Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

विश्व शान्ति स्थापनामा नेपालले पुर्याएको योगदानको अमेरिकामा प्रशंसा


काठमाडौं । संयुक्त राष्ट्रसंघले विश्व शान्ति स्थापनाका लागि नेपालले पुर्याएको योगदानको प्रशंसा गरेको छ । राष्ट्रसंघीय शान्ति विभागका प्रमुख एवं उपमहासचिव जीन पियरे ल्याक्रोइक्सले अमेरिकामा जारी चौथो संयुक्त राष्ट्रसंघीय प्रहरी सम्मेलनका क्रममा नेपाली प्रतिनिधिमण्डलसँगको भेट गर्दै विश्व शान्ति स्थापनार्थ नेपालको महत्त्वपूर्ण योगदान रहेको बताएका हुन् ।

भेटपछि ट्वीट गर्दै ल्याक्रोइक्सले भनेका छन्, ‘युएन पुलिस समिटमा नेपाली प्रतिनिधिमण्डलसँग उत्कृष्ट छलफल भयो । राष्ट्रसंघीय शान्ति स्थापना र राष्ट्रसंघीय प्रहरीमा नेपालको महत्त्वपूर्ण योगदानका लागि प्रशंसा गर्ने अवसर पाएकोमा आभारी छु ।’

युएनस्थित नेपाल मिसनले पनि उपमहासचिव ल्याक्रोइक्ससँगको भेटमा सहयोग अभिवृद्धिबारे छलफल भएको जनाएको छ । मिसनकाअनुसार नेपाली प्रतिनिधिमण्डलले डिपार्टमेन्ट अफ अपरेसन सपोर्टका उपमहासचिव अतुल खरेसँग पनि भेटेको छ । दुबै जनासँगको भेटमा राष्ट्रसंघीय प्रहरीमा सहभागिता तथा शान्ति स्थापनार्थ नेपाल र राष्ट्रसंघबीच सहयोगलाई सुदृढ बनाउने विषयमा छलफल भएको नेपाल प्रहरीका प्रवक्ता डिआईजी दानबहादुर कार्कीले जानकारी दिए ।

गृहसचिव एकनारायण अर्यालको नेतृत्वमा पाँच सदस्यीय नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्यूयोर्कमा जारी युनाइटेड नेसन चिफ अफ पुलिस समिटमा सहभागी छ । सम्मेलनलाई सम्बोधन गर्दै गृहसचिव अर्यालले राष्ट्रसंघीय प्रहरीमार्फत विश्व शान्ति र सुरक्षामा योगदानका लागि नेपाल निरन्तर प्रतिबद्ध रहेको बताए । उच्चतम प्रविधिको विकाससँगै द्वन्द्वको बढ्दो जटिलताका विषय उजागर गर्दै गृहसचिव अर्यालले द्वन्द्वका मूल कारणहरूलाई सम्बोधन गर्नुपर्ने आवश्यकतालाई जोड दिएका थिए ।

राष्ट्रसंघीय प्रहरी सम्मेलनमा भाग लिन गृहसचिव अर्यालको नेतृत्वमा नेपाल प्रहरीका आईजीपी बसन्त कुँवर, सशस्त्र प्रहरी आईजीपी राजु अर्याल, नेपाल प्रहरीका प्रवक्ता डिआईजी दानबहादुर कार्की र सशस्त्रका एसएसपी १० असारमा अमेरिका प्रस्थान गरेका थिए ।


प्रकाशित मिति: १४ असार २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?