Trending
>>   सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा निर्वाचन मतपत्र ढुवानीको काम सम्पन्न >>   कामनपा वडा-१९, यटखा बहालमा फायर हाइड्रेन्ट पोइन्ट पाइपलाइनको उद्घाटन (तस्बिरसहित) >>   धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने >>   वागमती प्रादेशिक ललितकला प्रदर्शनी शुरु (तस्बिरसहित) >>   बैंक खाता खोल्ने काममा ढिलाई नगर्न उम्मेदवारहरुलाई निर्वाचन आयोगको ताकेता >>   ‘संविधान कार्यान्वयन नगर्ने राजनीतिक दलहरूले चुनावी घोषणापत्र कसरी कार्यान्वयन गर्छन् ?’ >>   राष्ट्रिय सभा अध्यक्षद्वारा निर्माणाधीन संसद भवनको अवलोकन (तस्बिरहरु) >>   निर्वाचन नहुने संशय हट्योः अर्थमन्त्री >>   दलहरुको घोषणापत्रः आर्थिक एजेण्डा प्रमुख प्राथमिकतामा >>   हतियार नत्यागे ‘कडा कारबाही’ गर्ने हमासलाई ट्रम्पको चेतावनी
Logo
८ फाल्गुन २०८२, शुक्रबार
८ फाल्गुन २०८२, शुक्रबार

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध


दमौली । तनहुँका विभिन्न ठाउँमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । बिहीबार रातिदेखि परेको वर्षाका कारण आज बिहान विभिन्न ठाउँमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पा, व्यास नगरपालिका–१२ घाँसीकुवा, म्याग्दे गाउँपालिका–६ मौरीओडारमा आज बिहान पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ ।

याम्यामा बिहान ४ बजे गएको पहिरो हटाइए पनि रुख ढलेर पुनः राजमार्ग अवरुद्ध भएको छ । निर्माणाधीन मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) को निर्माण कम्पनीको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

यस्तै बन्दीपुर गाउँपालिका–५ नयाँपुल नजिकसमेत पहिरोले सडक अवरुद्ध भएको छ । पहिरोका कारण व्यास –१२ कमलबारी नजिकसमेत बाटो अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिनुभयो । यस्तै व्यास–१२ घाँसीकुवामा पहिरो खस्दा यो खण्डसमेत अवरुद्ध भएको छ । पहिरोका कारण सडक छेउ रहेका मेसिन समेत केही पुरिएको छ । डोजरलगायतका मेसिन पुरिएर बाहिर निकाल्न नपाउँदा अन्यत्र पहिरो पन्छाउन जान सकिएको छैन । यस्तै म्याग्दे –६ मौरीओडारमा समेत पहिरो जाँदा उक्त खण्ड अवरुद्ध भएको छ ।

त्यस्तै वर्षाका कारण बुल्दीखोला बस्तीमा पस्दा तनहुँको व्यास–४ तल्लो सिमलटारका ४० घर डुबानमा परेका छन् । बुल्दीखोलामा आएको बाढीले खोला बस्तीमा पस्दा तल्लो सिमलटारका करिब ४० घर डुबानमा परेका हुन् ।

बुल्दीखोलाको बाढीले यहाँका घरका तल्लो कोठा र सटरमा रहेका सामग्री बगाएको स्थानीय श्रीराम कार्कीले जानकारी दिए । रातिको समयमा आएको बाढीका कारण मानवीय क्षति नभए पनि आर्थिक नोक्सानी भएको उनको भनाइ छ ।

उनले भने, “खोला पसेर घरको तल्लो कोठा र सटरमा रहेका सरसामान, फर्निचरलगायतमा ठूलो क्षति पुगेको छ । मानवीय जोखिम रहँदा हारगुहार गरी ज्यान बचाउन सफल भइएको छ । बस्ती जोखिममा रहेकाले सुरक्षित गर्न तुरुन्तै उच्च तारबार बलियो बनाउनुपर्ने अवस्था आएको छ ।”

कृष्णपुरको कजवे भत्काएर बेलिब्रिजको व्यवस्थापन गर्न र बस्ती सुरक्षित गर्न आवश्यक रहेको उनले बताए । स्थानीय सोमबहादुर आलेले बाढीका कारण घरको तल्लो तल्लामा क्षति पुगेको जानकारी दिए । उनले भने, “बिहान अचानक बाढी आउँदा सबै भागाभाग भयो, अधिकांश घरमा बाढी पसेर क्षति पुगेको छ ।” जिल्ला प्रहरी कार्यालय तनहुँले क्षतिको विवरण आउन बाँकी रहेको जनाएको छ ।


प्रकाशित मिति: २८ असार २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?