Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

पढाई संगै कमाइ पनि : विद्यालय परिसरमै च्याउ र तरकारीखेती


म्याग्दी। विद्यालय परिसरमा नै च्याउ र तरकारीखेती गरेर म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर र मालिका गाउँपालिका–७ बिमका विद्यार्थीले पढाइसँगै पैसा पनि कमाएका छन् ।

पश्चिम म्याग्दीको मङ्गला –२ स्थित मङ्गला माध्यमिक विद्यालय र मालिका –७ बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयमा प्राविधिक धारअन्तर्गत बाली विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीले तरकारी, फलफूल र च्याउ उत्पादन गरी बिक्री गरेर आम्दानी गर्न थालेका हुन् ।

मङ्गला माध्यमिक विद्यालयमा प्राविधिक धार कक्षा (९–१२)मा बाली विज्ञान विषयमा पढाइ सुरु भएपछि विद्यार्थी कक्षाकोठाबाहेक खेतबारीमा समेत पुगेर च्याउ उत्पादन गरी बाबियाचौरमा बिक्री गर्दै आएका विद्यालयका प्रधानाध्यापक गमबहादुर खत्रीले जानकारी दिए । बजारमा विद्यार्थीले उत्पादन गरेको च्याउलाई विद्यार्थी च्याउका नामले चिनिने गरेको छ ।

विद्यालयले प्राविधिक धारका विद्यार्थीलाई प्रयोगात्मक अभ्यासका लागि जग्गा भाडामा लिएर च्याउखेती सुरु गरेको छ । प्रधानाध्यापक खत्रीका अनुसार विद्यार्थीले उत्पादन गरेको च्याउ बजारमा प्रतिकेजी एक सय २५ मा बिक्री वितरण हुँदै आएको छ ।

‘विद्यार्थीले उत्पादन गरेको च्याउ अहिले बाबियाचौर बजारमै खपत हुने गरेको छ, विद्यार्थीलाई आवश्यक पर्ने कृषि औजारदेखि बीउबिजन सबै उपलब्ध गराउँछौँ, विद्यार्थीले लगाएको च्याउको बजार खोज्नसमेत सघाउँछौँ’, उनले भने ।

विद्यालयमा आधुनिक कृषि प्रणाली र उत्पादनका बारेमा सिकेको ज्ञान परम्परागत खेती गर्दै आएका अभिभावकलाई समेत सिकाउने गरेको प्रअ खत्रीको भनाइ छ ।

माघदेखि च्याउ उत्पादनमा लागेका विद्यार्थीले फागुनको पहिलो सातादेखि बिक्री गर्न थालेका छन् । बाली विज्ञान अध्ययनरत ४४ जना विद्यार्थीले सामूहिकरूपमा च्याउखेती गरेका छन् । विद्यार्थीको समय कक्षाकोठा र खेतबारीमा धेरै बित्ने गरेको छ । गाउँमै बाली विज्ञान पढ्न पाएकामा विद्यार्थी खुसी छन् ।

एक महिनामै उत्पादन गरी बजारमा लैजान सकिने र थोरै लगानीमा प्रशस्तै आम्दानी गर्न सकिने भएकाले च्याउखेतीका लागि समुदायलाई समेत सन्देश प्रवाह गरेको विद्यार्थी दिपेश थापाले बताए ।

विद्यालय उमेरमै पाठ्यपुस्तकसँगै व्यवहारिक ज्ञानसमेत आर्जन गर्न पाएकामा भविष्यमा प्राविधिक विषय पढेपछि बेरोजगार हुन पर्दैन भन्नेमा विश्वस्त रहेको विद्यार्थी बताउँछन् ।

नेपाल सरकारको नमूना विद्यालय मङ्गला माविले भाडामा लिएको दुई रोपनी जग्गामा यहाँ अध्ययनरत विद्यार्थीले च्याउ, बैमौसमी तरकारी, टमाटर, प्याजको बीउलगायतका उपज फलाउने गरेका छन् ।

विद्यालयमा विसं २०७६ मा नेपाल सरकारबाट कृषि विज्ञान सञ्चालनको अनुमति पाई नियमित पढाइ भइरहेको छ । उक्त धारमा प्रयोगशाला सहायक सहित नौजना दरबन्दी छ ।


प्रकाशित मिति: २७ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?