Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

पर्यटनको सम्भावना बोकेको तमोर नदी क्षेत्र पर्यटकको पर्खाइमा


काठमाडौं। धनकुटाको बीच भागबाट सदियौँदेखि तमोर नदी निरन्तर बगिरहेको छ । काँक्राको चिराजस्तै पहाडैपहाडको शृङ्खला छिचोल्दै बगेको तमोर नदी हेर्दै मनमोहक र मनलाई आनन्दित बनाउँछ।

उक्त जिल्लाका चार स्थानीय तहको सिमाना भएर बगेको तमोर नदी क्षेत्रमा रहेको अक्कर भिर र लोभलाग्दा फाँट यहाँका अर्को आकर्षण हो, तर पर्याप्त पर्यटनको सम्भावना बोकेको नदी क्षेत्रलाई बेलाबखत स्वतः हुने जलयात्रा (र्याफ्टिङ), फिसिङ, क्याम्पफायर, वनभोजबाहेक जिल्लाका स्थानीय तहले तमोर नदी क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा प्रयोग गर्न सकेका छैनन्।

सो जिल्लाको छथर जोरपाटी, सहिदभूमि, साँगुरीगढी, चौबिसे गाउँपालिकासहित धनकुटा नगरपालिका भएर तमोर नदी बगेको छ। त्यस्तै, होटल एशोसिएसन भेडेटारको तथ्याङ्कअनुसार भेडेटार र तमोर नदी नजिक रहेको नमस्ते झरनामा दैनिक एक हजार पाँच सयदेखि दुई हजार पाँच सयसम्म पर्यटक आउने गरेका छन्, तर पूर्वकै पर्यटकीय नगरी भेडेटार र झरनाको नजिकै कोशी राजमार्गस्थित धरान–धनकुटा सडकको पहुँचमा रहेको तमोर नदी क्षेत्रमा पर्यटकको आगमन ज्यादै न्यून छ।

त्यसैगरी, स्थानीय सरकारले यसको उपयोग गर्ने नीति तथा कार्यक्रम नल्याउँदा अथाह पर्यटनको सम्भावना बोकेको तमोर क्षेत्र पर्यटकविहीन बनेको धनकुटा नगरपालिका वडा नं। १० मूल घाटका होटल व्यवसायी मोहन बान्तावाको भनाइ रहेको छ । पचास लाखको लागतमा गएको एक दशकअघिबाट तमोर नदी क्षेत्रमा आउने पर्यटकलाई लक्षित रिसोर्ट सञ्चालन गर्दै आएका उनले पर्यटकको आवागमनमा वृद्धि नहुँदा व्यवसाय छाड्ने अवस्थामा पुगेको जानकारी दिएका छन्।

साँगुरीका अध्यक्ष जितेन्द्र रुम्दाली राई पर्याप्त लगानीको अभाव हुँदा नदीजन्य पर्यटन र यसमा आधारित पर्यटन गतिविधिको सम्भावना त्यसै टरेर गएको बताए । अहिले भारतको जोगवनीबाट चीनको ओलाङ्चुगोला जोड्न सुनसरीको चतराबाट धनकुटा हुँदै पाँचथरसम्म तमोर करिडोर निर्माणाधीन रहेको छ । यस करिडोरको पूर्णतासँगै अबका दिनमा तमोर क्षेत्रमा पर्यटकको आवागमन क्रमशः बढ्ने चौबिसेका अध्यक्ष राजकुमार लिम्बूको भनाइ रहेको छ ।

त्यस्तै, उनले तमोर क्षेत्रलक्षित पालिकाको कुनै ठोस योजना नभए पनि तमोर करिडोर भएर आउने पर्यटकलाई लक्षित गरेर सो क्षेत्रका पर्यटकीय गन्तव्यको प्रवर्द्धनमा पालिकाले लगानी गरिरहेको जानकारी दिएका छन्। तमोर नदी क्षेत्रमा पर्यटक आएर घुम्ने उचित सडक सञ्जाल नहुँदा पनि पर्यटकको आवागमनमा कमी आएको सहिद भूमिका अध्यक्ष मनोज राईले जानकारी दिए।

पर्यटक आइहाले पनि नदी क्षेत्रमा घुम्ने, बस्ने र रमाउनका लागि यहाँ हुनुपर्ने आन्तरिक व्यवस्थापन गर्न नसक्दा तमोर नदी क्षेत्रमा पर्यटक भित्र्याउन नसकिएको उनले बताएका छन्।


प्रकाशित मिति: १५ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?