काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको उत्तर-पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
कोशी प्रदेश,मधेश प्रदेश,वागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेश र बाग्मती प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भैरहेको छ ।
आज दिउँसो कोशी प्रदेश,मधेश प्रदेश,वागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा, मधेश प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र बाग्मती प्रदेशका एक- दुई स्थानमा भारी बर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानहरुमा हावा-हुरीको समेत सम्भावना रहेको छ ।
आज राती कोशी प्रदेश, मधेश प्रदेश, वागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानहरुमा हावा-हुरीको समेत सम्भावना रहेको छ ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न महाशाखाको अनुरोध छ । साथै यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ ।
प्रकाशित मिति: १७ आश्विन २०८१, बिहीबार