Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

पारालिम्पिकमा पलेशाले दिलाइन् नेपाललाई ऐतिहासिक पदक


काठमाडौँ। नेपालका पलेशा गोवद्र्धनले फ्रान्समा जारी पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोबाट काँस्य पदक जितेकी छन् । पारा तेक्वान्दो खेल नेपालमा शुरुवात भएको एक दशकमा नै यो खेलकी खेलाडी पलेशा गोवद्र्धनले ऐतिहासिक पदक दिलाएकी हुन् ।

पेरिसको ग्राण्ड प्यालेसमा शुक्रवार राती भएको पारा तेक्वान्दोको के–४४ क्याटागोरीअन्तर्गत महिला ५७ केजी तौलसमूहमा पलेशाले काँस्य पदक दिलाइन् । रिपाचेजमार्पत काँस्य पदकका लागि भएको प्रतिष्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिसेभमाथि १५–८ स्कोरको सनसनीपूर्ण जित निकाल्दै देशलाई ऐतिहासिक सफलता दिलाएकी हुन् ।

यो पदक नेपालको खेलकुद इतिहासमा नै सबैभन्दा ठूलो हो । नेपालले अहिलेसम्म ओलम्पिक र पारालिम्पिकमा पदक जित्न सकेको थिएन । जितपछि पलेशाका प्रशिक्षक कविराज नेगी लामाले यो सफलता सम्पूर्ण देशवासीको रहेको र जितको खुशी आफूले बयान नै गर्न नसकिने बताए । देशलाई ऐतिहासिक पदक दिलाउन पाउँदा धेरै खुशी रहेको उनी बताउँछन् । लामो समयपछि लक्ष्य र तपस्या पूरा भएको उल्लेख गर्दै प्रशिक्षक लामाले ऐतिहासिक पदकसहित देश आउन आतुर रहेको बताएका छन् । पलेशाले रिपाचेजको पहिलो खेलको फ्रान्सकी सोफी काभरजानलाई २–१ ले हराएकी थिइन् ।

उनले राउण्ड अफ १६ मा भेनेजुएलाकी मोरालेस भालेरियालाई ३१–० ले हराउँदै राम्रो शुरुवात गरेकी थिइन् । तर क्वार्टरफाइनलमा विश्व नम्बर ब्राजिलकी कार्डोसो फर्नान्डेस सिल्भानासँग १०–८ को साँघुरो अन्तरले पराजित हुन पुगिन् । यद्यपि उनले रिपाचेजमार्पत काँस्य पदकको लागि भएको प्रतिष्पर्धामा सफलता प्राप्त गरिन् । पलेशाले दोस्रोपटकको प्रयासमा पारालिम्पिकमा पदक जितेकी हुन् । सन् २०२० पारालिम्पिकमा पनि उनी काँस्य पदकको प्रतिष्पर्धामा चुकेकी थिइन् । सन् २०१२ देखि तेक्वान्दोका खेलाडी यादव कुँवरले पारा तेक्वान्दो खेल्न शुरु गरेका हुन् ।

दक्षिण कोरियामा भएको दुर्घटनामा हात गुमाएपछि तेक्वान्दोकै खेलाडी यादवले पारा तेक्वान्दो खेल्न शुरु गरेका थिए । उनले नै नेपाललाई पारा तेक्वान्दोमा पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका थिए । उनले सन् २०१३ मा स्विट्जरल्यान्डमा भएको चौथो विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा काँस्य र सन् २०१४ मा रसियामा भएको पाँचौं विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक जितेका थिए ।

हाल क्यानडामा रहेका यादवले पलेशाको सफलतासँगै जीवनको ठूलो लक्ष्य पूरा भएको प्रतिक्रिया दिए । पारा तेक्वान्दोमा आफूले देखेको सपना पलेशाले पूरा गरिदिएको उनको भनाइ छ । पारा तेक्वान्दोकै पूर्वप्रशिक्षक कल्याण कुँवरले पनि पलेशालाई बधाई दिँदै आफ्नो अधुरो सपना पूरा भएको बताए ।


प्रकाशित मिति: १५ भाद्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?