Trending
>>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित) >>   ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’:केपी ओली >>   स्वतन्त्रता र लोकतन्त्रको प्रेरणाले राजनीतिमा आएँः मुख्यमन्त्री पाण्डे >>   बालेन्द्र सरकार राष्ट्रियता र जनजीविकाको सवालमा पूर्णतः असफलः लेखनाथ दाहाल >>   हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा >>   ‘काठमाडौं फिल्म फेस्टिभल’मा भारतीय भेट्रान अभिनेत्री शबाना आजमी सहभागि हुने >>   ‘एनपीएललाई आधार बनाएर स्पोर्ट्स टुरिजमलाई योजनावद्ध रुपमा अघि बढाउनुपर्छ’ >>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ
Logo
१२ कार्तिक २०८३, बुधबार
१२ कार्तिक २०८३, बुधबार

सहकारी र मिटरब्याजपछि गुठीपीडित राजधानीमा !


काठमाडौं। झण्डै एक महिनादेखि दाङमा आन्दोलन गर्दै आएका स्वर्गद्वारी गुठीपीडित किसान संघर्ष समितिका अगुवाहरु तत्काल गुठी विधेयक ल्याउन माग गर्दै काठमाडौं आइपुगेका छन् । उनीहरुले आइतवार सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य रेखा शर्मा, नेकपा एमालेका महासचिव शंकर पोख्रेल र नेपाली कांग्रेसका नेता एवं दाङ क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य दीपक गिरीसँग भेटघाट गरेका छन् ।

स्वर्गद्वारी गुठीको जग्गा सदियौंदेखि जोतभोग गर्दै आए पनि स्वामित्व पाउन नसकेको भन्दै उनीहरुले फागुन ८ गतेदेखि दाङमा आन्दोलन गर्दै आएका छन् । किसानहरुको आन्दोलनपछि सरकारले गुठी पीडित संघर्ष समितिसँग वार्ता गर्न फागुन १७ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव कृष्णप्रसाद सापकोटाको संयोजकत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरेको थियो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको उपस्थितिमा फागुन २० गते वार्ता टोलीले दाङमै प्रारम्भिक छलफल गरी पन्ध्र दिनभित्र प्रतिवेदन तयार पार्ने प्रतिबद्धता व्यक्त गरेको थियो । समितिले दिएको सो समय सकिन थालेकाले आफूहरुका मागप्रति सरकारलाई थप संवेदनशील बनाउन काडमाडौं आएको गुठी पीडित संघर्ष समितिका अगुवा प्रवीण दहित थारुले जानकारी दिनुभयो ।

अर्का अगुवा लालबहादुर चौधरीले अघिल्लोपटक आफूहरुले प्रधानमन्त्रीसँग भेट गरी तत्काल गुठी विधेयक ल्याउन माग गरेको तर आफूहरुको मागअनुसार विधेयक नआएकाले दाङमा आन्दोलन गर्नुपरेको उल्लेख गर्दै अब समस्या समाधान नहुँदासम्म आन्दोलन नरोकिने बताउनुभयो ।

संघर्ष समितिका पदाधिकारी तथा दाङका आएका राजनीतिक दलका प्रतिनिधिहरुसँगको छलफलमा सञ्चारमन्त्री शर्माले किसानका मागमा सरकार गम्भीर रहेकाले जतिसक्दो चाँडो कानुन बनाएर समस्या समाधान गर्नुपर्ने बताउनुभयो । किसानहरुले जोतभोग गरेको जग्गाको स्वामित्व पाउनुपर्ने र त्यसका लागि स्वर्गद्वारी गुठी पनि तयार नै रहेको तर यसमा २०६२ मा गरिएको सर्वोच्च अदालतको आदेशले समस्या सिर्जना गरेको उल्लेख गर्दै मन्त्री शर्माले अब नयाँ संविधानले प्रदत्त गरेको नागरिकको आवासको हकमा टेकेर नयाँ कानुन बनाई समस्या समाधान गर्नुपर्ने बताउनुभयो ।

यसबीचमा मन्त्रिमण्ड हेरफेरका कारण केही समय लागेको जानकारी दिंदै मन्त्री शर्माले भोलि नै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री र किसान अगुवाहरुको बीचमा छलफल गरेर अघि बढ्ने तय भएको जानकारी दिनुभयो । किसानहरुले आन्दोलन सुरु भएपछि यसलाई प्राथमिकतामा राखेर मन्त्री शर्माले यो एजेण्डा मन्त्रिपरिषद् बैठकमा उठाउँदै वार्ता समिति गठन गरी समस्या समाधानका लागि पहल गर्दै आउनुभएको छ ।

आइतवार राजधानीमा भएका विभिन्न छलफलमा गुठी पीडित संघर्ष समितिका पदाधिकारीसहित नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं दाङ जिल्ला इञ्चार्ज निर्मल आचार्य, नेकपा एमालेका जिल्ला सचिव मनोहर बुढाथोकी, नेपाली कांग्रेसका राजु आचार्य लगायतको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: ५ चैत्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?