काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा पक्राउ परेका छन् ।
जिल्ला अदालत कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले काठमाडौं स्थित रास्वपाको केन्द्रीय कार्यालय बनस्थलीबाट लामिछानेलाई पक्राउ गरेको हो ।
सभापति लामिछाने पक्राउ पर्नुअघि पार्टी कार्यालयमा उपस्थित शुभेच्छुक र कार्यकर्तालाई सम्बोधन गर्दै भने, ‘यो सरकारलाई भन्न चाहन्छु, अनुसन्धनमा सघाउन म तयार छु, साथीहरु सबै तयार छन्, हामी तयार छौं। तर, वर्षैसम्म एउटै व्यक्तिमाथि जुन जालझेल षड्यन्त्र भएको छ, यसका विरुद्ध प्रतिवाद हुन्छ। पक्राउ पूर्जी जारी गरेका छैनौं पनि भनिएको छ, विश्वस गर्ने आधार छैन। म छानबिनमा सघाउन जहिले पनि तयार छु।’
उनले कसैको राजनीति बन्न आफू बलिको बोका बन्नुपर्ने भन्दै प्रश्न पनि गरेका छन्। उनले भने, “सहकारीमा कुनै पनि किसिमको कमजोरी भएको मानिसलाई कारवाहीको सिफारिस गरेको हो। कसैको राजनीति जोगाउन मैले बलिको बोका बनिदिनुपर्ने ? राजनीतिमा प्रतिशोध मानिँदैन। पञ्चायतमा यस्तो हुन्छ, हामीले सुनेका थियौं।”
उनले आफ्ना कार्यकर्ता तथा शुभेच्छुकलाई धन्यवाद ज्ञापन पनि गर्दै भने, “यो साथ, माया, विश्वास र भरोसाका लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। एउटा सानो कुरा भन्छु, मैले केही बिराएको छैन। म डराएको पनि छैन। सबैलाई हेक्का रहोस्, रवि लामिछाने मान्छे बेचेर राजनीतिमा आएको होइन, बेचिएकालाई बचाएर आएको हो।”
प्रकाशित मिति: २ कार्तिक २०८१, शुक्रबार