Trending
>>   सरकारले ‘नेपाल स्वास्थ्य सम्मेलन–२०२४’ आयोजना गर्दै >>   घोषित लक्ष्य हासिल हुनेगरी काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्री ओलीको निर्देशन >>   युवालाई दक्षताअनुसारको रोजगारी दिनुपर्छः सभापति देउवा >>   इ प्लानेट नेसनल हाईस्कुल टी टेन क्रिकेट हुँदै >>   तोरणविक्रम शाही सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन पनि शिर्ष स्थानमा >>   भारतलक्षित प्रदीप ज्ञवालीको टिप्पणीः नेपालको द्विपक्षीय सम्बन्धको मामिलामा चासो लिनु उचित होइन >>   सवारी दुर्घटनामा एकको मृत्यु >>   महिलाहरुलाई राज्यका प्रणालीहरुमा मुख्य जिम्मेवारी दिनुपर्छः पूर्वसभामुख घर्ती >>   समानता र समावेशी नीति अपनाएर धनी र गरीबबीचको खाडल मेट्नुपर्छः प्रधानमन्त्री ओली >>   फोटो पत्रकार समूह नेपालले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझायो
Logo
१२ मंसिर २०८१, बुधबार
१२ मंसिर २०८१, बुधबार

बजेट अभावमा थलियो लिफ्ट खानेपानी आयोजना


गलकोट,बागलुङ। विसं २०७७ बाट सुरु भएको बागलुङको लामिचौर लिफ्ट खानेपानी आयोजना बजेट अभावमा अलपत्र परेको छ । लगातार काम भएको भए तीन वर्षमा घर–घरमा खानेपानी पुग्नुपर्ने भए पनि आयोजना कहिले सकिन्छ भन्ने टुङ्गो लागेको छैन ।

बागलुङ नगरपालिका–८ सिगाना लामाचौरको दलित बस्तीका दुई सय परिवारमा खानेपानीको चरम समस्या भएको २० वर्ष हुँदासमेत खानेपानीको पहुँच पुग्न सकेको छैन । गण्डकी प्रदेश सरकारले सबै नागरिकको घरमा खानेपानीको धारा पु¥याउने लक्ष्यका साथ लिफ्टमार्फत काठेखोला गाउँपालिकाको पानी लामिचौर पु¥याएर वितरण गर्ने योजना बनाए पनि बजेट अभावमा उक्त आयोजनाको २५ प्रतिशत मात्रै काम भएको पाइएको छ ।

अहिले आयोजनाका रिजर्भ ट्याङ्की अलपत्रजस्तै देखिएका छन् । दुई सय घरपरिवार रहेको एउटै गाउँमा खानेपानीको चरम समस्या समाधानका लागि रु चार करोड ९३ लाखमा डिपिआर गरेर उक्त लिफ्ट आयोजना निर्माण गर्न २०७७ साल माघमा सुरु गरिएको भए पनि गत वर्षदेखि उक्त काम बजेट अभावका कारण रोकिएको छ ।

देशमा सङ्घीयता आएसँगै खानेपानी आउने सपना बोकेका स्थानीय दलित समुदायले आठ वर्ष बित्दासमेत खानेपानी पाउन सकेको छैन । योजनामा बजेट नआउँदा आयोजना सम्पन्नताको टुङ्गो नलागेको स्थानीयको भनाइ रहेको छ । उक्त नगरपालिकाभित्रकै सबैभन्दा बढी सुक्खाग्रस्त क्षेत्रका रूपमा चिनिएको लामीचौर दलित बस्तीमा निर्माण भइरहेको लिफ्ट खानेपानी आयोजना बजेट अभावमा थलिएको हो ।

त्यसैगरी, रु चार करोडमाथिको लिफ्ट खानेपानी आयोजनाको लागि वर्षमा रु १० लाखका दरले बजेट आउँदा काम गर्न समस्या भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका सूचना अधिकारी सञ्जय कोइरालाले जानकारी दिएका छन् । उनका अनुसार हालसम्म उक्त खानेपानी योजनामा जम्मा रु ५३ लाख ८४ हजार बजेट खर्च भएको छ ।

“प्रदेश सरकारले बजेट थोरै पठाउँदा समस्या भयो, आयोजना सम्पन्न गर्न धेरै वर्ष लाग्ने देखिएको छ, गत वर्षदेखि आयोजनामा काम ठप्प छ, गत वर्षको कामको रकम बल्ल यस वर्ष भुक्तानी गर्न थालिएको छ, यस वर्षका लागि विनियोजन भएको रु १० लाख बजेट गत वर्षको रकम भुक्तानीमै ठिक्क हुने भएपछि यस वर्ष काम गर्न नसक्ने अवस्था छ”, उनले भने, “मुख्य समस्या बजेटको हो, बहुवर्षे आयोजना भए पनि बजेट रु १० लाख मात्रै विनियोजन भएको छ, यो अवस्थामै आयोजना जाने हो भने आयोजना सम्पन्न हुँन १० वर्ष लाग्न सक्छ ।”

त्यस्तै, कोइरालाका अनुसार आयोजनाको काठेखोला–७ खानीदुलोमा ट्याङ्की, विद्युत् घर र बागलुङ–८ लामिचौरमा रिजर्व ट्याङ्की निर्माण भएको छ । दुई सय घरमा जम्मा दुई धारामा मुस्किलले खानेपानी आउने गरेको जनाउँदै स्थानीय सुर्यबहादुर विश्वकर्माले अझै कति वर्षसम्म खानेपानीको अभावमा दलित बस्ती बस्नुपर्ने भन्ने प्रश्न सरोकारवालालाई रहेको बताए ।

“चिटिक्क मिलेको पुतली बजार गाउँको पीडा अर्कै छ, २० वर्षदेखि खानेपानी समस्यामा तड्पिएका यहाँका जनता अझै कति समय यस्तै अवस्थामा रहने हुन् भन्ने थाहा छैन”, विकले भने, “बल्ल बहुवर्षे योजनामा लिफ्ट आयोजना परे पनि चार वर्षमा २५ प्रतिशत मात्रै काम भएको छ, अहिले उक्त आयोजना अलपत्र जस्तै बनेको छ, बजेट नहुँदा गत वर्षदेखि काम हुन सकेको छैन ।”

त्यस्तै, लामिचौर गाउँमा शतप्रतिशत दलित समुदाय मात्रै बसोबास गर्दै आएका छन् । विसं २०५० भन्दा अघि बनेको खानेपानी आयोजनाको उचित मर्मतसम्भार नहुँदा सो आयोजना जीर्ण अवस्थामा रहेको छ । बागलुङ नगरपालिकाका गाउँमा एक–घर एक धारा बनिसक्दा यहाँ भने छनोट भएर काम अघि बढेको आयोजना बजेट अभावमा अलपत्र परेको उनको भनाइ रहेको छ ।

काठखोला–७ खानदुलोमा रहेको मुहानबाट लिफ्टमार्फत पानी पुर्याउने गरी आयोजना सुरु भए पनि बजेट अभावमा आयोजना सम्पन्न हुन ढिलाइ भएको लामिचौर दलित बस्ती लिफ्ट खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर कार्कीले बताउदै गत वर्षदेखि उक्त आयोजनाको काम ठप्प भएको जनाउँदै काम गरेकै भुक्तानी हालसम्म नपाएको समेत बताएका छन्।

कार्कीले लिफ्ट आयोजनाका लागि खानीदुलो र लामिचौरमा खानेपानी ट्याङ्की निर्माण भइसकेको तथा अब मोटर तथा पाइपलाइन र घर–घरमा धारा विस्तारको काम बाँकी रहेको बताए। त्यस्तै, चार करोड बढीको योजनामा वार्षिक रु १० लाख बजेट आउँदा उक्त आयोजना सम्पन्न गर्न नसकिने निष्कर्षमा उपभोक्ता समिति पुगेको छ ।

दुई हप्ताअघि मात्रै उक्त लिफ्ट खानेपानीको अनुगमनमा पुग्नुभएका गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी वर्ष बजेट थप गरेर पठाउने स्थानीयसित प्रतिबद्धता जनाउदै उनले दलित बस्तीको खानेपानी समस्या अन्य समस्याभन्दा बढी प्राथमिकतामा पारेर बजेट विनियोजन गर्ने समेत बताएका थिए ।


प्रकाशित मिति: ४ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?