Trending
>>   भारतीय रुपैयाँको मूल्य अमेरिकी डलरको तुलनामा ८६.६० भन्दा बढीमा झर्यो >>   २०२४ मा इस्तानबुलमा मदिराको विषाक्तताबाट ४८ जनाको मृत्यु >>   बेलारुसमा राष्ट्रपति चुनावको तयारी >>   नेपाल उड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै >>   चार संसदीय समितिको बैठक बस्दै >>   मौसम :आज यी प्रदेशमा वर्षाको सम्भावना >>   अन्य व्यावसायिक लिगले राम्रो वातावरण सिर्जना गरेको छ– अध्यक्ष बेगानी >>   कम्युनिष्ट पार्टीका नेताले मुलुकको नेतृत्व गरे पनि जनता सन्तुष्ट भएनन्ः अध्यक्ष नेपाल >>   आज मिति २०८१ साल माघ ०२ गते बुधबार,हेर्नुहोस आजको राशिफल >>   गॊलि प्रहार गरी श्रीमतीको हत्या
Logo
२ माघ २०८१, बुधबार
२ माघ २०८१, बुधबार

सभामुखको रुलिङप्रति माओवादीको आपत्ति, प्रतिनिधि सभा बैठक आगामी आईतवार बस्ने


काठमाडौं।  नेकपा(माओवादी केन्द्र)ले सभामुखले गरेको रुलिङप्रति आपत्ति जनाउँदा प्रतिनिधि सभा बैठक आगामी आईतवारसम्म धकेलिएको छ ।

गत भाद्र १२ गतेको बैठकमा एमाले सांसद योगेश भट्टराईले माओवादी जनयुद्धलाई हिंसा भनेको भन्दै सो शब्द संसदको रेकर्डबाट हटाउन माओवादी केन्द्रले माग गरेको थियो । सभामुखले आवश्यक अध्ययन गरेर निर्णय लिन भन्दै सचिवालयलाई निर्देशन दिनुभएको थियो । सोही विषयको सन्र्दमा बुधवारको बैठकमा सभामुख देवराज घिमिरेले सांसद भट्टराईले प्रयोग गरेको हिंसा भन्ने शब्द असंसदीय नदेखिएको भन्दै संसदको रेकर्डबाट नहट्ने रुलिङ गर्नुभएको थियो । सो रुलिङ संविधान विपरित भएको भन्दै माओवादी केन्द्रका सांसदहरुले आपत्ति जनाएका हुन् । बैठकमा बोल्दै नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले आफूहरुले रुलिङको बिरोध गर्ने बताउनु भयो । संविधान विपरित हिंसा शब्द प्रयोग भएको भन्दै आफूहरुले त्यसलाई नमान्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हिंसाको विषयवस्तु संविधान विपरित छ । कानून विपरित छ । यस्तो किसिमको शब्द हुनुहुँदैन भनेर हामीले बारम्बार कुराकानी गरेका छौँ । के अब संविधानभन्दा यहाँ प्रयोग हुने शब्द फरक हुनुपर्ने हो ? यसैले म फेरिपनि सचिवालयलाई संविधान, कानुनलाई हेरेर आफ्ना विषयवस्तुहरुलाई, निर्णयहरुलाई आग्रह गर्दछु । संविधान मुख्य विषयवस्तु हो । माओवादी जनयुद्ध बारे जसरी संविधानमा उल्लेख भएको छ । जसरी शान्ति प्रक्रियामा कुरा उठेका छन् । यसमा नियतको विषयवस्तुको कुरा छ । माननीयले त्यो दिन जनयुद्धलाई होच्याउने र जनमुक्ति सेनालाई अपमानित गर्नुभएको छ । जुन व्याख्या आएको छ यसमा हाम्रो दल बिरोध गर्दछ । बेठिक भएको छ । संविधानभन्दा माथि कोही छैन ।’

लगत्तै नेकपा(एमाले)का सांसद रघुजी पन्तले हिंसा शब्द आफैँमा असंसदीय नभएको बताउनु भयो । उहाँले संसदमा कसैलाई व्यक्ति किटेर भन्न भने नपाइने बताउनु भयो । उहाँले सभामुखले संविधान र कानूनसम्मत रुलिङ गर्नुभएको भन्दै रुलिङलाई मानेर अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो – ‘हिंसा भन्ने शब्द आफैमा असंसदीय होइन । व्यक्तिलाई देखाएर भन्न पाइँदैन त्यो चाहीँ हो । आज सभामुखले जे रुलिङ गर्नुभएको छ, सभामुखको रुलिङमाथि पटक–पटक प्रश्न गर्नुपर्ने हाम्रो नियमावलीमा पाइँदैन । सभामुखले संविधान र कानूनसम्मत रुलिङ गरिसकेपछि त्यसलाई मानेर जाने हामी सबैको दायित्व हो ।’

बैठकमा बोल्दै नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले सभामुखको रुलिङप्रति माओवादी केन्द्रको गम्भीर आपत्ति रहेको बताउनु भयो । उहाँले सो शब्द सच्याउन माग गर्नुभयो ।

पुनः बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सभामुखको रुलिङ संविधान विपरित भएको भन्दै स्वीकार्य नहुने दोहो¥याउनु भयो । उहाँले भन्नुभयो – ‘रुलिङ संविधान विपरित । कानुन विपरित । हामीलाई यो विषय स्वीकार्य छैन । संविधान बाहिर गएर व्याख्या गर्न मिल्दैन । संविधानको बर्खिलाप हुन्छ । यो हामीलाई मान्य छैन । यो विषय हुँदैन ।’

यसरी माओवादी केन्द्रले सभामुखको रुलिङप्रति असन्तुष्टि व्यक्त गर्दा प्रतिनिधि सभा बैठक भदौ ३० गतेसम्मका लागि स्थगित गरिएको छ ।


प्रकाशित मिति: २६ भाद्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?