Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२१ माघ २०८२, बुधबार
२१ माघ २०८२, बुधबार

हलगोरु पाल्नेलाई जैमिनीद्वारा दश हजार अनुदान


बलेवा, बागलुङ। बागलुङको जैमिनी नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप १० हजार अनुदान दिने भएको छ । रैथाने बालीको संरक्षण, स्थानीय स्रोत साधनको उपयोगमार्फत कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको हो ।

यसका लागि नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रस्ताव आह्वान समेत गरेको थियो भने गोरु पाल्ने र गोरुसँग खेतीपातीमा लाग्ने किसानको पहिचान गरेर प्रोत्साहन उपलब्ध गराउन लागिएको पशु शाखा प्रमुख कृष्णप्रसाद ढकालले बताए । त्यस्तै, दश वडा रहेको नगरपालिकाभरिबाट तीन सय किसानले प्रस्ताव पेश गरेका थिए । पेश भएका प्रस्तावमध्येबाट चालु आर्थिक वर्षमा ३० जना किसानलाई जनही रु दश हजारका दरले प्रोत्साहन उपलब्ध गराइने भएको हो ।

‘कृषिमा आधुनिक हाते ट्र्याक्टर भित्रिँदा स्थानीय स्रोत साधनको प्रयोग नै हरायो’, उनले भने, ‘गोरु पाल्ने संस्कृति घट्दा बालीका लागि आवश्यक मलमूत्र कमी हुने, बाहिरबाट ल्याएको तेलको प्रयोग बढ्ने भएकाले पनि गोरु पाल्न प्रोत्साहन गर्नुपरेको हो ।’आधुनिक मेसिनको प्रयोगमा किसानको धेरै पैसा विदेशिने भएकाले गोरु पाल्दा त्यो रोकिने नगरपालिकाको विश्वास रहेको छ । उनले “गोरुको प्रयोगले ढिला होला, तर अनुत्पादक हुँदैन, व्यावसायिक किसानलाई भन्दा आफ्नो लागिमात्रै उत्पादन गर्ने किसानका लागि मेसिनभन्दा गोरुको प्रयोग उपलब्धिमूलक हुन्छ ।’ ।

उक्त नगरपालिकाभित्र झण्डै तीन सय बढी हाते ट्र्याक्टरलगायत सामग्री खनजोतका लागि प्रयोगमा छन् भने आवश्यक ठाउँमा प्रविधिको प्रयोग र रैथाने तथा मितव्ययी परम्परागत शैलीलाई सँगसँगै लैजाने नीति नगरपालिकाले बनाएको छ । त्यस्तै जैमिनी नगरपालिकाले बीउको रूपमा राँगा पाल्ने किसानलाई समेत प्रोत्साहन गर्न थालेको छ । मासु र दूधमा नगरलाई आत्मनिर्भर बनाउने लक्ष राखेको नगरपालिकाले बीउका लागि राँगा पाल्ने किसानलाई प्रोत्साहन उपलब्ध गराउने भएको हो ।

त्यसैगरी, चालु आवमा नगरभरिका २० जना किसानलाई जनही रु १० हजारका दरले प्रोत्साहन उपलब्ध गराउन लागिएको ढकालले बताएका छन् । हलगोरु र राँगा पाल्ने किसानको तथ्याङ्क तयार गरेर कार्यक्रमलाई निरन्तरता दिने योजना छ भने जैमिनी नगरपालिकाका बेँसी फाँटमा हाते ट्र्याक्टरको प्रयोग बढ्दो भए पनि लेकका खेतबारीमा गोरुले जोत्ने प्रचलन कायम छ ।

पछिल्लो समय रैथाने स्थानीय जातका गाई पाल्नेको सङ्ख्यामा कमी आउँदा गोरु पाउनसमेत कठिन हुने गरेको किसान रुद्रप्रसाद शर्माले बताएका छन् ।


प्रकाशित मिति: १७ फाल्गुन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?