Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

सुलभ फार्मेसी सञ्चालन निर्देशिका तर्जुमा गर्न समिति गठन


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सुलभ फार्मेसी कार्यक्रम सञ्चालन निर्देशिका तर्जुमा गर्न कानुन तथा मानव अधिकार विभागका प्रमुख बसन्त आचार्यको संयोजकत्वमा समिति गठन गरिएको छ । कार्यक्रम कार्यान्वयनका लागि प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको अध्यक्षतामा बसेको छलफलपछि समिति गठन गरिएको हो ।

समितिको सदस्यहरुमा वरिष्ठ फर्मासिष्ट बाबुराम हुमागाईँ, संगीता माथेमा, चैन बज्राचार्य, मणि लामा र स्वास्थ्य विभागका निमित्त प्रमुख सजिना महर्जन हुनुहुन्छ । समितिलाई ७ दिनको समय दिइएको छ ।

छलफलमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत परियारले भन्नुभयो, ‘यस प्रकारका फार्मेसी सञ्चालन गर्न अनेक ढाँचा हुन सक्छन् । यीमध्ये चालु आर्थिक बर्षमा महानगरपालिका आफैँले ५ वटा फार्मेसी सञ्चालन हुने गरी काम गर्नुपर्नेछ । गुणस्तरीय र दिगो कार्यक्रम यसको न्युनतम आधार रेखा हो ।’ उहाँले भन्नुभयो, ‘पहिले नै यस्तो पसल सञ्चालन भइसक्नु पथ्र्यो भएन । कठिन छ तर अहिले थालिएको छ । यो राम्रो कुरा हो भन्ने सबैबाट धारणा व्यक्त भयो । कार्यक्रम कार्यान्वयनको आधार यही हो ।’

औषधिमा उपभोक्ताहरु ठगिएका छन् । मारमा परेका छन् । उत्पादकदेखि उपभोक्तासम्म पुग्दा ४० प्रतिशतसम्म कमिसनमा जाने गरेको छ । सुपर थोक विक्रेता र थोक विक्रेताले ५ देखि २५ प्रतिशतसम्म र खुद्रा विक्रेताले १६ प्रतिशतसम्म कमिसन लिने चलन छ । छलफलमा वरिष्ठ फर्मासिष्ट बाबुराम हुमागाईँले विद्यमान औषधिको बजार मूल्यका विषयमा कुरा गर्दै भन्नुभयो, ‘कतिपय औषधिमा कमिसनका अतिरिक्त १० प्रतिशतदेखि २ सय प्रतिशतसम्म बोनस दिएर औषधि विक्री गर्ने गरिएको छ ।’ हुमागाईँकाअनुसार धेरै औषधि खरिद गर्दा नेट रेट भन्ने चलन छ । यो भनेको अंकित खुद्रा मूल्यभन्दा ४ गुणासम्म सस्तो हुन्छ । यसरी हेर्दा उपभोक्ताहरु ३५ रुपैयाँमा पाइने औषधिलाई १५० रुपैयाँसम्म तिरीरहेका छन् ।

कुनै औषधि पसलमा निश्चित कम्पनीका मात्र औषधि पाइन्छन् । कुनैमा प्रेष्क्राइभर (औषधि लेखिदिने डाक्टर) लाई प्रभावमा पारिएको छ । फार्मेसीहरु औषधि विक्रीमा मात्र केन्द्रीत छन् । वैकल्पिक औषधि दिँदा स्वार्थ प्रेरित औषधि दिन्छन् । उनीहरु औषधिको प्रयोगका बारेमा राम्ररी परामर्श गर्दैनन् । यस्ता कारण एकातिर उपभोक्ता औषधिमा ठगिएका छन् भने अर्कोतिर गलत र मात्रा नमिलेको औषधिका कारण नकारात्मक स्वास्थ्य समस्या सिर्जना हुन थालेका छन् । यसप्रकारको समस्या समाधानका लागि सुलभ औषधि पसल कार्यान्वयनमा ल्याउन अनिवार्य भएको छ । जहाँ गुणस्तर र मूल्य सुनिश्चित हुन्छ । छलफल यही विषयमा केन्द्रीत थियो ।

हुमागाईँले प्रस्तुतिकरणमा औषधि सम्बन्धी तथ्याङ्क देखाउँदै, नेपालमा करिब १८ हजार व्राण्डका औषधि आयात हुने गरेको बताउनुभयो । यी औषधि नेपालका १२८ र विदेशी ३५० वटा कम्पनीमा उत्पादन हुने गरेका छन् । नेपालमा वार्षिक करिब ७० अर्बको औषधि खर्च हुने गरेको छ । यसमा नेपाली उद्योगको ५५ प्रतिशत र विदेशी औषधि ४५ प्रतिशत खपत हुने गरेको छ ।

महानगरपालिकाले सुलभ औषधि पसल सञ्चालन गर्न चालु आर्थिक बर्षका लागि ६ करोड रुपैयाँ विनियोजन गरेको छ । स्वास्थ्य विभागका निमित्त प्रमुख सजिना महर्जनले यसबाट ६ वटा फार्मेसी सञ्चालन योजना रहेको बताउनुभयो ।

महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) का सचिवालय सदस्य सुदीप ढकालले, सुलभ फार्मेसी सञ्चालनको उद्देश्य करदातालाई सुलभ मूल्यमा औषधि उपलब्ध गराउने भएको बताउनुभयो । अन्य फार्मेसीका तुलनामा सुलभ फार्मेसीमा मूल्य सस्तो हुन्छ । त्यसमा पनि महानगरबासी र करदातालाई थप छुट सुविधा दिइनेछ । ढकालको भनाइ थियो ।


प्रकाशित मिति: ३० फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?