Trending
>>   ओली र लेखकको पक्राउ असंवैधानिक छ, सरकार संविधानअनुसार चलोस्ः एमाले >>   एकै महिनामा एक लाख २० हजार पर्यटक भित्रिए >>   रेमिट्यान्स कम्पनीहरूको न्युनतम चुक्ता पुँजी १० करोड पुर्‍याउने समयसीमा दुई वर्ष थप >>   आज देशभर हनुमान जन्मजयन्ती मनाइँदै >>   संसद मुलुकको राजनीतिक संस्कृतिको प्रतिविम्व हो, संसद बैठक निर्विघ्न चलाउँछुः अर्जुननरसिंह केसी >>   देशभर एसईई परीक्षा आजदेखि शुरु >>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ
Logo
१९ चैत्र २०८२, बिहीबार
१९ चैत्र २०८२, बिहीबार

अरनिको राजमार्ग विस्तार कार्यलाई निरन्तरता दिने सहमति


काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गतको काभ्रेपलाञ्चोकको सिमास्थल साँगादेखि धुलिखेलसम्मको विस्तार कार्य निरन्तर अघि बढ्ने भएको छ । आयोजनाअन्तर्गत डेढ महिनादेखि रोकिएको बनेपा–बुडोल क्षेत्रको निर्माण कार्यलाई निरन्तरता दिने सहमति भएको हो ।

बनेपा–बुडोल खण्डमा निर्माणाधीन कल्भर्टलगायत संरचनाको निर्माण कार्य रोक्न उच्च अदालत पाटनले उत्प्रेषण आदेश जारी गरेपछि करिब डेढ महिनादेखि निर्माण कार्य रोकिएको थियो । स्थानीयस्तरमा सरोकारवालाबीच भएको बैठकले तत्कालै मुद्दा फिर्ता लिने सहमति भएपछि निर्माणलाई निरन्तरता दिइने भएको हो । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका उपप्रमुख रिमबहादुर तामाङको अध्यक्षतामा सरोकारवाला एवं मुद्दा हाल्ने स्थानीयबीचको आइतबारको बैठकमा उक्त सहमति भएको हो ।

यस्तै उक्त बैठकले हाल निर्माणाधीन कल्भर्टको पानीलाई व्यक्तिगत जग्गामार्फत निकास नगराई सडक सिमाभित्र छुट्टै ड्रेनमार्फत चण्डेश्वरी खोलामा निकासी गराउने तथा आवश्यकताअनुसार सिँचाइ निकासका लागि व्यवस्थापन गरी अघि बढ्ने सहमति भएको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले अदालतको मुद्दा फिर्ता लिने र निर्माणाधीन कल्भर्टबाट पानीलाई ‘डाइभर्ट’ गरी खोलामा मिसाउने सहमति भएपछि आयोजनाको निर्माणले निकास पाएको बताउनुभयो ।

बनेपा नगरपालिका–६ बुडोलका १३ जनाले सुर्यविनायक–धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनाको कार्यालय भक्तपुरसहित आयोजना प्रमुख राजेन्द्र दास, बनेपास्थित ६ र ७ नं वडा कार्यालयलाई विपक्षी बनाई गत फागुन २० गते रिट दर्ता गरेका थिए । दर्ता गरिएको रिटमा गत फागुन २१ गते नै प्रारम्भिक सुनुवाइ भएको थियो

विसं २०१६ मा सडक निर्माणका बेला खेतका लागि पानी निकास गर्न राखिएको ह्युमपाइपसहितको ढलको स्थानमा हाल सडक विस्तारका क्रममा नयाँ डिजाइनमा कल्भर्ट निर्माण गरिएको थियो । हाल बस्ती विकास भए पनि उक्त कल्भर्टबाट पानी निकास हुँदा सडकको तल्लो क्षेत्रको बस्तीमा क्षति पुग्ने भन्दै स्थानीयले रिट दर्ता गरेका थिए । उक्त क्षेत्रको निर्माण कार्य रोकिँदा ‘डाइभर्ट’ गरिएको सडकमा दुर्घटनासमेत बढेका थिए भने पानी परेका बेला राजमार्गमा सवारीसाधन ठप्प हुने गरेको छ ।

तीन वर्षमा सक्ने गरी सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएअनुसार २०७९ फागुन १६ गतेदेखि साँगाबाट धुलिखेलसम्मको आठ दशमलव ४ किमी सडकखण्ड रु चार अर्ब पाँच करोड ६४ लाखको लागतमा निर्माण थालिएको थियो ।


प्रकाशित मिति: १० बैशाख २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?