Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

बाढीबाट गण्डक नहरमा आठ करोडको क्षति, तत्काल निमार्ण नगरे गहुँखेती सिँचाइमा समस्या हुने


जनकपुरधाम । गत असोज ११, १२ र १३ गते अविरल वर्षासँगैको बाढीले गण्डक सिँचाइ प्रणालीमा रु. आठ करोड बराबरको संरचनामा क्षति भएको छ ।

नहर संरचनामा भएको क्षतिका कारण सिँचाई कार्यमा समस्या भएको नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगञ्जले जनाएको छ । पर्सा, बारा तथा रौतहटका ३७ हजार ४०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य रहेको गण्डक सिँचाइ प्रणालीमा क्षति भएपछि नहर पूर्ण रूपमा सञ्चालन तथा व्यवस्थापनमा समस्या भएको कार्यालय प्रमुख मनोज पटेलले जानकारी दिए ।

उनका अनुसार बाढीले रौतहटको राजपुर भेडरहियाको १२ नं ब्लकमा रु. दुई करोड, बाराको फेटामा रु. तीन करोड तथा पर्साको बहुदरमाई नगरपालिकामा पुलको साइफनसहित नहर भत्किँदा रु. तीन करोडको क्षति भएको छ । सिँचाइ प्रणाली अन्तर्गत नहरको डिल, कल्भर्ट, पुल तथा सहायक नहरलगायत संरचना पुनः निर्माण तथा मर्मतका लागि रु. आठ करोड खर्च लाग्ने प्रारम्भिक अनुमान रहेको कार्यालयका सूचना अधिकारी सुरेश साहको भनाइ छ ।

नहर छिटो मर्मतसम्भार नगरे गहुँको सिजनमा किसानको खेतसम्म सिँचाइ सुविधा पुर्‍याउन कठिनाई हुने जनाइएको छ । भत्केको नहरलाई सञ्चालन गर्न कार्यालयसँग प्रयाप्त बजेट नरहेकाले माथिल्ला निकायमा सोही अनुसार जानकारी गराइएको सूचना अधिकारी साहले बताए ।

नवलपरासीस्थित नेपाल भारत सीमामा निर्मित गण्डक ब्यारेजबाट उक्त नहरमा सिँचाइका लागि पानी आउने गरेको छ । उक्त ब्यारेजबाट दोन, त्रिवेणी तथा तिरहुत गरी तीन वटा नहर निमार्ण गरिएका छन् । दोन नहर भारतमै ९२ किमी पार गरेर पर्साको जगरनाथपुर गाउँपालिकाको जानकी टोलबाट नेपालमा प्रवेश गरेको छ ।

नेपालमा प्रवेश गरेपछि यो नहर पूर्वी नहरले चिनिन्छ । पर्सा, बारा र रौतहटमा गरी १५ ब्लकमा विभाजित नहरको लम्बाइ नेपालतर्फ ८१ किमी रहेको नारायणी सिँचाइ व्यवस्थापन कार्यालयले जनाएको छ ।

सन् १९७५ तथा १९७६ मा दुई चरणमा निर्माण गरी भारत सरकारले नेपाल सरकारलाई नहर हस्तान्तरण गरेको थियो । नहरबाट तीन जिल्लाका ३७ हजार चार सय हेक्टर जग्गामा सिचित गर्ने लक्ष्य भए पनि रौतहटमा लक्षित सिँचाइ सुविधा नहरले दिन नसकेको जनाइएको छ ।


प्रकाशित मिति: ११ कार्तिक २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?