Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

गठबन्धन तोडेर माओवादीले मतदातालाई धोका दियोः उपसभापति खड्का


सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धन तोडेर नेकपा (माओवादी केन्द्र)ले मतदातालाई राजनीतिक रुपमा ठूलो धोका दिएको बताउनुभएको छ ।“यसपटक नेपाली कांग्रेसलाई मात्र होइन्, निर्वाचनका बेला मतदातालाई दिएको बचनबाट माओवादी केन्द्र र त्यसका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट राजनीतिक रुपमा ठूलो धोका भएको छ”, आइतबार नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ सुर्खेतको प्रथम जिल्ला अधिवेशनको उद्घाटन गर्दै उपसभापति खड्काले भन्नुभयो, “यसको जवाफ आम मतदाताले समय आउँदा दिनुहुनेछ, त्यसको जवाफ राजनीतिक नेतृत्वले आवश्यक पर्दा दिनेछ ।”

उपसभापति खड्काले तीन तहका सरकार बनाउँदा जनतासँग गरिएका बाचाका विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताउनुभयो । “कांग्रेससँगको गठबन्धन तोड्नुको कारण राजनीतिक दृष्टिकोणले प्रचण्डले आफ्ना धारणा राख्नुहोला”, उहाँले भन्नुभयो, “तर, तीन तहका सरकार बनाउँदा निर्वाचनका बेला जनतासँग गरेका बाचाको जवाफ उहाँले दिनुपर्छ ।”

उहाँले निर्वाचनका बेला संविधानले जनतालाई दिएको अधिकार कार्यान्वयन गर्ने, आवश्यक कानुन निर्माण गरेर संघीयता कार्यान्वयन गर्ने, पाँच वर्षमा आम मतदातालाई उन्नति र प्रगतिको बाटोमा अघि बढाउने बाचा गरेर जनतासँग मत मागिएको स्मरण गर्नुभयो ।

उपसभापति खड्काले असंवैधानिक तरिकाले पटक–पटक संसद् विघटन गर्ने, संघीयता कार्यान्वयन नगर्ने, संविधानलाई गलत बाटोतर्फ लैजाने, लोकतन्त्रलाई अन्य दिशातर्फ मोड्न थालिएपछि संविधानको रक्षा, संघीयता कार्यान्वयन र मुलुकको आर्थिक उन्नति र प्रगतिका लागि विचार मिल्ने राजनीतिक शक्तिहरु प्रतिगमनका विरुद्ध मिलेर तीनै तहको निर्वाचनमा जनतासँग मत मागिएको उल्लेख गर्नुभयो ।

निर्वतमान उपप्रधानमन्त्री तथा रक्षामन्त्रीसमेत रहनुभएका खड्काले कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुले जनताको शीर नझुक्ने गरेर काम गरेको बताउनुभयो । “एघार महिना हामी सरकारमा रहँदा मुलुक र पार्टीको अहित हुने गरेर कुनै पनि काम गरेका छैनौँ”, उहाँले भन्नुभयो, “बाँकी कुराहरु समयक्रममा राख्दै जाउँला ।”

उपसभापति खड्काले पार्टीको नीति अधिवेशन ऐतिहासिक रुपमा सम्पन्न भएको बताउनुभयो । “महासमितिबाट आएका सुझावहरुलाई समेट्दै चाँडै केन्द्रीय समिति बैठकमार्फत पारित गरेर पुस्तकका रुपमा प्रकाशन गरेर देशभरी पठाउने छौँ”, उहाँले भन्नुभयो, “नीति अधिवेशनमार्फत पारित प्रस्तावहरुलाई आम जनतामाझ लिएर जानेछौं ।” उनले समुदायसँग कांग्रेस अभियानलाई फेरि सुरु गरिने समेत बताउनुभयो ।


प्रकाशित मिति: २७ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?