Trending
>>   रुस र इरानबीच व्यापक रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर >>   टर्किएको एजियन सागरमा ३ आप्रवासीको मृत्यु >>   ‘लाखौँ युवाको भविष्य जोडिएको त्रिभूवन विश्वविद्यालय भद्रगोल तरिकाले चलाउन हुँदैन’ >>   करिब १ सय ९५ किलोग्राम गाँजा सहित एक जना पक्राउ >>   युगाण्डाले पायो अफ्रिका सीडीसीबाट एमपक्स खोपको २ हजार डोज >>   राज्यका नीतिअनुसार गरेका काम र उपलब्धीहरु वार्षिक प्रतिवेदनमा समेट्न सरकारलाई निर्देशन >>   शहीदहरुको स्मरणमा मधेस भवन परिसरमा वृक्षारोपण >>   ‘पुँजीगत खर्च न्युन हुनुमा दोषि को हो ?’ >>   राहदानी, सवारी लाइसेन्स लगायतका सेवालाई ई–गभर्नेन्स कमिसनले काम गर्दैछः मुख्यसचिव अर्याल >>   अमेरिकी सर्वोच्च अदालतद्वारा टिकटकमाथिको प्रतिवन्ध सदर
Logo
६ माघ २०८१, आईतवार
६ माघ २०८१, आईतवार

२ हजार ८१ जनालाई निःशुल्क दिइने ‘सिपमूलक तालिम’ भोलिबाट


काठमाडौँ । २ हजार ८१ जनालाई निःशुल्क सिपमुलक तालिम दिने लक्ष्यसहित काठमाडौँ महानगरपालिकाले भोलि (वैशाख १९) गते विश्व मजदुर दिवसको अवसरमा पारेर तालिम कार्यक्रम थालनी गर्दैछ । ‘सिप मेला २०८१’ नामबाट सञ्चालन हुने तालिमका बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, सिपयुक्त जनशक्तिको माग र आपूर्तिका बिचमा ठूलो खाडल रहेको उल्लेख गर्दै, रोजगारदातालाई सिपयुक्त जनशक्ति उपलब्ध हुने, युवाहरुलाई योग्यताअनुसारको रोजगार प्राप्त हुने वातावरणका लागि सिपमूलक तालिमको आयोजना गरिएको जानकारी दिनुभयो ।

‘आन्तरिक रुपमै रोजगारीका थुप्रै सम्भावना छन् भन्ने देखाउनु, सिप नभएर अनौपचारिक क्षेत्रको अर्थतन्त्रमा बसिरहेका जनशक्तिलाई रोजगारी र उद्यमका अवसरबाट औपचारिक अर्थतन्त्रमा रुपान्तरण गराउनु तालिमको लक्ष्य हो ।’ उपप्रमुख डंगोलले भन्नुभयो, ‘तालिममा सहभागी सबैलाई ‘रोजगार’, ‘स्वरोजगार’ वा ‘अन द जब टे«निङ्, ओजेटी’ मध्ये एउटा विधामा आवद्ध गराउने निश्चित गरेर तालिम थालनी गर्दैछौँ ।’

कार्यक्रममा महानगरपालिकाका सहप्रवक्ता दीपक अधिकारीले, तालिम तालिकाका बारेमा बारेमा जानकारी गराउँदै तालिम गराउन इच्छा भएका तर अनलाइन फाराम भर्न छुटेका व्यक्तिहरु तालिम स्थलमै आएर फाराम भर्न सक्ने बताउनुभयो ।

‘शिक्षालाई सिपसँग’, ‘सिपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोडेर सिप नहुनेलाई सिपयुक्त बनाउनु, सिप भएकालाई रोजगार तथा स्वरोजगार बनाउनु, रोजगारमा भएका तर सिप नभएकाहरुको व्यावसायिक स्तर वृद्धि गराएर आयमा वृद्धि गराउनु तालिम सञ्चालनको मुख्य लक्ष्य हो । १ महिनामा २ हजार ८१ जनालाई उच्च माग भएका पेशासँग सम्बन्धित निःशुल्क तालिम उपलब्ध गराउनु कार्यक्रमका क्रियाकलाप हुन् ।

तालिममा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल (हिसान), नेपाल उद्योग परिसंघ (सीएनआइ), नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ (एफपी टीइएन), ग्लोकल, सिप्रदी ट्रेडिङ् र सीसीटिभी स्टेशन एण्ड स्मार्ट होमसँग तालिम सञ्चालन गर्न सहकार्य भएको छ । यसरी रोजगारदाता (सरकारी, गैरसरकारी, निजी, उद्योग तथा वाणिज्य क्षेत्र, दातृ निकाय), शैक्षिक क्षेत्र (विद्यालय, विश्वविद्यालय र तालिम प्रदायक संघ संस्था), सामाजिक क्षेत्र सबै एकै ठाउँ भएर साझा नतिजाका लागि काम भइरहेको, सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिनुभयो ।

सिप विकासका लागि महानगरपालिकाले सञ्चालन गरेका अरु पनि तालिमका कार्यक्रम छन् । सामुदायिक विद्यालयको कक्षा ९ र १० मा ‘पुस्तकरहित शुक्रबार’ कार्यक्रमअन्तर्गत छोटो अवधिको सिपमूलक तालिम सञ्चालन हुन्छ । महानगर गौरव योजनाअन्तर्गत ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रममा ३४ भन्दा धेरै पेशाका सिपमूलक तालिम छन् । ‘साइबर सेक्युरिटी’ मा ४ हजार व्यक्ति तालिम प्रदान गरिँदैछ । नजानेकालाई सिप सिकाउने, सिपको आधारभूत तालिम लिएकालाई स्तरोन्नति गराएपछि बजारमा सिपयुक्त जनशक्ति उपलब्ध हुनेछन् । यी सबै कार्यक्रमबाट उत्पादन भएका जनशक्तिहरुलाई ‘सिप मेला’ मा रोजगारदाताहरुसँग सम्पर्क गराउनु मेला आयोजनाको अर्को उद्देश्य हो ।

व्यावसायिक सिपका विषयमा जागरण सिर्जना हुने, समुदाय स्तरमा तालिम सञ्चालनको वातावरण निर्माण हुने, रोजगारी र उद्यमशीलताका लागि युवाहरुमा क्षमता विकास हुने अपेक्षा गरिएको छ । सिप मेलामा तालिमका लागि १० वटा क्षेत्र निर्धारण गरिएका छन् । क्षेत्रभित्र २९ प्रकारका पेशागत तालिम हुनेछन् । मागका आधारमा थप क्षेत्र र पेशा थप गर्ने योजना छ ।


प्रकाशित मिति: १८ बैशाख २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?