Trending
>>   १० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो >>   एमालेभित्र तल्लो तहबाटै स्वतःस्फूर्त समीक्षा शुरु >>   नेपालमा लगानीको अपार सम्भावना छ, ढुक्क भएर लगानी गर्नुस्ः अध्यक्ष ढकाल >>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम
Logo
१ चैत्र २०८२, आईतवार
१ चैत्र २०८२, आईतवार

इलामका किसान व्यावसायिक सुपारी खेतीप्रति आकर्षित


इलाम। इलामको माई नगरपालिका-९ चिसापानीका किसान श्रीमान् राईले करिब ५० रोपनी जग्गामा सुपारी खेती गरेका छन् । उनको सुपारी बगानमा पाँच हजार बोट छन् । ‘केहीमा फल लागेको छ भने केही फल्ने अवस्थामा छन्’, उनले भने, ‘व्यापारी बगानमा नै आएर खरिद गर्ने भएकाले बजारको चिन्ता छैन । काँचो सुपारी बगानबाटै प्रतिकिलो रु ५० का दरले बिक्ने गरेको छ ।’

घर आँगनका डिलदेखि खेतबारी र पाखामा सुपारी रोपेर आयआर्जन गर्ने बताउँदै उनले नयाँ बोट थप गरी खेती विस्तार गर्ने योजनामा आफू रहेको सुनाए । ‘यस वर्ष सुपारी बेचेरे रु तीन लाख आम्दानी भयो, सुपारीले तरकारी र अन्य बालीलाई क्षति नपुर्‍याउने र छहारीको काम गर्ने भएकाले दोहोरो फाइदा लिन सकिन्छ’, उनले भने, ‘बहुवर्षे नगदे बाली सुपारीको एकै बोटबाट ५० केजीसम्म उत्पादन गर्न हुन्छ, यसलाई अझ विस्तार गर्ने योजनामा छु ।’

अर्का किसान कृष्ण लिम्बूले पनि अन्न फल्ने जग्गामा पाँच सय बोट सुपारी रोपेका छन् । करिब १० रोपनी जग्गामा उनले पाँच सय बोट सुपारी रोप्नुभएको हो । थोरै लगानी र कम मेहनतमा नै व्यावसायिक खेती गर्न सकिने भएकाले सुपारी खेती सुरु गरेको उनले बताए ।

‘अन्य खेतीजस्तो धेरै मेहनत र लगानी नपर्ने भएकाले सुपारी सुरु गरेको हुँ’, उनले भने, ‘बिक्रीको चिन्ता छैन, व्यापारी घरमा नै आउँछन्, प्रतिकिलो रु ३० देखि रु ५० सम्ममा बगानबाटै बिक्री हुने गर्दछ ।’ उनले यस वर्ष सुपारी खेतीबाट रु एक लाख आम्दानी गरेको सुनाए ।

छिमेकीले सुपारी खेतीबाट मनग्ये आम्दानी गरेपछि अर्का किसान चक्र येक्तेनले पनि व्यावसायिक सुपारी खेती सुरु गरेका छन्। ‘माम्मा फिपरानी स्मृति कृषि तथा पशुपालन फार्म’ दर्ता गरी करिब १५ रोपनी जमिनमा सुपारी खेती गरेका छन् । उनले एक हजार सुपारीका बोट लगाएका छन् । ‘मैले १५ रोपनी जग्गामा एक हजार बोट सुपारी रोपेको छु, बिरुवा हुर्कँदै छन्’, उनले भने, ‘नयाँ बगान भएकाले फल भने लागको छैन ।’

यहाँका करिब ७० घर किसानले व्यावसायिक रूपमा सुपारी खेती गर्दै आएका छन् । कम मेहनत र थोरै लगानीमा नै मनग्ये आम्दानी हुने भएपछि चुरे क्षेत्रका किसान व्यावसायिक सुपारी खेतीमा आकर्षित भएका छन् । बाँझो जग्गा सदुपयोग गर्दै किसानले व्यावसायिक रूपमा सुपारी खेती सुरु गरेका हुन् । उनीहरूले खेतबारी र पाखामा सुपारी रोपेर आयआर्जन गर्न थालेका हुन् । सुपारीले अन्य बाली लगाउन असर नगर्ने भएकाले यसप्रति किसानको आकर्षण बढेको हो । प्रायः सबै परिवारले सुपारी खेती गर्न थालेको स्थानीय तीर्थ साउदेनले बताए ।

इलाममा सुपारीको खेती विस्तार आएको छ । यस वर्ष इलाममा छ सय १० मेट्रिक टन सुपारी उत्पादन भएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख रामजुगल यादवले जानकारी दिए । इलाममा दुई सय हेक्टर क्षेत्रमा व्यावसायिक सुपारी खेती हुँदै आएको यादवले बताए ।

जिल्लाको माई नगरपालिकाका बोरुङ, चिसापानी, दानाबारी, महमाई, माङसेबुङ गाउँपालिकाका बाँझो, सिङफेरे, मार्चेबुङ, रोङ गाउँपालिका र चुलाचुली गाउँपालिकाका किसानले सुपारीको व्यावसायिक खेती गर्दै आएका छन् ।


प्रकाशित मिति: ९ चैत्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?