Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

लुम्बिनीमा ५०० कुलपुत्र प्रव्रज्या


३ चैत्र, लुम्बिनी । लुम्बिनीमा एकैदिन पाँच सय भिक्षु बनेका छन् । अखिल नेपाल भिक्षु महासङ्घ र थाई भिक्षु महासङ्घको आयोजना तथा लुम्बिनी विकास कोषको सह–आयोजनामा बिहीबार मायादेवी मन्दिर परिसरमा आयोजित धार्मिक कार्यक्रममा पाँच सयलाई कुलपुत्र प्रव्रज्या गरी अल्पकालीन भिक्षु बनाइएको हो ।

अखिल नेपाल भिक्षु महासङ्घका महास्थविर धम्म शोभन र धम्मकाय फाउण्डेशनका उपप्रमुख भिक्षु फरा पभनाले अल्पकालीन भिक्षुका लागि चिवर प्रदान गर्नुभयो । अल्पकालीन भिक्षुले पहेँलो चिवर लगाएर बुद्ध धर्मका एक सय नियम पालना गर्नुपर्नेछ ।

सामान्य अनुयायीले पञ्चशिल र अष्टशिलको पालना गर्ने भए पनि अल्पकालीन भिक्षुले २० दिनसम्म पूर्णरूपमा बौद्ध नियममा आफूलाई रुपान्तरण गर्नुपर्नेछ । चैत १७ गते अल्पकालीन भिक्षुको समय सकिनेछ ।

फागुन २७ गते काठमाडौँ र फागुन २८ गते लुम्बिनीमा गरी पाँच सय भिक्षुको केश मुन्डन गरिएको थियो । केश मुन्डन गरिए पनि बिहीबार मात्रै प्रव्रज्या गरी अल्पकालीन भिक्षुका रूपमा पहेँलो चिवर प्रदान गरिएको लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले जानकारी दिए ।

चिवर प्रदान एंव कुलपुत्र प्रव्रज्या कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले सबैले बुद्धको शिक्षा ग्रहण गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा अखिल नेपाल भिक्षु सङ्घका महास्थविर शोभनले बुद्ध शिक्षालाई व्यवहारमा उतार्न आग्रह गर्नुभएको थियो । कोरोना महामारीका कारण तीन वर्षसम्म प्रव्रज्या कार्यक्रम स्थगित भएको थियो । यसअघि सन् २०११ मा एक हजार, सन् २०१५ मा एक हजार एक सय १२ र सन् २०१९ मा एक हजार एक सय १९ जनालाई प्रव्रज्या गराइएको थियो ।


प्रकाशित मिति: ३ चैत्र २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?