काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रिय समितिको बैठकले पार्टीलाई बलियो बनाइ एक्लै निर्वाचन जित्नसक्ने अवस्थामा पुर्याउने निर्णय गरेको छ ।
आईतवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रिय समितिको बैठकले पार्टीलाई बलियो बनाउने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले बैठकमा उपसभापति र महामन्त्री द्वयले राख्नुभएको, नीतिगत, सांगठनिक र समयसामयिक प्रश्तावउपर छलफल भएको बताएका छन् । उनले महामन्त्री गगनकुमार थापाले निर्वाचनअघि गठबन्धन गर्न नहुने प्रश्तावमाथि छलफल भइ सोही दिशामा अघि बढ्ने निर्णय भएको बताए ।
उनले काँग्रेसको संगठनलाई चुस्त, दुरुस्त रुपमा गाउँगाउँमा पुर्याउने, संगठनको अभियानलाई अगाडि बढाउने सम्बन्धमा निर्णय भएको बताए । सक्रिय सदस्यता नविकरण गर्ने, नयाँ सदस्यता दिने बारेमा पनि निर्णय भएको छ । त्यस्तै चुनावअघिको गठबन्धनबारे पार्टीलाई केन्द्रबिन्दुमा राखेर पार्टीलाई बलियो बनाउने, एकीकृत गर्ने निर्णय भएको बताएका छन् । उनले महाअधिवेशनका सन्दर्भमा पार्टीको विधानले व्यवस्था गरेअनुसार अधिवेशन समयमा नै सम्पन्न गर्ने निर्णय भएको बताए। महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक प्रश्तावमा उल्लेखित एग्जिट पोलिसीको सम्बन्धमा छलफल गर्दा निर्णय गर्न केन्द्रिय समितिले आवश्यक नठानेको र संविधानसँग पनि जोडिने भएकाले संविधान संशोधनका क्रममा छलफल अघि बढाउने निर्णय भएको बताएका छन् ।
उनले भने, ‘उपसभापति र महामन्त्री द्वयले प्रश्ताव राख्नुभएको थियो । छलफलमा संगठनसम्बन्धी जुन प्रश्ताव थियो, महामन्त्री गगनकुमार थापाद्वारा प्रश्तुत थियो । काँग्रेसको संगठनलाई चुस्त, दुरुस्त रुपमा गाउँगाउँमा पु¥याउने, संगठनको अभियानलाई अगाडि बढाउने सम्बन्धमा निर्णय भएको छ । सक्रिय सदस्यता नविकरण गर्ने, नयाँ सदस्यता दिने । गठबन्धनका सम्बन्धमा पनि जुन प्रश्ताव महामन्त्रीको प्रश्तावमा आएको थियो । अहिलेको परिवेशमा सबै कुरालाई मध्यनजर गरी पार्टीलाई नै केन्द्रबिन्दुमा राखेर पार्टीलाई बलियो बनाउने, एकीकृत गर्ने र पार्टी संगठनलाई बलियो बनाएर एक्लै जित्नसक्ने परिस्थिति निर्माण गर्ने भन्नेतिर नै निर्णय केन्द्रित भएको छ । महाअधिवेशनका सन्दर्भमा पार्टीको विधानले व्यवस्था गरेअनुसार अधिवेशन समयमा नै सम्पन्न गर्नेतर्फ जाने । अर्का महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक प्रश्तावमा उल्लेखित एग्जिट पोलिसीको सम्बन्धमा छलफल गर्दा अहिले नै यस विषयमा निर्णय गर्न आवश्यक केन्द्रिय समितिले ठानेन । यो संविधानको पनि विषयवस्तु हो । संविधान संशोधनका क्रममा यस विषयमा कसरी जानुपर्छ भन्ने बारेमा छलफल गर्न सकिन्छ भनेर निर्णय गरेका छैनौँ ।’
बैठकमा समसामयिक, राजनीतिक, आर्थिक अवस्था, जनताका आवश्यकता लगायतका बारेमा पनि छलफल र निर्णय भएको बताएका छन् ।
प्रकाशित मिति: १६ भाद्र २०८१, आईतवार