Trending
>>   पशुअधिकारका लागि ‘भिगन ग्यालरी’ >>   चार महिनामा साढे चार खर्ब व्यापार घाटा >>   चितवनमा स्कुल बस दुर्घटना, २८ जना घाइते >>   पूर्वमन्त्री पदम राईको निधन >>   अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्प र नेटो प्रमुख रुटबिच ‘विश्वव्यापी सुरक्षा’बारे छलफल >>   प्रहरी महानिरीक्षक कुँवरबाट नवनिर्मित भवन उद्‌घाटन >>   डब्लुुएमएसी वेल्स खेल्दै सन्जित >>   २८५ जना कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस >>   धरहरा चढ्न दुई सय रुपियाँ शुल्क >>   गैँडाको आक्रमणबाट एक पुरुषको मृत्यु
Logo
८ मंसिर २०८१, शनिबार
८ मंसिर २०८१, शनिबार

स्वास्थ्यमन्त्री बस्नेतद्वारा राष्ट्रिय दादुरा-रुबेला खोप अभियानको उद्घाटन


भक्तपुर। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आजबाट देशव्यापी रुपमा राष्ट्रिय दादुरा-रुबेला खोप अभियान २०८०/८१ को शुभारम्भ गरेका छन् ।
भक्तपुरको सानोठिमीस्थित आदर्श माध्यमिक विद्यालयमा आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको अभियान उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख अस्मिता ओझालाई खोप तथा खोप सामग्री हस्तानतरण गरी देशभर एकैसाथ अभियानको उद्घाटन गरे । उनले आगामी सन् २०२६ भित्र नेपाललाई दादुरा–रुबेला उन्मूलन गर्ने सरकारको लक्ष्य हासिल गर्न देशभरका स्वास्थ्यकर्मी, स्वयंसेविका, स्थानीय तह र सरोकारवाला निकायले साथ र सहयोग गर्न आग्रह समेत गरेका छन्।
आजबाट सुरु भई चैत ७ गतेसम्म सञ्चालन हुने यो अभियान प्रभावकारी ढङ्गले देशैभरी सञ्चालन हुनेमा आफू विश्वस्त रहेको भन्दै उनले कर्मचारीले इमान्दारिपूर्वक काम गर्न आग्रह गर्दै सो अभियानको शुभारम्भ मध्यपुरथिमिबाट भएको बताएका छन् । उनले भक्तपुरले यहीँ अभियानमा शतप्रतिशत खोप लगाएर देशकै नमुना जिल्ला बन्नुपर्नेमा जोड दिए ।
त्यसैगरी, तराई र काठमाडौं उपत्यका दादुरा-रुबेलाको उच्च जोखिममा रहेको भन्दै मन्त्री बस्नेतले पहिला खोप लगाएकाहरुले पनि पुनः खोप लगाउन र खोप लगाउन छुटेकालाई पनि पहिचान गरेर खोप लगाउन निर्देशन दिएका छन् ।
मन्त्री बस्नेतले भने, “यो खतरनाक रोग हो । यसबाट बालबालिकाको मृत्यु पनि हुनसक्छ, एकजना बिरामीले १८ जनालाई रोग सार्न सक्छ । विद्यालयबाट यो रोगको सङ्क्रमण फैलिए महामारीको रुप लिन्छ ।  त्यसैले शिक्षा दिने थलो विद्यालयबाटै यो अभियान सुरु गरेका छौँ, नियमित खोप लगाएकाहरुले पनि यो खोप दिनुपर्छ ।”
उनले खोप लगाउनुपर्छ भन्नेबारेमा अझै पनि जनचेतनाको कमी रहेकाले स्थानीय तहले जनचेतना जगाउँदै विद्यालय, टोल र आवश्यक परे घरघरमा गएर भए पनि खोप लगाएर अभियानलाई पूरा गर्न आह्वान गरे । मन्त्रालय एक्लै लागेर मात्रै अभियान सफल हुदैन भन्दै उहाँले सरोकारवाला सबै निकायको साथ र सहयोग आवश्यक रहेको औँल्याएका छन् ।
त्यस्तै, आफू स्वाथ्यमन्त्री भएर आएपछि स्वास्थ्यको क्षेत्रमा स्थानीय, प्रदेश र सङ्घीय सरकाबीच त्रिकोणात्मक समन्वय गराएर काम गरिरहेको भन्दै सरकारको लक्ष्य पूरा गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने मन्त्री बस्नेतले बताए। उनले सहरी क्षेत्रमा बसाइ सरेर आएका र जानेमा खोप लगाउन ध्यान केन्द्रित गर्दै शतप्रतिशत खोपको सुनिश्चितता गर्नुपर्नेमा जोड दिँदै अभियान सफल पार्न सबै निकायलाई आग्रह समेत गरेका छन् ।
उक्तकार्यक्रममा भक्तपुरका सङ्घीय सांसद दुर्लभ थापाले खोप अभियानलाई सफल पार्न स्थानीय तह र जनप्रतिनिधिको भूमिका महत्वपूर्ण रहने भएकाले यी निकाय सक्रिय हुनुपर्ने बताए। त्यस्तै, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका निमित्त सचिव डा दीपेन्द्ररमण सिंहले दादुरा–रुबेला निवारण गर्ने सरकारको लक्ष्य हासिल गर्ने क्रममा चार प्रतिशत बालबालिकामा खोप लगाउन छुटेको र रोग पनि देखा परेपछि अभियान सञ्चालन गर्नु परेको र खोप लगाउन छुटेको, बढी जनसङ्ख्या भएका क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर अब खोप लगाउन कोही नछुट्ने गरी अभियान सुरु भएको बताएका छन् ।
स्वाथ्य सेवा विभागकी महानिर्देशक डा सङ्गीता कौशल मिश्रले सरकारले २०२३ मै दादुरा–रुबेला निवारणको लक्ष्य राखे पनि विभिन्न कारणले सम्भव नभएको भन्दै २०२६ मा यो लक्ष्य प्राप्त गर्नुपर्ने बताए । उक्त अभियानमा उच्च राजनीतिक प्रतिबद्धतासमेत आएकाले अभियान सफल हुनेमा ढुक्क रहेको भन्दै उनले स्वाथ्य संस्थाका कर्मचारी र स्वयंसेविकालाई पूरा शक्ति लगाएर काम गर्न निर्देशन दिएका छन् ।
सो कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले कतिपय अभिभावकको व्ययस्तता र बसाइसराइले समस्या देखिएको भन्दै नगरपालिकाले घरघरमै पुगेर खोप लगाउने व्यवस्था गरेको बताएका छन् । त्यस्तै, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले आउँदो २०८१ सालभित्र चाँगुनारायणलाई पूर्ण खोप सुनिश्तिता नगर घोषणा गर्ने चरणमा रहेको भन्दै सरकारको अभियान सफल पार्ने बताए ।
देशको ७२ जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भइसकेपनि बाँकी पाँच जिल्लालाई पनि घोषणा गर्ने गरी प्रयत्न भइरहेको बताइएको छ भने उक्त कार्यक्रममा युनिसेफ नेपालकी प्रतिनिधि एलिश अकुंगा, विश्व स्वास्थ्य सङ्गठनका आवासीय प्रतिनिधि डा राजेश सम्भाजीराव पाण्डभले नेपाल सरकारले सुरु गरेको अभियानको लक्ष्य पूरा हुनेमा विश्वस्त रहेको बताएका छन् ।

प्रकाशित मिति: १३ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?