Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२३ माघ २०८२, शुक्रबार
२३ माघ २०८२, शुक्रबार

मेरिटोक्रेसी लागू गरेकोमा प्राज्ञिकहरूद्वारा प्रधानमन्त्री दाहाललाई धन्यवाद


काठमाडौँ। प्राध्यापक एवं प्राज्ञिकहरूले त्रिभुवन विश्वविद्यालयमा उपकुलपति, शिक्षाध्यक्ष र रजिष्टार मेरिटोक्रेसीका आधारमा नियुक्त गरेकामा खुसी व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सामूहिकरूपमा धन्यवाद व्यक्त गरेका छन् ।

आज बिहान प्रधानमन्त्री दाहालसँग बालुवाटारमा भेट गर्दै प्राध्यापक एवं प्राज्ञिकहरूले खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्ति गरेसँगै विश्वविद्यालयको प्राज्ञिक छविमा सकारात्मक सन्देश गएको उल्लेख गरे। भेटमा प्रधानमन्त्री दाहालले आफू विश्वविद्यालय र शिक्षा क्षेत्र सुधारमा गम्भीर भएको जानकारी दिँदै मेरिटोक्रेसीको अवधारणा थप दृढताका साथ बाँकी ठाउँमा पनि अवलम्बन गरिने बताए ।

प्रधानमन्त्री दाहालले भने, ‘‘विश्वविद्यालय सुधार्ने हो भने मेरिटोक्रेसीको कुनै बिकल्प छैन, यसबारे गम्भीररूपमा सोच्दै आएको थिएँ । तर, कहाँबाट सुरू गर्ने, कसरी सुरू गर्ने भन्ने थियो । मैले त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा खुला प्रतिस्पर्धाको घोषणा गरेको थिएँ । त्यसपछि यसको पक्षमा वातावरण बनाउन म लगातार लागिरहेँ र सफल पनि भयौँ । यसले प्राज्ञिक क्षेत्रलाई सकारात्मक दिशा दिएको छ ।”

देशमा सुशासन, विकास र समृद्धिको नयाँ जग बसाल्न सबै क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा जरूरी रहेको प्रधानमन्त्री दाहालको भनाइ थियो । उनले भने, “पार्टीमा आबद्ध हुने स्वतन्त्रता सबैलाई छ । तर, अब कुन पार्टी भनेर नहेरौँ । जो सक्षम छ, इमान्दार छ, जो निष्ठाका साथ काम गर्छ, त्यो नै आफ्नो हो । राम्रो हेरौँ, मेरिट हेरौँ । यसले मात्रै देशमा नयाँ परिस्थिति बन्छ । यसमा म पूर्ण प्रतिबद्ध छु ।”

भेटमा प्राज्ञिकहरूको तर्फबाट केदारभक्त माथेमाले प्रधानमन्त्री दाहालको सोच र अडानका कारण विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्ति हुनु आफैँमा महत्वपूर्ण कुरा रहेको बताए । उनले भने, “प्रधानमन्त्रीको सोच र अडानबाट खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्त भएको छ । यो आफैँमा राम्रो नजिर हो । यसले नयाँ लिगेसीको प्रारम्भ हुन्छ । यसले उच्च शिक्षाको गुणस्तरमा ठूलो सुधार ल्याउने हाम्रो विश्वास छ । यसका सकारात्मक परिणाम आउँदै जानेछन् । हामी खुसी छौँ । तपाईलाई हार्दिक धन्यवाद छ ।”

छलफलमा माथेमाले सबै राजनीतिक दलले एक ठाउँ बसेर भागबण्डाको संस्कारको अन्त्य र खुला प्रतिस्पर्धाका निम्ति प्रतिबद्धता व्यक्त गर्नुपर्ने बताए। सार्वजनिक रूपमा हस्तक्षेप नगर्ने सङ्कल्प घोषणा गर्न दलहरूलाई अनुरोध गर्दै उनले शैक्षिक–प्राज्ञिक संस्थाको स्वायत्ततालाई अक्षुण्ण राख्न कुनै पनि प्रकारका अस्वस्थ, अनावश्यक हस्तक्षेप नगर्ने सङ्कल्प एवं प्रतिबद्धता राजनीतिक दलको तर्फबाट आउनुपर्ने बताएका छन् ।


प्रकाशित मिति: ३ बैशाख २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?