Trending
>>   ११ जिल्ला न्यायाधीशको सरुवा, को पुगे कहाँ ?(सूचीसहित) >>   अर्थमन्त्री विष्णु पाैडेलकाे कमालः आर्थिक वर्षको चार महिनामा १७ प्रतशितले राजस्व वृद्धि ! >>   राष्ट्रपति पौडेलबाट भारतीय सेनापति द्विेदीलाई नेपाली सेनाको मानार्थ महारथी पद प्रदान( फाेटाे फिचर) >>   नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग >>   ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाल पक्राउ >>   सडक र खोला मापदण्ड खारेजको माग गर्दै र्‍याली >>   बाढीबाट भएको क्षतिको विवरण सङ्कलन गर्दै कृषि मन्त्रालय >>   नेपाल–भारत सैन्य सहकार्य वार्ता आज >>   भारतको उत्तरप्रदेशमा बस र ट्रक ठोक्किंदा ५ जनाको मृत्यु >>   आज मन्त्रिपरिषद् बैठक बस्दै
Logo
७ मंसिर २०८१, शुक्रबार
७ मंसिर २०८१, शुक्रबार

जलवायु परिवर्तनको असर न्युनिकरणमा योगदान गर्न विश्व समुदायलाई राष्ट्रपतिको अपिल


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको असर न्यूनीकरणमा योगदान गरेर भावी पुस्ताको भविष्य सुरक्षित गर्न विश्व समुदायलाई अपिल गर्नुभएको छ । विश्व वातावरण दिवसको अवसरमा राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले विश्वव्यापी उष्णताको बढ्दो प्रभावबाट तिव्ररुपमा हिमशृङ्गखलाहरू र हिमतालहरूमा आएको परिवर्तनले तल्लो तटीय क्षेत्रमा बाढी पहिरो लगायतको प्रकोपहरूले त्यस क्षेत्रका वासीन्दाहरूका लागि आधारभूत जीवनयापनका चुनौतीहरु थपिँदै गएको पनि उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो–‘जलवायु परिवर्तन, प्रदूषण र जैविक विविधताको ह्रास जस्ता अन्तरसम्बन्धित संकटहरूसँग नेपाललगायत सम्पूर्ण विश्व जुधिरहेको छ । एक्लो प्रयासले यी संकटहरू समाधान हुन सक्दैनन् भन्ने कुरामा हामी प्रष्ट छौं ।’ राष्ट्रपति पौडेलले विश्व वातावरण दिवसको मूल नारा ‘हाम्रो भूमि, हाम्रो भविष्यः भूमि पुनस्र्थापना,मरुभूमिकरण र खडेरी प्रतिरोध’ ले हाम्रा अगाडि रहेका साझा चुनौती र अवसरहरूलाईसमेत प्रष्ट पारेको उल्लेख गर्नुभयो ।

उहाँले गत वर्ष संयुक्त राष्ट्रसंघका महासचिव श्री एन्टोनियो गुटेरसले नेपालको भ्रमणका अवसरमा भन्नुभएको स्मरण गर्दै भन्नुभयो–‘नेपालका हिमालले भोग्नु परेको संकटका लागि विश्वसामु अझ जोडदार ढंगले प्रस्तुत गर्नु भएको थियो । वहाँकै शब्दमा जलवायु परिवर्तनको उच्च जोखिममा रहेका नेपाललगायत अन्य पर्वतीय मुलुकहरु एउटा विश्वव्यापी संकटको भूमरीमा फसेका छन् जस्को सृजनामा उनीहरुको आफ्नै योगदान नगण्य छ । म आव्हान गर्न चाहन्छु की यस गम्भिर मुद्दालाई सम्बोधन गर्न विश्व समुदाय एकत्रित भएर लागौँ । हामीलाई अझै ढिला गर्ने सुविधा छैन ।’

जलवायु परिवर्तनको विश्वव्यापी मुद्दाहरूको सम्बोधनमा नेपालले राष्ट्रियस्तरमा विभिन्न कार्यहरू गर्दै आएको बताउदै सरकारको नीति तथा कार्यक्रममा घोषणा गरिएको राष्ट्रपति जलवायु परिवर्तन व्यवस्थापन कार्यक्रमले जलवायु परिवर्तनका नकरात्मक असर न्यून गर्दै अनुकुलन क्षमता वृद्धि गरी उत्थानशीलता हासील गर्न सहयोग गर्ने बताउनुभयो । उहाँले सो कार्यक्रमले उच्च हिमशृङखला र नदी प्रणालीलाई जीवन्त राख्दै हिमाल, पहाड र तराई क्षेत्रमा जलवायु परिवर्तनबाट परेका असरलाई एकिकृत र सन्तुलित रुपमा सम्बोधन हुने बताउनुभयो ।

राष्ट्रपति पौडेलले विश्व वातावरण दिवसको यस अवसरलाई जीवन, समृद्धि, र आशाको शक्तिशाली प्रतीकको रूपमा बिरुवा रोपेर मनाउँन गइरहेको उल्लेख गर्दै यो एउटा प्रतीकात्मक इशारा हो जसले भावी पुस्ताहरूका लागि वातावरण संरक्षण गर्ने हाम्रो अटल समर्पणलाई झल्काउँने बताउनुभयो । राष्ट्रपति पौडेलले वातावरण संरक्षणका लागि चौतारी र पोखरीको हाम्रो पुरानो सभ्यताको जगेर्ना गर्न आवश्यक रहेको बताउनुभयो ।

साे क्रममा राष्ट्रपति भवन परिसरमा राष्ट्रपति पाैडैलले पलाँसकाे बिरुवा राेपेर बृक्षाराेपरणकाे शुभारम्भ गर्नुभएकाे थियाे भने उपराष्टपति रामसहाय यादव, प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले बृक्षाराेपरण गर्नुभएकाे थियाे ।कार्यक्रममा मुख्य सचिव बैकुण्ठ अर्याल, प्रधानसेनापति प्रभुराम शर्मा, सुरक्षा निकायका प्रमुखहरू, विभिन्न देशका राजदुत तथा दातृ निकायका प्रमुखहरूकाे उपस्थिति रहेकाे थियाे ।


प्रकाशित मिति: २३ जेष्ठ २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?