Trending
>>   पोखरामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु >>   प्रश्तावित चार न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदन >>   गगन थापालाई ‘भिलेन’ नबनाऊँः डा. शशांक कोईराला >>   गगनलाई देउवाको आरोपः पैसामा पार्टी बेच्नेले काँग्रेस जोगाउँछ ? >>   नेपाल संवत ११४७ को स्वागतमा काँग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी(तस्बिरसहित) >>   लायन्स क्लब अफ काठमाडौं ब्राइट स्टारको रक्तदान कार्यक्रम सम्पन्न >>   काग तिहारमा रत्नपार्कमा काग सम्मेलन >>   तिहार र छठमा विद्युत आपूर्ति सहज बनाउन प्राधिकरणको विशेष तयारी >>   बेलिब्रिज राख्नु जोखिमपूर्ण, वर्षायामअघि हटाउन सडक विभागको चेतावनी >>   अदालतलगायत राज्यका संस्थालाई कमजोर बनाउने गतिविधि रोकौँः रवि लामिछाने
Logo
२२ कार्तिक २०८३, आईतवार
२२ कार्तिक २०८३, आईतवार

स्वास्थ्य मन्त्री यादवले नारायणी अस्पतालको अनुगमनमा


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले मङ्गलवार गृह नगर वीरगञ्जस्थित नारायणी अस्पतालको अनुगमन गर्नुभएको छ । मङ्गलवार बिहानै वीरगञ्ज पुग्नुभएका मन्त्री यादवले मधेस प्रदेशकै प्रमुख स्वास्थ्य केन्द्रका रूपमा परिचित नारायणी अस्पतालस्थित ओपिडी, फार्मेसी, पोस्टअप, ल्याबलगायत अनुगमन गर्दै त्यहाँ उपचाररत बिरामी र कुरुवासँग समेत कुराकानी गर्नुभएको हो ।

कुराकानीका दौरान मन्त्री यादवले उहाँहरूसँग उपचार, चिकित्सक र स्वास्थ्यकर्मीहरूले गर्ने व्यवहार, औषधीको उपलब्धता र अस्पतालमा उपलब्ध अन्य सेवाको गुणस्तरका बारेमा बुझ्नुभयो । बिरामीहरूले अस्पतालस्थित फार्मेसीमा सबै प्रकारका औषधी उपलब्ध नरहेको, ओपिडी टिकट काट्ने काउन्टरमा बढी भिडभाड रहेको, चिकित्सकहरू ओपिडीमा पर्याप्त समय नदिएको गुनासो गर्नुभयो ।

मन्त्री यादवले बिरामीले गर्नुभएको गुनासोलाई यथाशीघ्र सम्बोधन गर्न अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. एनामुल हकलाई निर्देशन दिनुभयो । फार्मेसीमा औषधीको व्यवस्थापनका लागि मन्त्रालयसँग बजेट माग गर्न र ओपिडी सेवाका लागि आउनुहुने बिरामीको सहजताका निमित्त टिकट काउन्टर थप्दै सो स्थानलाई वातानुकूलित बनाउन पनि निर्देशन दिनुभयो ।

अनुगमन पश्चात् मन्त्री यादवले अस्पताल विकास समितिका सदस्य, मेसु, चिकित्सक र अन्य स्वास्थ्यकर्मीहरूसँग पनि छलफल गर्नुभयो । सो क्रममा मेसु डा. हकले भवन पुरानो हुँदा बिरामीहरूको उपचारमा समस्या आइरहेको दुखेसो पोख्नुभयो । उहाँले भन्नुभयो, ‘अस्पतालमा रहेका अधिकांश भवनहरूको अवस्था जर्जर छ । वर्षायाममा पानी चुहिँदा बिरामीहरूको उपचारमा कठिनाइ आउँछ ।’

डा. हकले नारायणी अस्पताल ३५० बेडमा स्तरोन्नति भएको वर्षौँ बितिसक्दा पनि कर्मचारी दरबन्दी सय बेड अनुसार कै रहेको बताउनुभयो । ‘दरबन्दी नहुँदा जनशक्ति अभाव छ । हामीले अपेक्षित ढङ्गबाट सेवा प्रवाह गर्न सकेका छैनौँ । बेड अनुसारको दरबन्दी कायम गर्न मेरो आग्रह छ,’ उहाँले भन्नुभयो । त्यस्तै उहाँले क्वाटर, मेसिनरी र अन्य पूर्वाधार अभाव लगायतका समस्या पनि रहेको बताउनुभयो ।

मन्त्री यादवले अदालतमा विचाराधीन रहेको अस्पताल भवन निर्माणको मुद्दालाई फास्ट ट्र्याकमा सम्बोधन गर्न आफू लागिपरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अस्पतालको भवन निर्माणका लागि सबै प्रक्रिया अगाडि बढेपनि केही स्वार्थी व्यक्तिले अदालतमा मुद्दा हालेको कारण काम अगाडि बढेको छैन । मैले प्रधानमन्त्री र कानुन मन्त्रीसँग भेटेर फास्ट ट्र्याकमा मुद्दाको फैसला गर्न आग्रह गरेको छु । मुद्दा फैसला भएसँगै भवन निर्माणको काम द्रुतगतिमा अगाडि बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

उहाँले अस्पतालको पूर्वाधार विकासदेखि औषधि उपकरण खरिदका लागि पनि आफूले मन्त्रालयबाट विभिन्न प्याकेजहरू घोषणा गरेको जानकारी दिनुभयो । त्यस्तै उहाँले समग्र देशको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनका लागि पूर्व स्वास्थ्य मन्त्रीसँग सहकार्य गर्दै विज्ञहरूको सुझाव अनुसार आफू काम गरिरहेको बताउनुभयो ।

मन्त्री यादवले मेसु डा. एनामुल हकलाई अस्पतालका विद्यमान समस्याहरूको सूची तयार पारेर छिटै मन्त्रालय आउन निर्देशन पनि दिनुभयो । ‘मेसु सा’ब समस्याहरूको सूचीसँगै तत्कालै, मध्यकालीन र दीर्घकालीन समाधानका उपायसहितको एउटा रिपोर्ट तयार पारेर तपाईँ मन्त्रालय आउनुहोस्,’ उहाँले भन्नुभयो, ‘बजेट व्यवस्थापन मेरो जिम्मामा छ । के गर्नुपर्छ गर्छु तर नारायणी अस्पतालमा सुधार हुन्छ ।’

त्यसै गरी अनुगमनमा सहभागी रहनुभएका वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले नारायणी अस्पतालको स्तरोन्नतिलाई आफ्नो प्रमुख एजेण्डा बनाएर काम गर्न मन्त्री यादवसँग आग्रह गर्नुभयो । उहाँले सोका लागि आवश्यक सम्पूर्ण सहयोग वीरगञ्ज महानगरपालिकाले उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

मेयर सिंहले कर्मचारी क्वाटर निर्माणका लागि जग्गा उपलब्ध गराउने घोषणा समेत गर्नुभयो । ‘मन्त्रीज्यूले बजेटको सुनिश्चितता गर्नुहोस्, क्वाटर र अन्य पूर्वाधार निर्माणका लागि जग्गा महानगरपालिकाबाट म उपलब्ध गराउँछु,’ उहाँले भन्नुभयो ।

अनुगमनमा अस्पताल विकास समितिका अध्यक्ष धिरज गुप्ता, पूर्व प्रदेश सभा सदस्य जनत अन्सारी लगायतको पनि सहभागिता रहेको थियो ।


प्रकाशित मिति: २९ जेष्ठ २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?