Trending
>>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :… >>   ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै बिहिबारबाट एसईई सुरु हुने,नतिजा प्रकाशन एक महिनामै गर्ने तयारी >>   सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि >>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

सेकुङताल फन्को लगाउने पदमार्ग निर्माण


म्याग्दी। मुस्ताङको थासाङ गाउँपालिका-२ मा रहेको सेकुङताल फन्को लगाउने पैदलमार्ग निर्माण भएको छ । सङ्घीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र थासाङ गाउँपालिकाको लागत साझेदारीमा मुस्ताङ भित्रने पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यले सेकुङताल संरक्षण गर्नुका साथै पूर्वाधार निर्माण भएको हो ।

त्यसैगरी, गोलो आकारको सेकुङतालको वरपर ढुङ्गा बिछ्याएर एक सय ९१ मिटर पैदलमार्ग निर्माण भएको थासाङ गाउँपालिकाका इन्जिनियर विष्णु बाँस्तोलाले बताएका छन् । ‘तालमा बाहिरबाट बाढी पस्न नदिनका लागि एक सय २४ दशमलव पाँच मिटर रिटेनिङ (पक्की) पर्खाल पनि बनाएका छौँ’, उनले भने, ‘ताल नजिकै दुईकोठे पक्की सार्वजनिक शौचालय निर्माण गरिएको छ ।’

त्यस्तै, इन्जिनियर बाँस्तोलाका अनुसार बेनी–जोमसोम सडकको ताङछराबाट सेकुङ हुँदै भुतर्छोताल जोड्ने तीन किलोमिटर पाँच सय १० मिटर सडक पनि निर्माण भएको छ भने संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयको ७० प्रतिशत र थासाङ गाउँपालिकाको ३० प्रतिशत साझेदारीमा पूर्वाधार निर्माण भएको हो ।

सेकुङका साथै भुतर्छो, टिटीताल र गुरुसाङवो गुफामा रु दुई करोड ९९ लाख ९७ हजार एक सय २६ लगानीमा पूर्वाधार निर्माण भएको इन्जिनियर बाँस्तोलाले बताए। खुला रहेकाले वरपरको पाखाबाट तालमा बाढी पस्ने समस्या थियो भने सो ताल परिसरमा निर्माण भएको रिटेनिङ पर्खालले पाखोबाट आउने बाढी र पहिरो नियन्त्रणमा सघाउ पुगेको थासाङ गाउँपालिका–२ कोवाङका वडाध्यक्ष सन्तोष शेरचनले बताएका छन् ।

सेकुङतालको पृष्ठभूमिमा पूर्वतर्फ निलगिरि र पश्चिममा धवलागिरि हिमाल देख्न सकिन्छ । करिब एक सय ५० मिटर लम्बाइ र २० मिटर चौडाइको सेकोङताल समुद्री सतहबाट दुई हजार सात सय २५ मिटरको उचाइमा अवस्थित रहेको छ । उक्त ताल परिसरमा चौँरी, भेडाबाख्रा र गाईभैँसीको चरन खर्क छ भने धवलागिरि र तिलिचोपिक हिमालको फेदीमा रहेको ताल परिसरको जङ्गल र एकान्त वातावरणका साथै वन्यजन्तु र पक्षीहरूको पनि अवलोकन गर्न सकिन्छ । आकाश खुलेको अवस्थामा धवलागिरि, तिलिचो पिक र निलगिरि हिमालको छायाँ देखिन्छ ।

त्यसैगरी, ताल, हिमाल, वनजङ्गल, वन्यजन्तु र पक्षीहरूको एकैपटक अवलोकन गर्न पाउँदा निकै रमाइलो महसुस भएको म्याग्दीबाट सेकुङताल घुम्न गएका सुरेन गुरुङले बताए । सेकुङताल धवलागिरि आइसफल जाने पदमार्गको प्रवेश विन्दुमा पर्छ । उक्त ताल परिसरको चरन खर्कमा शरद र वसन्त ऋतुमा गाईभैँसी, भेडाबाख्रा र चौँरीगोठ रहन्छन् । सेकुङतालबाट पाँच मिनेट पैदलयात्रा गरेपछि भुर्छतोताल पुगिन्छ ।

प्राकृतिक सौन्दर्यले रमणीय तालमा पर्यटकको चहलपहल बढ्न थालेको छ । यसअघि सुनसान थियो । उक्त सडक, सुरक्षित पदमार्ग र ताल संरक्षण भएपछि पर्यटक भुल्न थालेका ताङछराको होलिडे क्याम्प होटलका सञ्चालक राजु गौचनले बताएका छन् ।


प्रकाशित मिति: ८ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?