Trending
>>   मेडिकल व्यवसायी दुर्गा प्रसाईँ प्रहरी वृत्त सिंहदरबारको हिरासतमा फिर्ता >>   हनी ट्र्याप घटनामा इन्स्पेक्टरसहित ६ जनाविरूद्ध मुद्दा >>   कांग्रेस-एमाले गठबन्धन अर्को निर्वाचनसम्म रहन्छ : प्रकाश शरण महत >>   देशमा पश्चिमी वायुको सामान्य प्रभावः तीन प्रदेशमा पानी पर्ने सम्भावना >>   आज मिति २०८१ साल मङ्सिर ११ गते मंगलबार,हेर्नुहोस आजको राशिफल >>   शहीदहरुको सपना पूरा गर्न काँग्रेस सधैं लाग्छ : देउवा >>   राष्ट्रिय शहरी नीतिलाई मूर्त रुप दिन तदारुकताका साथ काम गर्दैछौंः उपप्रधानमन्त्री सिंह >>   सूर्य नेपाल सेन्ट्रल ओपनः तोरण विक्रम शाही शीर्ष स्थानमा >>   धितोपत्र बोर्डको अध्यक्षमा सन्तोष नारायण श्रेष्ठ नियुक्त >>   ब्लाइण्ड टी २० विश्वकपमा नेपालको पहिलो जित
Logo
११ मंसिर २०८१, मंगलवार
११ मंसिर २०८१, मंगलवार

नेपालको जनसंख्या सार्वजनिक, पुरूषभन्दा महिला करीब ७ लाख बढी


१० चैत्र, काठमाडाैँ । नेपालको संविधानले महिलालाई अधिकार सम्पन्न बनाएपछि सम्पत्तिमा समेत उनीहरुको स्वामित्व क्रमशः वृद्धि हुँदै गएको पाइएको छ ।

राष्ट्रिय जनगणना २०७८ को विवरणअनुसार कूल २३ दशमलव आठ प्रतिशत परिवारमा महिलाको नाममा घर जग्गा रहेको पाइएको छ । जुन २०६८ को तुलनामा एक दशमलव एक प्रतिशतले बढी हो ।

देशभर कूल ६६ लाख ६६ हजार नौ सय ३७ परिवार सङ्ख्या रहेको छ । आवासीय घर भने कूल ६६ लाख ६० हजार आठ सय ४१ रहेको छ । त्यसमध्ये घर तथा आवासीय इकाइको स्वामित्वमा समेत महिलाको सहभागितामा वृद्धि भएको छ । कूल ३१ दशमलव ५५ प्रतिशत परिवारमा परिवारमूली महिला रहेको छ । जुन, २०६८ को तुलनामा पाँच दशमलव ८२ प्रतिशत बढी हो ।

कूल दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ जनसङ्ख्या रहेकामा महिलाको सङ्ख्या एक करोड ४९ लाख ११ हजार २७ जना महिला छन् ।

त्यस्तै, एक करोड ४२ लाख ५३ हजार पाँच सय ५१ पुरुष छन् । लैङ्गिक अनुपातमा हेर्दा कूल एक सय जना महिलामा पुरुषको सङ्ख्या ९५ दशमलव ५९ छ । विसं २०६८ को कूल जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार पाँच सय चार रहँदा त्यस्तो लैङ्गिक अनुपात ९४ दशमलव १६ थियो ।

हिमाल र पहाड खाली हुँदै, तराईमा बढ्यो चाप

जनगणनाको विवरणअनुसार हिमाली तथा पहाडी क्षेत्रमा जनघनत्व क्रमशः कम हुँदै गएको पाइएको छ । तराईमा प्रतिवर्गकिलोमिटर चार सय ६० बराबरको जनघनत्व रहँदा हिमाली क्षेत्रमा ३४ जना प्रतिवर्गकिलोमिटर रहेको छ । मनाङमा प्रतिवर्गकिलोमिटर तीनजना बराबरको मात्रै जनघनत्व रहेको छ । काठमाडौँ उपत्यकामा प्रतिवर्गकिलोमिटर पाँच हजार एक सय ६९ बराबरको जनघनत्व छ ।

प्राप्त विवरणअनुसार सबैभन्दा बढी जनसङ्ख्या काठमाडौँ जिल्लामा रहेको छ । यस जिल्लामा कूल २० लाख ४१ हजार पाँच सय ८७ जनसङ्ख्या छ । मनाङमा कूल पाँच हजार छ सय ५८ जनाको अक्सर बसोबास रहेको छ । मोरङ, रुपन्देही, झापा र सुनसरीमा सबैभन्दा बढी जनसङ्ख्याको चाप परेको छ ।

यस्तै, मुस्ताङ, डोल्पा, रसुवा, हुम्लामा भने जनसङ्ख्या कम रहेको छ । तराई कूल जनसङ्ख्याको ५३ दशमलव ६१ प्रतिशत जनसङ्ख्या रहेको छ । त्यो भनेको तराई क्षेत्रमा मात्रै एक करोड ५६ लाख ३४ हजार छजनाको बसोबास रहेको छ । पहाडमा ४० दशमलव ३१ प्रतिशत अर्थात् एक करोड १७ लाख ५७ हजार छ सय २४ बराबरको बसोबास छ । हिमाली क्षेत्रमा छ दशमलव शून्य आठ प्रतिशत अर्थात् १७ लाख ७२ हजार नौ सय ४८ को बसोबास छ ।

दश वर्षपहिले तराईमा ५० दशमलव २७ प्रतिशत, पहाडमा ४३ दशमलव शून्य एक प्रतिशत र हिमाली क्षेत्रमा छ दशमलव ७३ प्रतिशत जनसङ्ख्याको बसोबास थियो । अक्सर हाल बसोबास गरिरहेका गाउँपालिका र नगरपालिकाबाट अर्को स्थानमा कहिल्यै बसाबोस नगरेका व्यक्तिहरु ६८ प्रतिशत छन् । कूल जनसङ्ख्याको १० दशमलव आठ प्रतिशत व्यक्तिले यसअघि बसोबास गरेको स्थानबाट अर्को गाउँपालिका वा नगरपालिकामा बसाइँसराइ गरेका छन् । १८ दशमलव दुई प्रतिशत जनसङ्ख्या अर्को जिल्लामा र तीन दशमलव एक प्रतिशत बराबर जनसङ्ख्या भने विदेश पलायन भएको छ । कूल ९३ लाख ४१ हजार चार सय आठजनाले बसाइँसराइ गरेको पाइएको छ ।

यसअघिको बसोबास गरेको स्थानबाट बसाइँसराइ गर्नुको खास कारण भने काम रोजगारी, व्यापार–व्यवसाय, अध्ययन, तालिम, आश्रित, प्राकृतिक प्रकोप, कृषिलगायत छन् ।


प्रकाशित मिति: १० चैत्र २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?