Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

नेपाल भाषालाई पाठ्यक्रममा समावेश गर्न सरकारले प्रक्रिया अगाडि बढाउँछ : प्रधानमन्त्री


भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भाषालाई पाठ्यक्रममा समावेश गर्न सरकारले प्रक्रिया अगाडि बढाउने बताएका छन् । शङ्खधर साख्वाः प्रतिष्ठानले आज मध्यपुरथिमिस्थित शङ्खधर साख्वाः चोकमा आयोजना गरेको नेपाल संवत्का प्रवर्तक एवं राष्ट्रिय विभूति शङ्खधर साख्वाःको प्रतिमामा माल्यार्पण गरेपछि उनले भाषा संस्कृति, सभ्यतालाई जोगाउन व्यक्तिगत र प्रधानमन्त्री दुवै हैसियतमा आफू तयार रहेको बताए ।

प्रधानमन्त्रीले नेपाल भाषालाई पाठ्यक्रममा समावेश गर्न प्रक्रिया अगाडि बढाउने बताउँदै प्रतिष्ठानका केही जायज माग राज्यको क्षमताअनुसार क्रमशः पूरा गरिने जानकारी दिए । उनले भने, “नेपाल भाषालाई पाठ्यक्रममा ऐच्छिक विषयका रुपमा समावेश गर्न माग गर्नुभएको छ, त्यो पूरा गर्न नसकिने माग हो जस्तो लाग्दैन, मैथिली, भोजपुरी जस्तै यसलाई पनि ऐच्छिक विषयका रुपमा पाठ्यक्रमा समावेश गर्न सकिन्छ । निर्णय नगरी यहाँ मैले बोल्न मिल्दैन ।”

सरकारीस्तरमा नेपाल भाषाको संरक्षणका लागि विभिन्न प्रयास भइरहेका तथा त्यस क्रममा राष्ट्रिय समाचार समिति, नेपाल टेलिभिजन र रेडियो नेपालबाट नेपाल भाषामा समाचार प्रकाशन एवं प्रसारण थालिएको प्रधानमन्त्रीले बताए । भक्तपुरलाई जीवित सङ्ग्रहालयका रुपमा लिइएको बताउँदै उनले यहाँका ऐतिहासिक कला, संस्कृति संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले शङ्खधर साख्वाःले त्यतिबेला नै देशभक्ति र राष्ट्रियताको परिचय दिएको बताए । मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुरथिमि नगरपालिकाले जिल्लाका ऐतिहासिक कला, संस्कृति, परम्परालाई विश्वभर फैलाउन आगामी पुसमा मध्यपुर महोत्सव आयोजना गर्ने जानकारी दिए ।

प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले नेपाल संवत् ११०० मा सुरु भएको भिन्तुना आन्दोलनबाट ठूलो उपलब्धि हासिल गरे पनि अझै धेरै गर्न बाँकी रहेकाले सरकारले त्यसतर्फ ध्यानदिनुपर्ने बताए । त्यस अवसरमा प्रधानमन्त्री ओलीले मध्पुरथिमिमा ६३ वर्ष पुरोना संस्था न्ह्यज्याः खलः थिमि र नेपाल संवतका अभियन्ता, भाषा आयोगका सदस्य एवं सञ्चारकर्मी सुरेशकिरण मानन्धरलाई शङ्खधर सम्मान प्रदान गरेका थिए ।


प्रकाशित मिति: १७ कार्तिक २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?