Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

भईरहेका कामबारे मूल्यांकन गर्ने बेला भयो: राष्ट्रपति


चितवन । राष्ट्रपति रामचन्द्र पौडेलले माथिल्लो जिम्मेवारीमा बसेकाहरुबाट काम सम्पन्न भएको छ कि स्थानीय जनताको मेहनतबाट मात्रै काम सम्पन्न भएको छ भन्ने कुराको अब मूल्यांकन गर्नुपर्ने बेला भएको बताउनुभएको छ । तनहुँ र चितवन जोड्ने नवनिर्मित त्रिशुली नदी पुलको शनिबार उद्घाटन गर्दै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो ।

“ सरकारले धेरै योजनामा धेरै ठाउँमा धेरै बजेट राखेको छ, तर ती अलपत्र छन्, तर जहाँ स्थानीय जनताले मेहेनत गरेका छन्, त्यहाँ मात्रै काम सम्पन्न भएका छन्”, उहाँले भन्नुभयो, “त्यसैले अब मूल्यांकन हुनुपर्छ कि माथिल्लो जिम्मेवारीमा बसेकाले काम सम्पन्न गरेका छन् की स्थानीय जनताको मेहेनतबाट मात्र काम सम्पन्न भएका छन् । ”

राष्ट्रपति पौडेलले अब भोटको र छाडा राजनीति गरेर जथाभावी सार्वजनिक जग्गा बाड्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउँदै सार्वजनिक जग्गालाई पार्क र बगैचा बनाएर पर्यटक आकर्षित गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो ।

राष्ट्रपति पौडेलले नेपाली जनताको समयअनुसारको विकासको चाहना पुरा गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले लोकतन्त्रप्राप्तीसँगै क्रमशः भएको विकासको गति र त्यसको स्तरोन्नतिलाई यस्ता पूर्वाधारका कामले भविष्यको वृहत्तर विकासको आयामलाई बढावा दिन आशा एवम् भरोसा जगाएको छ भन्नुभयो ।

“केही भएन होइन, केही भएको छ र केही हुँदैन होइन, केही हुँदैछ भन्ने आश र विश्वासको जगमा नेपाली जनताको समयअनुसारको विकासको चाहना पुरा गर्न हामी सबै एक भएर जुटनुको विकल्प छैन”, उहाँले भन्नुभयो ।

देशको समृद्धिको मुख्य आधार कृषि क्रान्ति, पर्यटनको विस्तार र ऊर्जा शक्तिको विकास हो परन्तु त्यसको लागि पहिलो खाँचो सुशासन नै भएको उहाँले स्पष्ट गर्नुभयो । “म त्यही एजेण्डामा आज पनि उभिएको छु, राष्ट्रपतिमा निर्वाचित भएपछि मैले भनेको पनि छु म राजनीतिमा हात हाल्दिन र विकासबाट टाढा भाग्दिन, अर्थात देश विकास नै मेरो अभिष्ट र अभिभावकीय भूमिका र चाहना हो”, राष्ट्रपति पौडेलले भन्नुभयो । यस अर्थमा संघीय लोकतान्त्रिक गणतन्त्रले हामीलाई समावेशी, उदार, एकतावद्ध र समन्वयात्मक हुन प्रेरित गर्ने उहाँको भनाइ थियो ।

ठूलो त्याग, बलिदान र संघर्षबाट हामीले नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको उल्लेख गर्दै उहाँले आत्मनिर्भर नेपाली र समृद्धिसहित विकसित आधुनिक नेपाल निर्माण नै संघीय लोकतान्त्रिक गणतन्त्रको मुख्य लक्ष्य भएको बताउनुभयो । “सफल राजनीतिक आन्दोलनको कार्यभार पुरा गरेपछि अब हाम्रो ध्यान सुशासन, विकास र समृद्धितर्फ केन्द्रित हुनुपर्छ, यसमा कहींकतै द्विविधा हुनुहुँदैन”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

उत्पादन, रोजगारी, उद्योगधन्दासहितका आर्थिक क्रियाकलाप र निर्यातमुखी अर्थतन्त्रको विकास समयको माग भएको उहाँको भनाइ थियो । “यस क्षेत्रको विकासका लागि यो पुल कोशेढुङगा सावित हुनसक्छ भन्ने मलाई लाग्छ, किनभने यहीँबाट यस क्षेत्रको व्यवसायीकरणसहित तीव्र रुपमा कृषि उत्पादन अनि त्यसको बजारीकरण, ऊर्जा र पर्यटन क्षेत्रको विकास र विस्तार तथा शालीग्राममार्गलाई कालीगण्डकी कोरीडोर हुँदै उत्तर दक्षिण जोड्ने एउटा कडी बनाउन सकिने मैले देखेको छु”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

मुलुककै महत्वपूर्ण केन्द्र मानिएको चितवन, नवलपरासी र तनहुँको संगमस्थल पवित्र तपोभूमि देवघाटमा उपस्थित भएर यहाँ क्षेत्रका वासिन्दाहरुसँग भेटघाट गर्न पाउँदा आफूलाई खुशी लागेको बताउँदै उहाँले यहाँसम्म आईपुग्दा गर्नुपरेका संघर्ष र अनेक अवरोधहरू तपाईहरूबाट छिपेको छैन भन्ने उल्लेख गर्नुभयो ।

उहाँले दामोदर कुण्डबाट बहेर आएको कृष्णा ( कालीगण्डकी ) र गोसाइँकुण्डबाट बहेर आएको त्रिशूलीजस्ता पवित्र नदीको संगम देवघाटधाम क्षेत्रको व्यापक प्रचार गरी यसलाई राष्ट्रिय गौरवको योजनामा सहभागी गरेर यहाँको विकास गर्न आवश्यक भएको धारणा व्यक्त गर्नुभयो ।

“ऋषिमुनीहरूले तपस्या गरेको यहाँका प्राकृतिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा प्राचीन महत्वको स्थलहरूको संरक्षण र संवद्र्धन गरी सरोकारवालाहरूको सहयोगमा उत्कृष्ट धार्मिक तथा आध्यात्मिक केन्द्र बनाएर विश्वकै ध्यान यसतर्फ केन्द्रित गर्न जरुरी छ, देवघाट धाम, गण्डकी नदी, तीनका सहायक नदीहरू तथा यहाँका विविध क्षेत्रको महत्वबारे परिचित गराउन जरुरी छ”, राष्ट्रपति पौडेलले भन्नुभयो । उहाँले देवघाट क्षेत्र विकास समितिको स्थापनाकालदेखिनै यहाँको समग्र विकासमा आफूले ध्यान दिएको स्मरण गर्दै यसको थप विकासमा पनि सधै साथ रहने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति पौडेलले यति पवित्र भूमिमा वर्षौदेखि एउटा झोलुङगे पुलको भरमा यस क्षेत्रका वासिन्दा र भक्तजनले आवतजावत गर्नुपर्ने कष्टकर अवस्थाकोे पुल निर्माणसँगै अन्त्य भएको बताउनुभयो । दशक लामो कठिन प्रयत्नपछि बन्दै भत्कदै बनेको यो केवल एउटा पुल मात्र नभएर यस सेरोफेरोको कृषि, पर्यटन, व्यापार–व्यवसायलगायत विकासको बलियो जग खडा हुनेछ भन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । “देशविदेशबाट चितवन आउने जोकोहीलाई भरतपुरबाट सहज पहुँचको मार्गप्रशस्त गरेको यस पुलले देवघाटधामको सर्वाङ्गीण विकासको ढोका खोलेको छ, दुईवटा प्रदेश र दुई जिल्ला जोड्ने यो पुल यहीक्षेत्र भएर जाने शालिग्राम मार्गको प्रस्थान विन्दु हो”, उहाँले भन्नुभयो ।

“दासढुंगा पुलले माथिल्लो भागलाई जोडेको थियो भने यो पुलले देवघाटलाई सोझै नारायणघाटसँग जोड्दछ । यो ठाउँ त देवघाट पालिकाको दुई वटा वडामात्र हो । सिङ्गै चार वटा वडाका मानिस त्यो माथि भीरपाखामा बस्छन् । मान्छे हिड्न र त्यहाँ उत्पादित सुन्तला तार्न तीनका लागि गाईघाटमा अर्को पुल चाहिएको छ । त्यस्तै, १२६ मेघावाटको विद्युत परियोजनाको पावर हाउस पनि त्यहीँ बनाउनुछ“, उहाँले भन्नुभयो ।


प्रकाशित मिति: १७ चैत्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?