित्सक खड्काले बताए । उनका अनुसार गत भदौयता झण्डै ११ हजार जनाले उक्त केन्द्रबाट सेवा लिएका छन् । केन्द्रले स्वास्थ्यचौकी तहबाट प्रदान हुने सबै सेवासहित सामान्य सर्जरी, प्रयोगशाला सेवा, सुरक्षित गर्भपतनलगायत सेवा प्रदान गदै आएको छ ।

प्रयोगशालामा हर्मोनलबाहेकका सबै परीक्षण सेवा उपलब्ध रहेको जनाइएको छ । “भौतिक पूर्वाधारसहित जनशक्ति र स्रोतको व्यवस्थापन गर्न सकेमा यो केन्द्रलाई सुविधासम्पन्न नगर अस्पतालका रुपमा विकास गर्न सकिन्छ”, प्रमुख सुवेदीले भने, “यसतर्फ महानगर नेतृत्वको ध्यान जानु जरुरी छ । ”


प्रकाशित मिति: २९ कार्तिक २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?